
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड ले रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्पछि राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनःस्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै कठिन परिस्थितिमा नागरिकहरूको साथमा उभिने विश्वास व्यक्त गरेको छ ।
विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रको पुनःस्थापना र जनजीवन सामान्यीकरणका लागि सरकारी तथा सम्बन्धित निकायहरूको प्रयास सफल हुने अपेक्षा गरेको छ ।
बैंकले विगतदेखि नै सामाजिक तथा मानवीय क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि आवश्यक परेको अवस्थामा यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।