
काठमाडौं : भदौ १० मा आएको भोटेकोशी बाढीले पाँचवटा जिल्लाका १५ स्थानीय तहमा ठुलो जनधनको क्षति गर्यो । उक्त बाढीमा परी स्थानीय सरकारका आठजना जनप्रतिनिधि बेपत्ता भए । उनीहरू अहिलेसम्म भेटिएका छैनन् ।
बाढी आएको सूचना पाउनासाथ स्थानीय सरकार अलर्ट भयो । संघीय सरकारले पनि आफ्नो तर्फबाट विपद्पछिको खोज तथा उद्धारमा लागेको थियो । नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहका जनप्रतिनिधिले आफ्ना वडा, गाउँ, टोल बस्तीमै पुगेर बाढीको सूचना प्रवाह गरे । मानिहरूलाई तटीयक्षेत्रबाट माथि भाग्न लगाउँदा धेरैको ज्यान जोगियो ।
आफ्नो स्रोतसाधन, र शक्तिलाई भरपुर उपयोग गरेर विपद्पूर्वको सूचना र विपद्पश्चात् खोज, उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाएको स्थानीय सरकारका जनप्रतिनिधिले दाबी गरेका छन् । पालिका अध्यक्ष र वडा अध्यक्षहरू संघीय सरकारको अनुपस्थितिमा नागरिक बचाउन रहसम्भव प्रयास गरेको बताउँछन् । विनाशकारी बाढीको समयमा सबैभन्दा बढी फिल्डमा खटिने वडा अध्यक्ष र पालिका प्रमुखहरू रहेका छन् ।
बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाई पूर्ण रूपमा शोकमय बनाएको छ । यो गाउँपालिकाको मुख्य कार्यालय बगाएको छ भने गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षसहित सातजना जनप्रतिनिधि बेपत्ता भए । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृतसहित २१ जना कर्मचारी बेपत्ता छन् । पालिका अध्यक्ष कर्साङ नुर्पु तामाङले आफैं पीडित हुन् । उनका आफ्नै परिवारका सातजना सदस्यसमेत बेपत्ता छन् । त्यस्तै, उत्तरगया गाउँपालिकाका एकजना कार्यपालिका सदस्यसमेत बेपत्ता रहेको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अमरबहादुर बुलुनले बताए । बुलुन पनि बाढीबाट प्रत्यक्ष प्रभावित हुन् । उनका आफ्नै भाइ बेपत्ता भएका छन् । यस्तो अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधिले नागरिकलाई बचाउन, विपद्पछिको खोज, उद्धार र राहतको संघीय सरकारको बाटो नहेरी खटिएको बताउँछन् ।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कर्साङ नुर्पु तामाङले सातजना आफन्त गुमाउनुपर्दा आफैंलाई सम्हाल्न नसके पनि आफ्ना नागरिकको उद्धार प्रभावकारी बनाउन सम्बन्धित निकायसँग निरन्तर संवाद र सहजीकरणमा छन् । ‘म आफैंलाई सम्हाल्न गाह्रो भइरहेको थियो,’ उनले मध्यान्हसँग भने, ‘तर आफ्नो पालिकाका नागरिक बचाउने जिम्मेवारी बोधका पनि सँगै थियो । टेलिफोन संवादमार्फत आवश्यक समन्वय र सहकार्यका लागि सम्बद्ध सबै पक्षसँग निरन्तर लागेर हामीले उद्धार गरेका छौं । राहत वितरणमा पनि निरन्तर सक्रिय छौं ।’
रसुवामा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले भौगोलिक रूपमा पूर्णतः आइसोलेटेड (सम्पर्कविहीन) अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधिले सबै शक्ति प्रयोग गरेर नागरिक बचाउने प्रयास गरेको तामाङले बताए । ‘सुरुको चरणमा संघीय सरकारको भरपर्ने अवस्था रहेन, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी नै बढी खटिनु पर्यो । बाढी आएको थाहा पाएलगत्तै नदीतटीय क्षेत्रका बस्तीमा सन्देश पठाउनेदेखि बाढीपछिको खोज उद्धार र राहत वितरणमा समेत स्थानीय सरकारले दिलो ज्यान दिएर काम गरेको छ,’ तामाङले भने । केन्द्रीय सरकारले पठाएको राहतसमेत धेरै दिन सेनाको क्याम्पमा अड्किएको रसुवाका स्थानीय जनप्रतिनिधिको गुनासो छ । ‘पालिकाले आफ्ना नागरिकलाई परेको विपत्तिमा सक्दो प्रयास गरिरहेको भए पनि स्रोतसाधनको अभाव छ,’ उनले भने । प्रभावित क्षेत्रमा राहत पुर्याउन हेलिकोप्टरको भर गर्नुपर्ने अवस्था रहेको र सञ्चार सम्बन्धसमेत विच्छेद भएकाले उद्धारमा समस्या भएको उनीहरूले बताएका छन् ।
सरकारले रसुवा, नुवाकोट, धादिङ, सबैभन्दा बढी प्रत्यक्ष प्रभावित जिल्लामा सूचीमा सूचीकरण गरेको छ । त्यस्तै, गोरखा, तनहुँ जिल्लाका केही गाउँपालिकासमेत बाढीपीडित क्षेत्र हो । चितवन र नवलपरासीमा समेत बाढीले क्षति गरेको छ । सरकारले यीसहित अन्य ३२ जिल्ला अप्रत्यक्ष प्रभावित जिल्लाको सूचीमा राखेको छ । रसुवाको गोसाइँकुण्ड, कालिका, आमाछोदिङमो र उत्तरगया गाउँपालिकको कोशी तटीय क्षेत्र पूर्ण विस्थापित बनाएको छ । त्यस्तै, नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी गाउँपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका प्रत्यक्ष प्रभावित भएका छन् भने धादिङ जिल्लाको गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिका प्रत्यक्ष प्रभावित क्षेत्र हुन् । गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आबुखैरेनी गाउँपालिकासमेत बाढीबाट क्षतिग्रस्त भूगोल हो । बाढीका कारण १५ गाउँपािलकाका २५ हजारभन्दा बढी नागरिक विस्थापित भएको नेपाल प्रहरीको तथ्यांक छ । यद्यपि सरकारले जनधनको क्षति र विस्थापित तथा प्रभावितको यकिन तथ्यांक सार्वजनिक गर्न अझै सकेको छैन ।
स्थानीय सरकाले विपद्को घडीमा पीडितका वास्तविक समस्या समाधानमा काम गरिरहेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले दाबी गरे । ‘स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले सबैसँगको सहकार्यमा विपद् व्यवस्थापनको काम गरेको छ,’ उनले भने, ‘स्थानीय सरकारले सबै शक्ति लगाएर मानवीय खोज, उद्धार र भौतिक पूर्वाधारको खर्च कटाएर विपद् व्यवस्थापन, राहत र पुनस्र्थापनाका लागि काम गर्दै आएको छ ।
दुर्गन्धित शव व्यवस्थापनमा आफैं खटिएँ
बद्री रिमाल
वडा अध्यक्ष, विदुर नगरपालिका वडा नम्बर–३
भदौ १० गते भोटेकोशी बाढी आएको सूचना मेयरसापमार्फत आयो । मैले जहाँ जहाँ फोन लाग्यो, सबै ती फोनमार्फत सुरक्षित स्थलमा जान सूचना गरेँ । म आफैं खोला छेउछाउका बस्तीमा पुगेर बाढी आउँदै छ, माथि आउनुस् भनेर चिच्याएँ । एकैछिनमा बाढी बेत्रावती आइपुग्यो । म पनि सेफ भएँ म अलि डाँडातिर गएर बसेँ फोन घुमाएर सबैलाई जानकारी गराएर । यहाँका स्वयंसेवक राजनीतिक दलका साथीहरू सबैले सहयोग गर्नुभयो ।
जग्गाजमिन घरहरू सबै लग्यो, म पनि पारिपट्टि अड्किएँ त्यो दिन बेलुका । त्यहाँबाट यता करिब नौ घण्टा लगाएर भोलिपल्ट बिहान आफ्नो वडामा आइपुगेँ । सञ्चारमाध्यमबाट पनि हारगुहार मागेँ । हाम्रोमा १४ गते मात्रै सशस्त्र प्रहरी आए । त्यसपछि छरपस्ट शव गन्हाउने अवस्था थियो । पूरै दुर्गन्धित भइसकेको अवस्था थियो । शव व्यवस्थापन गरियो । कोहीको टाउको छैनन् कसैको जिउ छैनन् त्यस्तो अवस्था थियो । समयमा हेलिकोप्टर आएन, गाडीबाट शव व्यवस्थापन गर्न सक्ने सम्भावना थिएन । १५ गतेपछि हामीले शव व्यवस्थापन गर्न सुरु गर्यौं । शवहरू चिन्ने अवस्था छैन, सबै फुलेर सय डेढ सय किलोसम्म वजन भएको अवस्थामा हामी आफैं खटेर प्याक गर्यौं । अझै पनि यो क्रम जारी छ ।
व्यक्तिगत र संघ संस्थाका साथीहरूले अहिले फोनमा जोडिनुभएको छ । उहाँहरूले ल्याएको राहतले पूर्ण पीडित परिवारलाई उपलब्ध गराइसकेका छौं । स्थानीय पालिकाले वडाले पनि सहयोग गरेको छ ।
अब खेतबारी केही नभएकालाई राहतको आवश्यकता छ । राहतसँगै मुख्य कुरा पुनस्र्थापन र पुनर्वासको व्यवस्था गनुपर्ने अवस्था छ । यस वडामा मात्रै ६ हजार खेतबारी बगर बनेका छन् । मानवीय क्षतिअन्तर्गत मेरो वडाको जम्मा आठजना बेपत्ता बनाएको छ । उहाँहरू अहिलेसम्म सम्पर्कमा हुनुहुन्न ।
१४ गतेदेखि नेपाल प्रहरी सशस्त्र प्रहरीका साथीहरू आउनुभयो र उहाँहरूको सहयोगमा खोलामा शव व्यवस्थापनमा लाग्यौं । म आफंैले सर्वदलीय समिति बनाएर राहत वितरणको जिम्मा दिएको छु । मैले १० चोटि फोन गरेँ, संघीय सरकारको प्रतिनिधि सिडिओ साबले अहिलेसम्म फोन नै उठाउनुभएको छैन । के कारण हो त्यो उहाँलाई नै थाहा होला । प्रदेशबाट आउने नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआईजीहरूसँग मेरो सम्पर्क निरन्तर भइरहेको छ । खोज उद्धार र राहतका काममा हामी आफ्नो ज्यानको बाजी राखेर पनि नागरिकका लागि अहोरात्र खटेका छौं ।
माइकिङ गर्न जाँदा कर्मचारी गुमायौं
अमरबहादुर बुलुन
वडा अध्यक्ष, उत्तरगया ४ रसुवा
भाद्र १० गतेको बिहान ९ बजेतिर गाउँपालिकामा शिक्षा समितिको मिटिङ थियो । म घरबाट हिँडेर कालिकास्थान नपुग्दै जिल्लाबाट सहायक सिडिओ सरको फोन आयो । उहाँले एकदम हतारमा भन्नुभयो– माथिबाट भोटेकोशी ठुलो मात्रामा आएको छ ।
मेरो वडाको पहिरे बस्ती भोटेकोशीको किनारमा पर्छ । उहाँले त्यस्तो भन्नुभएपछि पहिरे बस्तीमा वडा सदस्यलाई फोन गरेँ । बस्तीका मानिसलाई सुरक्षित स्थानमा जानका लागि भन्दिनुपर्यो भनेँ । आफैंले पनि स्थानीय नागरिक, जसको फोन लाग्यो उहाँहरूलाई फोन गरेर चाँडोभन्दा चाँडो सुरक्षित स्थानमा जान भनेँ । एकाएक मोबाइल नेटवर्क डिस्टर्ब भयो ।
म बाइकमा कालीकास्थान मात्रै के पुगेको थिएँ, हेर्दाहेदै कैयौं घरबस्ती र मान्छेहरू बगायो । बाढीले बगाएर घाइते भएको र बाँच्न सफल भएकाहरूलाई हामीले उद्धार गर्यौं ।
उत्तरगया गाउँपालिकाका कर्मचारीले ९ बजे कार्यालय खोलिसकेका थिए । त्यहाँ हाम्रो खाल्टे बस्ती भन्ने छ । त्यो बस्तीमा माइक गर्न जाँदै गर्दा गाउँपालिकाको स्वास्थ्य अधिकृत, स्वास्थ्य सहायक प्रमुख र आइटी एकजना गरी तीनजनालाई अहिलेसम्म बेपत्ता हुनुहुन्छ । खाल्टे बस्तीमा एकजना कार्यपालिका सदस्यसमेत बेपत्ता हुनुभयो । सिडिओ, आर्मीको कर्णेललाई अनुरोध गर्दै गर्दा पनि हेलिकोप्टर आएन । हेलिकोप्टर नआएपछि घाइतेलाई उद्धार गर्न गाह्रो भयो । हामीले कालिकास्थानको आर्मी ब्यारेकको छेउमा हेलिहेलिप्याड छ । त्यहाँ पठायौं, तर पनि उहाँहरूले उद्धार गर्दिनुभएन । त्यसपछि बिरामीलाई बोलेरोमा हालेर अस्पताल पुर्यायौं ।
मेरो आफ्नो भाइ पनि आजसम्म सम्पर्कविहीन छ । रसुवागढी केरुङ नाकामा उसको लास्ट लोकेसन देखाउँछ । घाइतेलाई अस्पतालमा लगिसकेपछि म भाइको खोजीमा लागेँ । माथि गएँ, तर भेट्न सकिएन ।
घटना घटेको चार–पाँच दिनसम्म माथिको निर्देशन छैन भनेर सेना र प्रशासन आएनन् । पछिल्लो दुई दिनयता घटनास्थलमा आर्मी र सशस्त्रहरू आइपुगेका छन् । सुरक्षा थ्रेट भयो, घरहरूबाट चोरी हुने, मृतकको घाँटीमा भएको सुन चोर्ने, कानमा भएको रिङ चोर्ने, औंठी चोर्ने भएपछि हामीले जिल्ला प्रशासनलाई अनुरोध गर्यौं । त्यसपछि मात्रै उहाँहरू आउनुभएको छ ।
राहत वितरण जनप्रतिनिधि र गाउँपालिका कर्मचारीले गरिराखेको छ । संघीय सरकारको प्रभाव रहेन । बल्ल दुई दिनअघि देखि उद्धार गर्न थालिएको छ । आर्मीको जिम्मामा छ । त्यसको वास्तविक तथ्यांकसमेत आएको छैन । हाम्रो वडाका ७८ जना बेपत्ता हुनुहुन्छ । अहिलेको मुख्य समस्या राहतसँगै पुनस्र्थापना र पुनर्वासको हो । रसुवा जिल्लाको एक्सेस हुने सबै सडक सञ्जालहरू टुटेको छ । नेपाल सरकारले छिटोभन्दा छिटो वैकल्पिक बाटोहरूलाई प्राथमिकता दिनुपर्ने स्थिति छ ।
पूर्वसूचना गरेर मानवीय क्षति हुन दिएनौं
दीपक कार्की
वडा नम्बर ६ गल्छी, धादिङ
मलाई ९ः३६ मिनेटमा बेलकोटगढी नगरपालिका वडा नम्बर–५ का अध्यक्ष मदन भुजेलबाट ‘बाढी आयो, होसियार हुनुस् है’ भनेर फोन आयो । मैले तत्काल सेनालाई सम्पर्क गरँे । त्यहाँबाट पहिला माइकिङ गराएँ । अनि स्कुलस्कुलमा फोन गर्न थालेँ र बजारमा आफैं कुदेँ । बाढी आउनुभन्दा करिब १० मिनेटअघि नै पूरै बजारबाट मानिस उठाइसकेका थियौं । हामीले सूचना पाएको ५३–५४ मिनेटमा साढे १० बजे बाढी आइपुग्यो ।
हाम्रो पालिकाभित्र नै कुनै मानवीय क्षति हुन पाएन भौतिक क्षति मात्रै भयो । बल्ल बल्ल ३ बजे बाढी हल्का भयो । हामी २ बजे नै कार्यपालिकाको आपत्कालीन बैठक बसेर राहत र व्यवस्थापनका विषयमा निर्णय गर्यौं । पहिले, प्रतिधुरी १० हजारका दरले वितरण गर्यौं । ११ गते बिहान विभागीय जिम्मेवारी छुट्याएर राहत वितरणमा लाग्यौं । अफिसमा पैसा थिएन नजिकै सहकारी बाट ऋण लिएर राहत रकम बाड्यौं ।
१३ गते संघीय सांसद आशिका तामाङ आएर राहत किन नबाँड्या ? भन्नुभयो । राहत कहाँबाट आउँछ र हामीले बाँड्ने ? हामीसँग जे छ, त्यही बाँड्ने हो । हामीसँग पैसा थियो पैसा बाड्यौं भन्यौं । अलिकति उहाँसँग हाम्रो डिस्कस पनि भयो । १६ गते संघीय सरकारबाट राहत आयो हामीले आवश्यकताका आधारमा बाड्यौं । विभिन्न संघसंस्था पार्टीका भ्रातृसंगठनका प्रतिनिधि सबैले र स्वयंसेवी रूपमा सहयोग गरे ।
विद्यालय, अस्पताललगायतमा क्षति भएको छ । हाम्रोमा २७७ जना विस्थापित घरधुरी छन् । धादिङभरका करिब १ सय घरपरिवारलाई स्थानान्तरण गर्नुपर्नेछ । राहत आवश्यक छैन । विद्यालय र स्वास्थ्यचौकी बनाउनुपर्नेछ । एउटा संस्थाले ५० वटा बनाइदिने भइसकेको छ । बाढीको पीडालाई बिस्तारै मल्हम लगाउने चरणमा छौं ।