२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

अत्यास र तृप्तिको यात्रा

Nada
सागर गैरे
२०८३ भदौ १३ गते ०६:१०
Shares
अत्यास र तृप्तिको यात्रा

जेठ २९ गतेको बिहान । म पूर्ण रूपमा तयार नहुँदै नवीनजी हातमा झोला बोकेर पसलमा आइसक्नुभएको थियो । ‘नवीनजी एकछिन है, म तयार भैहाल्छु,’ मैले हतारिँदै भनेँ । छिटोछिटो नुहाएँ । कपडा फेरेँ । झोलामा दुई जोर कपडा हालेँ अनि खल्तीमा केही रकम राखेँ । घरकी जीवनसंगिनी यशोदालाई ‘पसल राम्रोसँग हेर्नू है’ भन्दै हामी यात्राका लागि बाहिर निस्कियौं । 
हामी नेपालगन्ज जाने म्याजिक भ्यान चढ्यौं । नेपालगन्ज आउन–जान साना, छरिता र छिटा म्याजिक भ्यानहरू आममानिसमा निकै लोकप्रिय छन् । करिब २० मिनेटको यात्रापछि हामी राँझा गेट पुगिसकेका थियौं । म्याजिकबाट झरेपछि हामीले एउटा अटो समात्यौं । राँझा चोकबाट हिँडेरै गए पनि विमानस्थल धेरै टाढा त होइन, तर हतारो थियो । प्रतिव्यक्ति ५० रुपैयाँ भाडा दिने सहमतिमा अटो विमानस्थलतिर सोझियो । बाटो पहिलेको तुलनामा धेरै सहज र चिल्लो बनेको रहेछ ।

ncell

अटो विमानस्थलको मूल गेटतर्फ अघि बढ्दै गर्दा अचानक मोबाइलमा श्री एयरलाइन्सको मेल आयो । मैले आत्तिएर मेल खोलेँ— उडान कम्तीमा डेढ घण्टा ढिलो हुने सूचना रहेछ । मनमा अचानक ठुलो झड्का लागेजस्तो भयो । ‘ला ! उडान त डेढ घण्टा ढिलो हुने भयो नवीनजी,’ मैले निराश हुँदै भनेँ । यतिन्जेलमा हामी एयरपोर्टको कम्पाउन्डभित्र छिरिसकेका थियौं ।

अहिले यात्रुको बोर्डिङ चेकजाँच र जहाज कुर्नेसम्मका सबै प्रक्रिया नयाँ भवनबाट हुँदो रहेछ । हामी नयाँ भवनभित्र प्रवेश गर्‍यौं । नयाँ भवन कस्तो होला भन्ने खुल्दुली थियो । भुइँमा बिछ्याइएका टायल र मार्बल नियालेँ । सिसामा पानीको फोहरा झरिरहेको थियो । पानीको नालीबाट धुवाँ उडिरहेको जस्तो मनोरम दृश्य देखिन्थ्यो । बस्नका लागि आधुनिक कुर्सीहरू राखिएका थिए । नवीनजी र मैले केही तस्बिर खिच्यौं ।

पहिले खजुराबाट बाँकेमा विमानसेवा सुरु भएको इतिहास छ, पछि त्यो विमानस्थल राँझा सारिएको थियो । अहिलेको यो आधुनिक भवन त्यसैको पछिल्लो स्वरूप हो । ‘डेढ घण्टा के गरेर बिताउने ? बरु बाहिर गएर चिया पिऊँ,’ मैले नवीनजीतिर फर्केर प्रस्ताव राखेँ । नवीनजीले पनि सहर्ष ‘ओके’ भन्नुभयो ।

कोहलपुरदेखि १० किलोमिटर र नेपाल–भारत सीमाबाट १२ किलोमिटर दूरीमा छ यो विमानस्थल । बाहिर बनेका प्रायः घरहरू कर्णालीका बासिन्दाका हुन् । कर्णालीमा सडक नपुग्दासम्म काठमाडौं वा बाहिर जान विमानस्थलको विकल्प थिएन । कर्णालीका मानिसहरूका लागि एयरपोर्ट नजिक घर हुनुले ठुलो अर्थ राख्छ । हामी एउटा मुगेलीको होटलमा छिरेर चिया अर्डर गर्‍यौं ।

काठमाडौंको बाटो र माया पब्लिकेसन्स

चियाको चुस्कीसँगै गफगाफ जम्यो । एकै बसाइमा हामीले दुई–दुई कप चिया पियौं । २०८२ मा हामी दुवैका एक–एक किताब प्रकाशित भएका थिए— नवीनजीको कथासंग्र्रह दहाड र मेरो नियात्रासंग्र्रह एउटा अल्बाट्रस । दहाडको काठमाडौंमा विमोचन भएर कालिम्पोङ र दार्जिलिङसम्म पुगिसकेको थियो । मेरो किताबको भने पहिलोपटक काठमाडौंमा विमोचन हुँदै थियो । त्यसैको सिलसिलामा हामी काठमाडौं जाँदै थियौं ।

चिया पिएपछि टर्मिनल भवनभित्र छिर्‍यौं । सरकारले यसलाई क्षेत्रीय विमानस्थलको रूपमा विस्तार गर्दै छ । मानसरोवर जाने तीर्थयात्रीका लागि पनि यो विमानस्थल उत्तिकै महत्त्वपूर्ण छ । केही बेरमै राँझाको आकाशमा श्री एयरको विमान ल्यान्ड भयो । काठमाडौंका यात्रु झरे, सामान उतारियो र तेल भरियो । हामी जहाजमा चढ्यौं । पौने घण्टाको सहज उडानपछि जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लियो ।

काठमाडौंको मौसम र हावापानी नै फरक थियो । बाहिर लगेज बेल्टनजिकै छोरा निशान्त हामीलाई नै पर्खिरहेका रहेछन् । सामान निशान्तलाई बुझाएपछि नवीनजीले इन्ड्राइभबाट ट्याक्सी बोलाउनुभयो । हामी ट्याक्सी चढेर अघि बढ्यौं । ‘हामी सबैभन्दा पहिले माया पब्लिकेसन्स जाऔं र विनयजीलाई भेटौं,’ नवीनजीले भन्नुभयो । म खुसीसाथ राजी भएँ ।

भित्र माया पब्लिकेसन्सको फ्ल्याट रहेछ । अफिस, भान्छा, बेडरुम र स्टोर सबै एउटै फ्ल्याटमा । दराजका र्‍याकहरूमा शरदचन्द, प्रेमचन्द, राहुल सांकृृत्यायन र अंग्रेजी साहित्यका पुस्तकहरू थिए । विनयजीसँग पहिले कोहलपुरमै चिनजान भएको हो । मेरो पुस्तक मोहोर र एउटा अल्बाट्रस माया पब्लिकेसन्सबाटै आएका हुन् । विनयजीले मुस्कुराएर हाम्रो स्वागत गर्नुभयो ।

हामीले पानी पियौं । विनयजीले चियाको कुरा उठाउनुभयो । ‘मलाई त भोक पनि लागेको छ,’ मैले सहज रूपमा भनेँ । एकैछिनमा गीता म्याडमले चिया, आलु, चना र चिउराको खाजा ल्याइदिनुभयो । भोकको बेला उहाँहरूको मिठो आतिथ्यले मनै प्रसन्न भयो । त्यहीँ बसेर कार्यक्रमको तालिका बन्यो र कम्प्युटरबाट प्रिन्ट पनि निकालियो ।

दोबिल्ला बुक्स र घरको संकट

काम सकिएपछि हामी ‘दोबिल्ला बुक्स’तर्फ लाग्यौं । हाम्रो अध्ययन वृत्तमा दोबिल्ला बुक्सको खुब चर्चा हुन्छ । हामीले धेरैपटक त्यहाँबाट अनलाइन पुस्तक मगाएका छौं । आफूलाई चाहिएको पुस्तक अर्डर गर्नेबित्तिकै कुरियरमा हालिदिने र ईसेवाबाट पैसा तिर्न पाइने सुविधाले गर्दा यो निकै सहज छ । नयाँ पुस्तक निस्किनेबित्तिकै दोबिल्लाको वालमा देख्न पाइन्छ । मेरा अघिल्ला पुस्तकहरू पहिलोपटक दोबिल्लाको पेजमा देख्दा मलाई कम्ती खुसी लागेको थिएन ।

दोबिल्ला पुग्दा शैलेशजी हुनुहुन्थ्यो । उहाँले न्यानो स्वागत गर्दै चियाको प्रस्ताव गर्नुभयो । भर्खरै चिया पिएकाले हामीले संकोच मान्यौं, तर उहाँको आत्मीय अनुरोधका अगाडि हाम्रो केही लागेन । फेरि चिया आयो ।

त्यही बेला कोहलपुरबाट श्रीमती यशोदाको फोन आयो । ‘हेर्नुस् न, निश्चला बाहिर छिन्, निशान्त रुमभित्रै निदाएछन् । ढोका खोलेनन्, के गर्ने होला ?’ अचानक मलाई ठुलो तनाव भयो । हप्ता दिनको धपेडीले गर्दा कलेजबाट फर्केर निशान्त एकैछिन पल्टिँदा निदाएछन्, मोबाइल साइलेन्टमा रहेछ । बाहिरबाट जति बोलाए पनि आवाज भित्र जाने कुरै भएन । छोरी कलेजबाट फर्केकी छिन्, उनको मोबाइल कोठामै छ । लुगा फेर्नु छ, भोक लागेको छ । म यता काठमाडौंमा कार्यक्रमको अर्कै दबाबमा छु ।

एकछिन सोचेँ, दिमागमा कोहलपुरका छिमेकी तथा निशान्तका साथी सुहनको याद आयो । उनलाई कल गरेर स्थिति बताएँ । उनले रुमबाट आएर निश्चलालाई फोन दिए । मैले छोरीलाई हात्तीवनस्थित भान्जाहरूको रुममा जान भनेँ र सुहनलाई पठाओ बुक गरिदिन लगाएँ । सन्दीपलाई फोन गरेर खाना थपेर बनाउन भनेँ । फोनैफोनमा समस्याको समाधान त भयो, तर मेरो टाउको फनफनी दुख्न सुरु भइसकेको थियो ।

काठमाडौंको साँझ र कार्यक्रमको अत्यास

दोबिल्लाबाट निस्केपछि गल्लीमा युट्युबर तथा अध्येता पवन थापा भेटिनुभयो । त्यसपछि नवीनजी र म बासको खोजीमा लाग्यौं । उहाँले मलाई बागबजारको हार्दिक होटलमा पुर्‍याउनुभयो । रिसेप्सनबाट कोठाको चाबी लिएर हामी माथि उक्लियौं । कोठा खोल्दा चुरोटको गन्ध नाकमा ठोक्कियो, बाथरुमको हालत पनि उस्तै थियो, तर पानी भने टन्न आउँदो रहेछ ।

मेरो टाउको दुखाइ घट्नुको साटो बढ्दै थियो । काठमाडौंमा आफ्ना मान्छे कति नै छन् र ? उपस्थिति कस्तो होला भन्ने चिन्ताले मलाई भित्रभित्रै हिर्काइरहेको थियो । हामी होटलबाट निस्केर सुन्धारातर्फ लाग्यौं । बाटोमा मेरा पुस्तकका आवरण चित्रकार तथा कवि रसिकराज भेटिनुभयो । उहाँसँग गफ गर्दै हामीले सुन्धारामा थकाली खाना खायौं ।

खानापछि रसिकराज आफ्नो रुमतिर लाग्नुभयो, हामी होटल फर्कियौं । नयाँ ठाउँ र नयाँ ओछ्यानमा निद्रा पर्न गाह्रो भइरहेको थियो । राति टाउको धेरै दुखे सिटामोल खाउँला भनेर किनेर ल्याएको थिएँ । मेसेन्जर र ह्वाट्सएपबाट साथीहरूलाई पुनः फोन र म्यासेज गरेँ । कतिले आउँछौं भने, कतिले उपत्यका बाहिर रहेको बाध्यता सुनाए ।

अहिलेसम्म हामीले कोहलपुरमा अरूका लागि सयौं कार्यक्रम गर्‍यौं । त्यतिबेला पनि मुख्य पिर भनेकै उपस्थितिकै हुन्थ्यो । यसपटक काठमाडौंमा मेरो आफ्नै कार्यक्रम थियो । देशको फुटबल टिमले विदेशको मैदानमा खेलेर १२ गोल खाएर फर्किएझैं वा झरीमा रुझेको बिरालोजस्तै टीठलाग्दो अवस्था मेरो नहोस् भन्ने मात्र मेरो एकमात्र चाहना थियो ।

एउटा अल्बाट्रस मेरो दोस्रो नियात्रा कृति हो । यसमा भारतको गोवा, भियतनाम, फिलिपिन्स, मलेसिया र जर्जिया यात्राका संस्मरणहरू समेटिएका छन् । माया पब्लिकेसन्सले प्रकाशन गरेको यस कृतिको मूल्य ६४० रूपैयाँ राखिएको भए पनि म पाँच सयमा बेच्दै आएको थिएँ । ‘किताब त निस्कियो, विमोचन पनि काठमाडौंमै गरौं’ भन्ने चियापसलको ठट्टा अहिले यथार्थमा परिणत हुँदै थियो । राति खै कति बेला निदाइएछ, थाहै भएन ।

वसन्तपुरको बिहानी र सर्वनामको चमत्कार

अर्को दिन बिहानै उठेर दाह्री काटेँ, कपडा फेरेँ । नवीनजी र म वसन्तपुरतिर निस्कियौं । मन्दिरका सिँढीमा बसेर दृश्यहरू नियाल्यौं । असन र वसन्तपुरको यो पुरानो बजार सयौं वर्षदेखि अस्तित्वमा छ । मानिसको कत्रो भिड ! गेडागुडी, फलफूल, तरकारी बेच्ने र किन्नेहरूको चहलपहल । इतिहासदेखि गुल्जार यो बजार साँच्चै अनौठो छ ।

त्यसपछि हामी विनयजीको अफिस पुग्यौं । उहाँ आफैं भान्छामा व्यस्त हुनुहुन्थ्यो । उहाँले सर्लाहीको आलुको अचार र पाल्पाको चुकाउनी (पहाड र मधेशको फ्युजन) सहितको बिहानको मीठो खाना पस्किनुभयो । तन र मन दुवै तृप्त भयो । खाना खाइसकेपछि अतिथिलाई दिने उपहार प्याक गरेर हामी सर्वनाम थिएटरतर्फ लाग्यौं ।

सर्वनाम थिएटर कालिकास्थानको एउटा साँघुरो गल्लीभित्र रहेछ । बाहिरबाट घर देख्दा ‘यतिभित्र मानिसहरू कसरी आउलान् ?’ भन्ने ठुलो शंका मनमा जागेको थियो । तर, जब हामी हलभित्र छिर्‍यौं, एकाएक चमत्कारजस्तै भयो ।

छोरी निश्चला, छोरा निशान्त, भान्जाहरू, पुराना पत्रमित्र अरुणबहादुर खत्री, आफन्तहरू, वरिष्ठ साहित्यकारहरू—नयनराज पाण्डे, केशव सिग्देल, टंक उप्रेती, डा. दामोदर पुडासैनी ‘किशोर’, युवराज नयाँघरे, प्रतीक ढकाल, भवानी खतिवडा, जय छाङ्छा राईलगायत चिनेका–नचिनेका अनेकौं अनुहारले हल भरिभराउ भयो । मानिसहरूको त्यो उत्साहजनक उपस्थिति देखेर स्वयं सर्वनामका संरक्षक अशेष मल्ल आफैं छक्क पर्नुभयो ।

नवीनजी रोस्ट्रममा उभिनुभयो । बर्सौंसम्म रेडियो र टेलिभिजनमा माझिएको उहाँको प्रभावशाली आवाज हलमा गुञ्जियो । कुनै औपचारिक प्रमुख वा विशिष्ट अतिथि नछुट्याई वर्णानुक्रमअनुसार अतिथिहरूलाई मञ्चमा आमन्त्रण गरियो । वक्ताहरूले पुस्तक एउटा अल्बाट्रस को विषयवस्तु, सौन्दर्य र सीमामाथि गहन चर्चा गर्नुभयो । अन्तिममा मैले लेखकको तर्फबाट मन्तव्य राखेँ ।

हस्ताक्षरसहित पुस्तक बिक्री भए, शुभकामनाका ओइरो लागे । जिन्दगी कहिल्यै पूर्ण हुँदैन, तर कुनै एउटा बिन्दुमा पुगेर आफूलाई तृप्त बनाउन सक्नु नै पूर्णता हो । त्यो पल मेरो जीवनका लागि त्यस्तै तृप्तिको क्षण थियो ।

कार्यक्रमपछि साथीहरूसँग चिया पियौं । साँझ नवीनजीका मित्र विजय परियार र अधिकारकर्मी अस्मिता बादीको कोठामा पुगेर हार्दिकतापूर्वक खाना खायौं ।

अर्को दिन बिहानै नवीनजी कोहलपुर फर्किनुभयो । म भने महालक्ष्मीस्थान पुगेर छोराछोरीसँग केही समय बिताएँ । दिउँसो लेखक रमेश सायनसँग भेट भयो । उहाँले मलाई आफ्नै बाइकमा राखेर विमानस्थलसम्म पुर्‍याइदिनुभयो ।

सुरक्षा जाँच सकेर म यती एयरको जहाजमा चढेँ । निर्धारित समयमै जहाज उड्यो । काठमाडौंको धपेडी, मनको अत्यास र विमोचनको सफलताको मिठास बोकेर म जब राँझा विमानस्थलमा ओर्लिएँ, बाँकेको परिचित तातो हावाले मलाई स्पर्श गर्‍यो । जहाजको चिसोबाट बाहिर निस्किँदा मन पूर्ण रूपमा हलुका र शान्त भइसकेको थियो । 

ताजा खबर

सम्बन्धित खबर