
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघ (युएन)को ८१औं महासभामा भाग लिन जाने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन युएन जान लागेका हुन् । उनीसँग परराष्ट्रमन्त्री शिशिर खनाल पनि सँगै जानेछन् ।
यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने निर्णय गरेको थियो । तर, भदौ १० गतेको विपद् र राजनीतिक दबाबका कारण प्रधानमन्त्री नै जान लागेका हुन् ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा निम्त्याएको ठुलो संकटपछि प्रधानमन्त्री आफैं विश्वमञ्चमा जानुपर्ने दबाब प्रधानमन्त्रीले स्वीकार गरेको उनको सचिवालयले जनाएको छ । उक्त बाढीका कारण २० लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् ।
बिहीबार संसद्मा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मनीष झा र नेकपाका वर्षमान पुनलगायत संसद्का विभिन्न राजनीतिक दलका नेताहरूले जलवायु संकटको यो संवेदनशील घडीमा प्रधानमन्त्रीले नै नेपालको प्रतिनिधित्व गर्नुपर्ने सुझाएका थिए ।
प्रधानमन्त्रीको सचिवालयबाट निर्देशन आएलगत्तै परराष्ट्र मन्त्रालयले न्युयोर्क भ्रमणको आवश्यक तयारी सुरु गरिसकेको छ । प्रधानमन्त्री कार्यालयले भ्रमणलाई संक्षिप्त र प्रतिनिधिमण्डलको आकारलाई निकै सानो राख्न निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले बुधबार मात्रै प्रतिनिधिसभालाई भोटेकोशी विपद् र सरकारको उद्धार कार्यबारे जानकारी गराउँदै हिमालय क्षेत्रमा बढेको तापमान र जलवायु परिवर्तन विश्वकै साझा चुनौती भएको बताएका थिए । उनले नेपालले भोगिरहेको यो संकटका लागि अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको अधिकार जोडदार रूपमा उठाउने बताएका थिए ।
संयुक्त राष्ट्रसंघको महासभाको औपचारिक सुरुवात भदौ २३ गते (सेप्टेम्बर ८) देखि हुनेछ । उच्चस्तरीय बहस असोज ६ गते (सेप्टेम्बर २२) बाट हुनेछ । गत चैत १३ गते मुलुकको कार्यकारी प्रमुखको कार्यभार सम्हालेका प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हुनेछ ।