
युएई : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ग्लोबल पर्वत समाजले ३ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
समाजले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।
विपद्का कारण ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै ग्लोबल पर्वत समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । समाजले विपद्को यस कठिन घडीमा पीडितहरूको उद्धार तथा राहतका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
समाजका अनुसार सामाजिक भावना, मानवीय सेवा र समवेदनालाई प्राथमिकतामा राख्दै स्थापना भएको ग्लोबल पर्वत समाजले विपद्मा परेका नागरिकलाई राहत र पुनर्स्थापनामा सहयोग पुर्याउनु आफ्नो सामाजिक दायित्वका रूपमा लिएको छ ।
यसैबीच, समाजले देश तथा विदेशमा रहेका नेपालीहरू र सहयोगी मनहरूलाई समेत आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा सहभागी हुन अपिल गरेको छ । विपद्को समयमा सबैको एकता, सहयोग र सहकार्यबाट पीडित परिवारलाई ठुलो राहत पुग्ने समाजको विश्वास छ ।
'विपद्को घडीमा हातेमालो गरौं, पीडितलाई साथ दिऔं' भन्ने सन्देशसहित ग्लोबल पर्वत समाजले सम्पूर्ण सहयोगी मनहरूसमक्ष मानवीय सहयोगका लागि अपिल गरेको छ ।

