२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

त्रिशूली-३ एको सुरुङ उद्धारमा के छ प्रगति ?

Nada
२०८३ भदौ १८ गते १३:१४
Shares
त्रिशूली-३ एको सुरुङ उद्धारमा के छ प्रगति ?

काठमाडौं : त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी तथा कामदारको उद्धारका लागि सुरुङभित्रैबाट बाटो खोल्ने काम सुरु गर्ने तयारी भएको छ । उद्धारमा संलग्न सांसद् तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङको माथिल्लो करिब १ दशमलव ८ मिटर भाग हातैले खन्ने काम सुरु गरिएको छ ।

ncell

सुरुङको मुखसम्म पुग्न १३ भदौदेखि लगातार काम गरेर करिब २० मिटर अग्लो, १५ मिटर चौडा र ६० मिटर लामो पहुँचमार्ग बनाइएको थियो । यसका लागि चारमध्ये दुईवटा उत्खनन मेसिन नियमित रूपमा परिचालन गरिएका थिए। अहिले चारवटै मेसिनबाट काम भइरहेको छ ।

सुरुङको मुखबाट करिब ६० मिटर तलतर्फको भागसम्म लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर र ठूला चट्टान हटाइसकिएको न्यौपानेले बताए । यस क्रममा दुई दर्जनभन्दा बढी ठुला चट्टान विस्फोट गरी हटाइएको छ। राति १ बजे मात्रै सुरुङको मुखअगाडिका चारवटा चट्टान विस्फोट गरी हटाइएको उनले जानकारी दिए ।

अब सुरुङभित्र जम्मा भएको लेदो हटाउनुअघि करिब तीन मिटर गहिरो पहुँचमार्ग र पानी निकासको व्यवस्था गर्नुपर्नेछ । त्यसपछि मेसिन सुरुङभित्र पुर्‍याएर उद्धारको कामलाई तीव्रता दिने तयारी छ । न्यौपानेका अनुसार सुरुङको मुखबाट आँखाले देखिने करिब एक मिटरसम्मको भाग लेदोले भरिएको छ । तर, सुरुङबाट प्रतिसेकेन्ड करिब दुई लिटर पानी सामान्य रूपमा बाहिर निस्किरहेको छ। यसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको देखाउँछ ।

सुरुङको बाहिरी भागमा फलामे ढोकाको संरचना, काठका दुई ठुला ठुटा र चट्टानले अवरोध गरेको पाइएको छ । त्यसैले सुरुङभित्र पानी र लेदोबाहेक ठुला ढुंगा प्रवेश नगरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

एक सय ६० मिटर लामो सुरुङमध्ये करिब ६० मिटरमा एउटा मोड छ । पावरहाउसतर्फ सुरुङ उकालो रहेकाले भित्री भाग सामान्य र सुरक्षित रहेको हुनसक्ने अनुमान गरिएको न्यौपानेले बताए। तर वास्तविक अवस्था सुरुङभित्र प्रवेश गरेपछि मात्रै यकिन हुनेछ ।

घटनास्थलसम्म सडक पहुँच नभएकाले मेसिन, उपकरण र आवश्यक सामग्री हेलिकोप्टरबाट पुर्‍याउनुपर्ने अवस्था छ। कठिनाइका बाबजुद उद्धारको काम निरन्तर अघि बढिरहेको न्यौपानेले बताए ।

uae

सम्बन्धित खबर