२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

बाढीपीडित नेपालीका लागि मलेसियाका व्यवसायी अजिजद्वारा १२ सय डलर सहयोग

Nada
२०८३ भदौ १८ गते ११:४३
Shares
बाढीपीडित नेपालीका लागि मलेसियाका व्यवसायी अजिजद्वारा १२ सय डलर सहयोग

क्वालालम्पुर : नेपालको रसुवास्थित भोटेकोशीमा गत हप्ता आएको विनाशकारी बाढीबाट पीडित नेपालीहरूका लागि मलेसियाका एक व्यवसायीले १२ सय अमेरिकी डलर प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा योगदान गरेका छन् ।

ncell

मलेसिया विमानस्थलमा कार्गो तथा सामान व्यवस्थापन तथा जनशक्ति आपूर्तिकर्ता मुतियारा कायामास एसडिएन बिएचडीका सञ्चालक दातो क्याप्टेन मोहम्मद युसुफ बिन आब्द अजिजले उक्त रकम पठाएका हुन् । आफ्नो कम्पनीमा धेरै नेपाली श्रमिकलाई रोजगारी उपलब्ध गराएका उनले नेपाली श्रमिकको योगदानको कदर र विपत्तिमा परेका नेपालीप्रतिको मायाले उक्त रकम पठाएको दातो अजिज निकट एक नेपाली व्यवसायीले जानकारी दिए ।

एक व्यवसायीले व्यक्तिगत रूपमा गरेको योगदान उल्लेख्य रहेको भन्दै नेपाली व्यवसायीहरूको सक्रिय पहल भएको अवस्थामा बाढीपीडित नेपालीहरूलाई मलेसियाबाट सहयोग संकलन हुने अवस्थासमेत रहेको दातो क्याप्टेन मोहम्मदलाई उद्धृत गर्दै ती नेपाली व्यवसायीले बताए ।

ती व्यवसायीका अनुसार सन् २०१३ मा खोलिएको दातो अजिजको कम्पनी मोतिआरा कायोमासमा अहिलेसम्म हजारौं नेपालीले रोजगारी प्राप्त गरिसकेका छन् । बंगलादेशका व्यवसायीहरूबाट आएका प्रलोभनलाई नकारेर नेपाली श्रमिकहरूलाई नै आफ्नो कम्पनीमा भित्र्याएका दातो अजिजले अहिले नेपालमा आएको महाविपत्तिबाट भएको ठुलो जनधनको क्षतिले अत्यन्त दु:खित बनाएको बताएका छन् । 

'मैले सहयोगस्वरूप प्रदान गर्ने रकम स्थानान्तरण गरिसकेको जानकारी गराउन चाहन्छु,' दातो अजिजले भने, 'मेरो यो सानो सहयोगले विपद्‍बाट प्रभावित व्यक्तिहरूलाई केही राहत पुग्नेछ भन्ने मेरो हार्दिक आशा छ।'

यस दुःखद् विपद्‍मा ज्यान गुमाउने सम्पूर्ण पीडितहरूप्रति श्रद्धाञ्जली तथा उनीहरूको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दातो अजिजले यस कठिन समयमा नेपालका सम्पूर्ण प्रभावित जनताप्रति आफ्नो साथ, सद्भावना र प्रार्थना रहेको बताए । 

मलेसियाले सन् २००१ बाटै नेपाललाई श्रमिक स्रोत देशका रूपमा मान्यता दिएको थियो । त्यसयता हजारौं कम्पनीमा नेपाली श्रमिक कामदार रहेका छन् । नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोपछि मलेसियाले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । बाढीमा परी ५५ जना मलेसियाका नागरिक नेपालतर्फ हराइरहेका छन् भने ७७ जनाको उद्धार गरिएको छ ।

uae

सम्बन्धित खबर