
पहाडको विशाल काख । त्यहीँ सानो र सुन्दर एउटा गाउँ थियो— रातमाटे गाउँ । गाउँमा विभिन्न जातजातिका मानिस बस्थे । दुःख–सुखमा एकअर्कालाई हात दिन्थे । सबैजना एउटै परिवार जस्तै मिलेर बस्थे । तर, त्यही गाउँको एउटा गरिब परिवार भने दिनरात पिरोलिइरहन्थ्यो । परिवारका मूल अभिभावक थिए, रामबहादुर । उनकी श्रीमती बाटुली, छोरा मञ्जिल, छोरी सञ्जु र वृद्धा आमा धनमती । बुबाको भने धेरै अघि नै निधन भइसकेको थियो ।
उनीहरूसँग भएको थोरै पाखोको उब्जनीले ६ महिना पनि खान पुग्दैनथ्यो । गाउँघर भए पनि नुनदेखि सुनसम्म किनेरै चलाउनुपर्थ्यो । छोराछोरीको कापी–किताब र विद्यालयको शुल्क तिर्न नसक्ने छटपटी । तैपनि जीवन जेनतेन चलिरहेकै थियो ।
मुग्लानको यात्रा र सहरको सङ्घर्ष
एक दिन रामबहादुरले गम्भीर भएर सोचे, ‘यहाँ बसेर त छोराछोरीको भविष्य अन्धकार हुन्छ । म मुग्लान जान्छु, परिवारको भोलिका लागि !’ उनी परिवारसँग बिदा भएर हिँडे ।
केही महिनापछि उनले भारतबाट श्रीमतीलाई पत्र लेखेर भने, ‘गाउँमा बालबच्चाको भविष्य बन्दैन । उनीहरूलाई सहर लगेर पढाऊ । छोराछोरीको भविष्यमाथि खेलबाड गर्नुहुँदैन ।’
बाटुलीले मन दह्रो बनाइन् । हिम्मत गरिन् । उनी मञ्जिल र सञ्जुलाई लिएर सहर लागिन् । तर, वृद्धा सासूआमा धनमतीले आफ्नो जन्मगाउँ छाड्न मानिनन् । उनले छोराछोरीलाई एउटा साधारण निजी विद्यालयमा भर्ना गरिन् । आफू पनि त्यही विद्यालयमा परिचर (सुसारे)को काम गर्न थालिन् ।
नियतिको बज्रपात
सहरमा मञ्जिल र सञ्जुको पढाइ राम्रो हुँदै गयो । उनीहरूलाई विदेश पठाएर उच्च शिक्षा दिलाउने इच्छा जाग्यो रामबहादुर र बाटुलीको मनमा । तर, त्यो सपना उनीहरूको गरिबीभन्दा धेरै ठुलो थियो । उनीहरूले बैंकबाट ऋण लिए । गाउँको थोरै जग्गा धितो राखे । केही आफन्तसँग पनि सहयोग मागे । छोराछोरीलाई विदेश अध्ययनका लागि पठाउन त उनीहरू सफल भए, तर बैंकको ऋण र त्यसको ब्याजको भारीले दुवैको मन निरन्तर पिरोलिन थाल्यो ।
विदेश पुगेर सञ्जुले पढाइसँगै काम पनि पाइन् । तर, मञ्जिलले काम पाएन । ऊ साथीभाइको गलत संगतमा फस्यो । तनावबाट बच्न भन्दै उसले नशा खान सुरु ग¥यो । त्यही नसाले उसको जीवन बर्बाद पारिदियो । एक दिन लागुपदार्थसम्बन्धी अपराधमा मञ्जिल पक्राउ प¥यो । अदालतले उनलाई जेल सजाय सुनायो । यो कारुणिक खबर मञ्जिलले बाबुआमा र बहिनी कसैलाई पनि भन्न सकेन ।
उजाड आँगन र आमाको वियोग
यता गाउँमा धनमतीको जीवन झन्–झन् कठिन बन्दै गयो । कतै परदेसिएको छोरो र नाति–नातिना टुप्लुक आइपुग्छन् कि भनेर बाटो कुरिरहन्थिन् । बैंकले धितो राखिएको घर र जग्गा लिलाम गरिदियो । कसैले धनमती आमालाई यो खबर सुनाइदिए । सुन्नासाथ वृद्धा धनमती मुर्छित भएर लडिन् । अन्ततः उनी बिरामी परिन् र उनको जीवनको दीप सदाका लागि निभ्यो ।
गाउँलेहरूले खबर पठाए । रामबहादुर र बाटुलीले यो खबर निकै ढिला गरी पाए । जीवनको अन्तिम घडीमा उनीहरूले आमाको मुखसम्म देख्न पाएनन् । अझ केही समयपछि मञ्जिल जेल परेको खबर पनि थाहा पाए । रामबहादुर पनि केही दिन अगाडि मात्र भारतबाट घर आएका थिए । तर, यस्ता अशुभ समाचार मात्र सुन्न पाए । त्यसैबीच छोरी सञ्जुले पनि विदेशमा विवाह गरेको खबर आयो । तर, उनका श्रीमान् पनि कुलतमा फसेका रहेछन् । आमा र छोराको पीडा छँदै थियो, रामबहादुरलाई फेरि अर्को बज्रपात भयो ।
पुनरागमन र जीवनको नयाँ बिहानी
बाध्यताको त्यो भूमरीबाट उम्किन उनीहरूले गाउँ फर्किने निधो गरे । उनीहरू सहरका झिटिझाम्टा बोकेर गाउँ लागे । गाउँ पुगेपछि पुरानो घर र आँगन सुनसान देखियो ।
एक दिन रामबहादुर आमालाई जलाएको मसानघाटमा गए । भक्कानिएर रोए । भने, ‘आमा ! हामी सहरबाट हारेर फर्किएका होइनौं, बरु केही सिकेर फर्किएका छौं ।’ त्यही दिनदेखि उनीहरूको जीवनको नयाँ यात्रा सुरु भयो । उनीहरूले बाँझो खेतबारीमा खनजोत गर्न थाले । खाली खेतबारी र बगैंचामा मौसम अनुसारका फलफूल, अन्नबाली र घाँसका रुख–बिरुवा रोप्न थाले । सिंगो गाउँ नै हराभरा हुन थाल्यो ।
पछि विदेशबाट खुसीको खबर आयो । छोरा मञ्जिल जेलबाट छुटेर नयाँ जीवन सुरु गरिसकेको थियो । छोरी–ज्वाइँको जीवन पनि राम्रै चलेको खबर आयो । अबको केही दिनमा उनीहरू गाउँ फर्किने कुराले रामबहादुर र बाटुलीको खुसीको सीमा रहेन ।
जीवनले उनीहरूबाट धेरै कुरा खोस्यो । तर, अन्तिममा एउटा सुन्दर सत्य सिकायो— ‘जरा बलियो भयो भने आँधीले रुख ढाल्न सक्दैन । सपना टुट्न सक्छ, तर आशा कहिल्यै मर्दैन ।’