२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

विपत्तिका कारण परिवारमा क्षति भएका नेपालीलाई स्वदेश फर्कन दूतावासको सहजीकरण

राहतका लागि साउदीस्थित नेपाली समुदाय जुट्दै

Nada
अन्जान गुभाजु
२०८३ भदौ १२ गते १३:५४
Shares
विपत्तिका कारण परिवारमा क्षति भएका नेपालीलाई स्वदेश फर्कन दूतावासको सहजीकरण

रियाद : नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली श्रमिक तथा उनीहरूका परिवारलाई राहत पुग्ने गरी नेपाली राजदूतावास, रियादले स्वदेश फर्कन आवश्यक सहजीकरण गर्ने भएको छ।

ncell

राजदूतावासका अनुसार विशेषगरी रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लामा विपत्तिका कारण परिवारमा क्षति भएका नेपाली श्रमिकलाई सम्बन्धित रोजगारदाता कम्पनीसँग समन्वय गरी एक्जिट भिसा लगायत आवश्यक प्रशासनिक प्रक्रियामा सहजीकरण गरिनेछ ।

त्यसैगरी, प्रभावित नेपालीलाई स्वदेश फर्कन सहज होस् भन्ने उद्देश्यले नेपाल एयरलाइन्ससँग समन्वय गरी सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउन पहल गरिने राजदूतावासले जानकारी दिएको छ । विपत्तिका कारण परिवारमा क्षति भएका नेपालीलाई आवश्यक विवरणसहित नेपाली राजदूतावास, रियादमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैबीच, विपत्तिबाट प्रभावित नेपालीका लागि राहत तथा उद्धारमा सहयोग पुर्‍याउन साउदी अरबमा कार्यरत नेपाली श्रमिक तथा विभिन्न नेपाली संघसंस्था सक्रिय भएका छन् । एनआरएनए लगायत विभिन्न भ्रातृ तथा सामाजिक संघसंस्था, नेपाली साझा मञ्च, हेल्प मधेसी लगायतका सामाजिक तथा क्षेत्रीय संस्थाहरूले आ–आफ्नो तर्फबाट राहत सहयोग संकलन सुरु गरेका छन् ।

संकलित सहयोगलाई एकद्वार नीतिअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी समन्वय भइरहेको बताइएको छ । विपत्तिको यस कठिन घडीमा साउदी अरबमा रहेका नेपालीहरूलाई सक्दो सहयोग गरी पीडित परिवारसम्म राहत पुर्‍याउने अभियानमा एकजुट हुन आग्रह गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर