२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

रसुवा बाढीपीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा, चिकित्सक टोली परिचालन गर्ने

Nada
तिलोचन गौतम
२०८३ भदौ १० गते २२:५०
Shares
रसुवा बाढीपीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा, चिकित्सक टोली परिचालन गर्ने

मलेसिया : रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

ncell

बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनएले उक्त निर्णय गरेको हो।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल आपत्कालीन बैठकले रसुवाका बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो। बैठकले विपद्को यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर मानवीय सहयोगमा जुट्नसमेत आह्वान गरेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डा. शर्माले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धारसँगै दीर्घकालीन राहत तथा पुनःस्थापनाका लागि एनआरएनए सक्रिय रूपमा अघि बढ्ने बताए।

“विपद्को यस कठिन समयमा विदेशमा रहेका नेपालीहरूको सामूहिक सहयोग र ऐक्यबद्धता आवश्यक छ। एनआरएनए तत्काल राहतका साथै आवश्यकताका आधारमा स्वास्थ्य, पुनःस्थापना तथा अन्य मानवीय सहयोगलाई निरन्तरता दिनेछ,” उनले भने।

स्वास्थ्य सेवाका लागि चिकित्सक टोली परिचालन गरिने

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्‍याउन चिकित्सकको विशेष टोली परिचालन गर्न आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाढीका कारण घाइते तथा प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै चिकित्सकीय जनशक्ति र आवश्यक स्वास्थ्य सामग्रीसहितको टोली परिचालन गरिने तयारी गरिएको छ।

टोलीमार्फत प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने तयारी गरिएको एनआरएनएले जनाएको छ।

राहत तथा उद्धारका लागि छुट्टाछुट्टै समिति

राहत तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन एनआरएनएले उच्चस्तरीय राहत तथा उद्धार समिति, आर्थिक संकलन समिति र स्वयंसेवक परिचालन समितिलगायतका संरचना गठन गर्ने निर्णय गरेको छ।

राहत तथा उद्धार उच्चस्तरीय समितिको संयोजकमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा रहनेछन्। समितिमा बाढी प्रभावित क्षेत्रसँग सम्बन्धित एनआरएनए राष्ट्रिय समितिका अध्यक्ष तथा संघका सम्पूर्ण पदाधिकारी सहभागी हुनेछन्।

त्यस्तै, कोषाध्यक्ष कृष्ण तिमल्सीनाको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ। महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (NCC) हरूलाई परिचालन गरिनेछ भने उपाध्यक्ष मनोज गोर्खालीको नेतृत्वमा स्वयंसेवक परिचालन तथा स्थलगत सहयोगका लागि छुट्टै समिति गठन गरिएको छ।

एनआरएनएले बिहीबार बिहानैदेखि सम्बन्धित सरकारी निकाय तथा स्थानीय सरोकारवालासँग समन्वय गरी राहत, उद्धार तथा सहयोगका लागि स्थलगत रूपमा परिचालित हुने जनाएको छ।

सरकारसँग समन्वय गर्न रविकिरण अधिकारी फोकल पर्सन

नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गर्न एनआरएनएका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिइएको छ।

अधिकारीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकता र राहतको प्राथमिकताका आधारमा एनआरएनएबाट उपलब्ध गराइने सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्नेछन्।

आपत्कालीन बैठकमा एनआरएनएका केन्द्रीय पदाधिकारी, केन्द्रीय सल्लाहकार, विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

बैठकमा सहभागीहरूले रसुवामा देखिएको विपद्प्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार तथा राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेको बताएका छन्।

एनआरएनए यूके, क्यानडा, नेदरल्याण्ड, स्वीजरल्याण्ड, अष्ट्रेलिया, जापान, सेसेल्स, साउदी अरब, यूएई, चीनलगायतका राष्ट्रिय समितिहरूले समेत आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

एनआरएनएले विदेशमा रहेका नेपाली समुदाय, राष्ट्रिय समितिहरू, सामाजिक संघसंस्था तथा व्यक्तिगत रूपमा सहयोग गर्न इच्छुक सम्पूर्ण नेपालीलाई राहत तथा उद्धार अभियानमा एकताबद्ध भएर सहभागी हुन अपिल गरेको छ।

एनआरएनएका आगामी कार्यक्रम स्थगित

रसुवालगायत नेपालका विभिन्न क्षेत्रमा उत्पन्न आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै एनआरएनए आईसीसीले आगामी केही दिनका लागि आफ्ना सबै बैठक तथा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

यसै क्रममा २९ अगस्ट २०२६ मा लण्डनस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने तय भएको बुद्ध मूर्ति स्थापना कार्यक्रम पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एनआरएनएले जनाएको छ।

एनआरएनएले विश्वभरका राष्ट्रिय समितिहरू, सदस्यहरू तथा नेपाली डायस्पोरालाई संकटको यस घडीमा एकजुट भई मातृभूमि नेपालको उद्धार तथा राहत अभियानमा सहयोग र सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

विपद्को यस कठिन समयमा सबैको समझदारी, सहयोग, ऐक्यबद्धता र मानवीय सहभागिताका लागि एनआरएनएले आभार व्यक्त गरेको छ।

ताजा खबर

सम्बन्धित खबर