–बलराम तिमल्सिना
एउटा बदनाम गल्ली छ
जुन गल्लीबाट यात्रा गरेपछि
सदनाम पनि बदनाम बन्न पुग्छ ।
गल्लीमा भेटिन्छन्
भोट बेच्न पसल थापेर बसेका बिचौलियाहरू
भोट किन्न नोट बोकेर हिँडेका तस्करहरू
भर्खरै एक राते जात्रा सकिएको चउरजस्तै
छरपस्ट छन् गल्लीभरि
हड्डीका टुक्रा
रक्सीका खाली बोतल
पानीले भिजेका झण्डा
अलपत्र परेका बाचा कबुलहरू
र, चुनावी घोषणापत्रहरू ।
गल्लीमा भेटिन्छन्
जुवा हारेका जुवाडेजस्ता कोही
चिठ्ठा परेका डिठ्ठाजस्ता कोही
विजय जुलुसको कर्कस आवाज
पराजित हृदयको कारुणिक चित्कार
यस्तै यस्तै ।
गल्लीभरि छन्
साना मझौला र ठूला अखडाहरू
सबैभन्दा सानो वडा अखडा
गाउँपालिका
नगरपालिका
उपमहानगरपालिका
महानगरपालिका
प्रदेश संसद÷प्रदेश सरकार
प्रतिनिधी सभा
सिंहदरबार
बालुवाटार
निर्मल निवास
यी सबै यही बदनाम गल्लीमा छन् ।
यो देशका
सबैभन्दा ठूला ठगहरू
बिचौलियाहरू
तस्करहरु
भ्रष्ट तथा अनैतिकहरू
इज्जतफालाहरू
र देशमाराहरू
सबै यही गल्लीको बाटो हिँड्छन् ।
यस बदनाम गल्लीमा
राष्ट्रवादको नारा लगाउँदै
यस पटक केही नयाँ कमरेडहरू पनि छिरे
र आफैंले गद्दार घोषणा गरेकाहरूसँग
गठजोड गरेर पुतली उडाए
अहिले ती कमरेडहरू
कोही गल्लीमा सल्केको लुतो कन्याउँदै छन्
कोही जफत भएको जमानतको हिसाब निकाल्दै छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies