
काठमाडौं : नेपालमा बिवाइडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंकसँगको सहकार्यमा बिवाइडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवालगायत क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ ।
बाढीप्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बिवाइडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेका हुन् । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनस्र्थापनाका कार्यमा परिचालन गरिनेछ ।
यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनस्र्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न समेत सहयोग पुग्नेछ । हालैको बाढीका कारण रसुवा जिल्लामा ठुलो क्षति पुगेको छ । नेपाल र चीनलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको रसुवा मुलुकको महत्त्वपूर्ण व्यापारिक मार्गसमेत हो ।
नेपालमा बिवाइडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्त्व रहेको छ । सहयोग घोषणा गर्दै बिवाइडी ग्रुपका उपाध्यक्ष तथा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नुपरेको कठिन अवस्थाप्रति बिवाइडी गहिरो दुःखी रहेको बताएका छन् ।
उनले यस कठिन समयमा प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली र घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बिवाइडीको ध्यान र सहानुभूति रहेको उल्लेख गरेका छन् ।