२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

उद्धारपछि सञ्जय साहको बयान : भाग्न नभ्याउँदा सुरुङमै फसें, महामन्त्र जप्दै बस्यौं

Nada
२०८३ भदौ १९ गते १२:०२
Shares
उद्धारपछि सञ्जय साहको बयान : भाग्न नभ्याउँदा सुरुङमै फसें, महामन्त्र जप्दै बस्यौं

काठमाडौं : रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका कामदारमध्ये ९ दिनपछि जीवित उद्धार गरिएका सप्तरीका सञ्जय साहले सुरुङभित्र अझै केही व्यक्ति फसेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

ncell

नेपाली सेनाद्वारा उद्धार गरिएपछि उपचारका लागि लैजाँदै गर्दा साहले सुरुङभित्रको अवस्थाबारे संक्षिप्त जानकारी दिँदै आफू नजिकै ३/४ जनासँग सम्पर्कमा रहेको र पावर हाउस क्षेत्रभित्र पनि अन्य कामदारहरू थुनिएको हुन सक्ने बताएका हुन् ।

उनका अनुसार दुर्घटना भएको समयमा आयोजनाभित्र सामान्यभन्दा धेरै कामदार उपस्थित थिए । “सामान्यतया ५-६ जना मात्रै हुन्थ्यौं, तर त्यतिबेला करिब ४०-४५ जना थियौं,” उनले भने । कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत उनले आफूले सबैलाई बाहिर निकाल्ने प्रयास गर्दा ढिलाइ भई अन्ततः आफैं सुरुङभित्रै फसेको बताए ।

“ड्याममा ठुलो दुर्घटना भएको जानकारी दिएर सबैलाई बाहिर भाग्न लगाएँ । सबैलाई सुरक्षित पठाउने क्रममा समय बित्यो र म भने निस्कनै पाएनँ,” साहको भनाइ छ ।

उनले सुरुङभित्र केही मानिसहरूको आवाज सुनेको उल्लेख गर्दै लामो सुरुङ र बाढीको पानीको बहावका कारण सबैजना सुरक्षित रूपमा बाहिर निस्कन नसकेको हुन सक्ने बताए । “पावर हाउसतर्फ पनि मानिसहरू हुन सक्छन्,” उनले भने ।

उद्धारअघि सुरुङभित्र आफूहरू धार्मिक मन्त्र जप्दै बसिरहेको उनले बताएका छन् ।

बाढी आएको ९ दिनपछि नेपाली सेनाले साहसँगै काठमाडौंका कविर महर्जनलाई पनि जीवित उद्धार गरेको छ । साह नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र महर्जन सोही आयोजनाका सुपरभाइजर हुन् ।

उद्धारपछि सेनाका अधिकारीहरूले साहलाई ‘दोस्रो जीवन’ पाएको भन्दै बधाइ दिएका थिए ।

uae

सम्बन्धित खबर