२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

‘तिज धमाका २०२६’ को नाफा बाढी पीडितको राहतमा खर्च गर्ने पर्वत समाज युएईको निर्णय

Nada
२०८३ भदौ ११ गते १५:०५
Shares
‘तिज धमाका २०२६’ को नाफा बाढी पीडितको राहतमा खर्च गर्ने पर्वत समाज युएईको निर्णय

काठमाडौं : पर्वत समाज युएईले ‘तिज धमाका २०२६’ कार्यक्रमबाट प्राप्त हुने नाफाको रकम नेपालका बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनामा खर्च गर्ने निर्णय गरेको छ ।

ncell

नेपालका विभिन्न क्षेत्रमा आएको बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै समाजले दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

पर्वत समाज युएईले यही अगष्ट ३० अर्थात् भदौ १४ गते विभिन्न राष्ट्रिय कलाकारहरूको उपस्थितिमा ‘तिज धमाका २०२६’ कार्यक्रम सञ्चालन गर्दैछ ।

यसअघि उक्त कार्यक्रमबाट प्राप्त नाफा अक्षय कोष स्थापनाका लागि प्रयोग गर्ने घोषणा गरिएको थियो । तर, नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै नाफाको रकम बाढीपीडितको राहतमा खर्च गर्ने निर्णय गरिएको समाजका महासचिव जगदिश शर्माले जानकारी दिए ।

उनका अनुसार विपद्को असहज परिस्थितिलाई ध्यानमा राख्दै यसअघि गरिएको निर्णय परिमार्जन गरी तत्काल पीडितको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने गरी रकम परिचालन गर्ने निर्णय गरिएको हो ।

प्रवासमा रहेका नेपालीहरूले पनि विपद्का बेला मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदना देखाउनुपर्नेमा जोड दिँदै समाजले आफ्नो सहयोगलाई पीडितको पक्षमा केन्द्रित गर्ने जनाएको छ ।

समाजले विपद्को समयमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै ‘विपद्को समयमा हाम्रो सहयोग, पीडितका लागि आशाको आधार बनोस्’ भन्ने सन्देशसमेत दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर