
काठमाडौं : भोटेकाशी विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न भारतको डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन र नेपालको बतास फाउन्डेसन बीच मानवीय सहकार्यको घोषणा गरिएको छ । दुुई संस्थाले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित १०० भन्दा बढी बालबालिकालाई उच्च शिक्षाका लागि सहयोग गर्ने भएका छन् ।
दुवै संस्थाका अनुसार विपद्पछि उद्धार, खाद्यान्न, लत्ताकपडा, औषधि र अस्थायी आवासजस्ता तत्कालीन आवश्यकता महत्वपूर्ण भए पनि बाढीको पानी घटेपछि प्रभावित परिवारले जीविकोपार्जन, घर तथा सम्पत्ति गुमाउने, आम्दानीका स्रोत अवरुद्ध हुने र बालबालिकाको शिक्षामा आउने अवरोधजस्ता दीर्घकालीन समस्या सामना गर्नुपर्ने हुन्छ ।
रसुवागढी नाकासहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्ने उद्देश्यले दुई संस्थाबीच मानवीय सहकार्य घोषणा गरिएको हो । सहकार्यअन्तर्गत विशेषगरी प्रकोपका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन आवश्यक सहयोग उपलब्ध गराइनेछ । आर्थिक कठिनाइका कारण उनीहरू विद्यालय वा उच्च शिक्षा छाड्न बाध्य नहोऊन् भन्ने उद्देश्य रहेको जनाएको छ ।
बतास फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपद् राहत तथा समुदाय सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ भने डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसनले शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्दै आएको छ । दुई संस्थाले यो सहकार्यलाई नेपाल र भारतबीचको ऐतिहासिक मित्रता तथा साझा मानवीय भावनाको उदाहरणका रूपमा व्याख्या गरेका छन् ।