नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट चुनाव लडेको नेकपा माओवादी केन्द्रले आफ्नो राजनीतिक हैसियत बढाउन सकेन । ०७० देखि कायम तेस्रो राजनीतिक हैसियत जोगाउन समेत यसपटक संकट देखिएको थियो । प्रत्यक्षतर्फ १६५ मध्ये नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ । तर समानुपातिक तर्फ माओवादीले पाएको मत राष्ट्रिय स्वतन्त्र पार्टीकै हैसियतमा छ । टेलिभिजनको जागिर छोडेर गएको असार ७ गते मात्रै रवि लामिछानेले खोलेको यो पार्टीले अप्रत्यासित मत ल्याउदा अरु राजनीतिक दल समेत खुम्चिन पुगेको छ । प्रत्यक्षतर्फ ७ सिट मात्रै जितेपनि समानुपातिक तर्फ रविको पार्टीले माओवादी केन्द्रकै हाराहारी मत ल्याएको छ । रविको पार्टीबारे थप व्याख्या पक्कै पनि आवश्यक होला । तर अहिलेलाई यो पार्टीले ल्याएको मत सफलताकै रुपमा चर्चा भइरहेको छ ।
रविको पार्टी सँगै यसपटक नयाँ दलहरुको उदय भएको छ । पश्चिम मधेशमा रेसम चौधरी नेतृत्वको पार्टीले दुई ठूला पार्टीलाई धक्का दिदै चार सिट जितेको छ । संख्याका हिसाबले यो संख्या सानै भएपनि यो जित अर्थपूर्ण छ । मध्य मधेशमा सिके राउत नेतृत्वको पार्टीले राष्ट्रिय दलको हैसियत पाउने पक्का छ । यी दलहरुको उदय भइरहँदा माओवादी केन्द्रको नतिजा भने निराशाजनक छ । २०६४ सालको चुनावमा अप्रत्यासित रुपमा निकालेको नतिजापछि ओरालो लागेको माओवादी केन्द्रले ०७४ मा ३६ सिट जितेर केही आशाको संकेत दिएको थियो । तर यसपटक माओवादीले जितेको सिट संख्या ०७० को भन्दा पनि थोरै हो ।
०७० मा माओवादीले २६ सिट जितेको थियो । तर त्यसबेला निर्वाचन क्षेत्र २४० थियो । ०७४ पछि निर्वाचन क्षेत्र घटेर १६५ कायम छ । त्यसैले निर्वाचन क्षेत्र घटेकाले १७ सिटलाई ०७० को २६ सिटसँग तुलना त गर्न सकिएला, तर माओवादी आन्दोलनबारे भने गम्भीर समीक्षा आवश्यक छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी सिद्धान्तलाई संविधानको प्रस्तावनामै समावेश गराउन आफ्नो महत्वपूर्ण भूमिका भएको दावी गर्ने शक्तिले बदलिदो जनमतबारे गम्भीर समीक्षा नगरी अगाडि बढ्न सक्ने देखिदैन । अझ अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्तो प्रयत्न गरिरहेका छन्, त्यसले माओवादी केन्द्र पुनस्र्थापित हुने संभावना अत्यन्तै न्यून छ । सधैं सत्तातिर मात्रै ध्यान दिने प्रचण्डको स्वभावभित्र रहेको अन्तर्य नागरिक रुचाएका छैनन् । किनकि लगातार जितिरहने क्षेत्रमै यसपटक माओवादी केन्द्र पराजित भएको छ । अझ पटकपटक सत्तामा पुगेका माओवादी नेता पराजित भएकोबारे सानोतिनो समीक्षा पुग्ने छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies