
काठमाडौं : प्राकृतिक विपद्का कारण देश संवेदनशील अवस्थामा रहेको बेला विदेशमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैका लागि आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउने व्यवस्था गरिएको छ ।
विपद्का प्रभावितलाई राहत पुर्याउने उद्देश्यले विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका नाममा विभिन्न बैंक खातामा आइएमईमार्फत सिधै कुनै शुल्कबिना रकम जम्मा गर्न सक्नेछन् । यस सुविधाबाट विदेशबाट पठाइने सहयोग रकम छिटो, सहज र सुरक्षित रूपमा नेपाल आइपुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी, नेपालभित्र रहेका नागरिकहरूले पनि ‘खल्ती बाई आइएमई’ प्रयोग गरी सरकारको उक्त कोषमा निःशुल्क रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । आइएमईले विपद्को यस कठिन घडीमा सबैलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गर्दै प्रभावित परिवारहरूको पीडामा साथ दिन र राहत तथा पुनःस्थापनामा सरकारलाई सहयोग गर्न अपिल गरेको छ ।
यसैबीच, रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति आइएमई ग्रुपले गहिरो दुःख व्यक्त गरेको छ । प्रभावित परिवारप्रति सहानुभूति जनाउँदै कम्पनीले ऐक्यबद्धता समेत व्यक्त गरेको छ ।
साथै, उद्धार, राहत र पुनःस्थापनामा निरन्तर खटिरहेका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय बासिन्दा तथा सम्बन्धित निकायप्रति आइएमई ग्रुपले आभार प्रकट गरेको छ ।
