
मलेसिया : मलेसियाको राष्ट्रिय महिला फुटबल लिग लिगा वनिता नासिओनालमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू अनिता बस्नेत, निशा थोकर र हिरा भुजेललाई आरटिएफसी मलेसियाले स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
सुभाङ जया स्थित एरिना एमबिएसजे खेल मैदानमा शनिबार सम्पन्न केलाना युनाइटेड एफसी र रेड इगल्स एससीबीचको खेलका क्रममा आरटिएफसी मलेसियाका अध्यक्ष राजु योन्जन तामाङसहित क्लबका प्रतिनिधिहरू मैदानमै उपस्थित भई नेपाली खेलाडीहरूलाई प्रत्यक्ष रूपमा हौसला प्रदान गरेका थिए । सो अवसरमा उनीहरूले खेलाडीहरूसँग भेटघाट गर्दै उनीहरूको खेल यात्राको प्रशंसा गरेका थिए ।
अध्यक्ष तामाङले विदेशी भूमिमा नेपाली राष्ट्रिय झण्डा र महिला फुटबलको प्रतिनिधित्व गर्दै खेलिरहेका खेलाडीहरूको योगदानप्रति आफूहरूलाई गर्व लागेको बताए । उनले नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यी खेलाडीहरूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
यसै क्रममा आरटिएफसी मलेसियाले तीनै जना खेलाडीलाई खादा ओढाएर सम्मान गर्नुका साथै आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले खेलाडीहरूको आगामी खेल यात्रा सफल रहोस् भन्ने कामना समेत गरेका थिए ।