काठमाडौं : वैदेशिक रोजगारीका लागि कतारमा विभिन्न कारणले अलपत्र एवं अन्य विभिन्न कारणले समस्यामा पर्ने नेपाली कामदारको उद्धारका लागि त्रिपक्षीय समझदारी बनेको छ ।
वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली व्यवसायी संघ कतारबीच शुक्रबार त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । संघ कतारमा विभिन्न पेशा व्यवसाय गर्ने नेपालीहरूको सामाजिक संस्था हो ।समझदारी पत्रमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, बोर्डकी निर्देशक मैया कंडेल र नेपाली व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईंले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कतार गएका नेपाली कामदार र नेपाली व्यवसायी संघ कतार शाखासँग आवद्ध रहेका नेपाली व्यवसायीहरुको राहत, उद्धार, स्वदेश फिर्ता तथा पुनः एकीकरणका लागि सहकार्य गर्ने उद्देश्य छ । समझदारी पत्रले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
समझदारीमा नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी सहजता ल्याउनेसमेत उल्लेख छ । त्यसका लागि विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुनः एकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने प्रवन्ध समझदारी पत्रमा उल्लेख छ । पत्रमा तीनै पक्षले आ–आफ्नो क्षेत्रबाट गर्नुपर्ने कामलाई स्पष्ट उल्लेख गरिएको छ ।
यसका अतिरिक्त समझदारीले वैदेशिक रोजगारमा जाने कामदारको हकहितको संरक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आधिकारिक सूचना सम्प्रेषण, श्रम स्वीकृतिका प्रक्रिया र कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्धार, राहत र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको समाजमा पुनःएकीकरण सम्बन्धमा नेपाल सरकारको कार्यलाई सहयोग मिल्ने अपेक्षा लिएको पनि मन्त्रालयको बुझाई रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको निजी सचिवालयले जनाएको छ । शुरू सम्झौता पत्रको अवधि २ वर्षको राखिएको छ, तीनै पक्षको सहमतिका आधारमा अवधिमा सीमा थप गर्न सकिने कुरा पनि सम्झौतामा उल्लेख छ । त्यस्तै सम्झौता पत्रमा उल्लेख गरिएका कुरालाई समय अनुसार संशोधन वा परिमार्जन गर्नु परेमा तीनै पक्षको समझदारीको आधारमा अगाडि बढाउने सहमति भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies