
काठमाडौं : चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीलाई जीवितै उद्धार गर्न सकिने आशा बढेको छ । विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा उद्धार टोलीले काम अघि बढाइरहेका बेला सुरुङभित्रबाट आवाजको इको सुनिनु र चिसो हावा आउनुले यस्तो आशा जगाएको हो ।
पूर्वमन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी कुलमान घिसिङका अनुसार सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा त्यसको इको सुनिएको छ । त्यही स्थानबाट चिसो हावा समेत आएको छ ।
चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवसमेत रहेका घिसिङ उद्धार कार्यमा सहभागी छन् । उनले उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेका छन् ।
उनका अनुसार विद्युतगृह पुग्न अब करिब १०० मिटर बाँकी छ । मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा र ढुंगा हटाउने काम तीव्र पारिएको छ । उद्धार टोली लेदो छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ ।
सुरुङभित्रबाट आएको आवाजको इको र चिसो हावालाई उद्धारका लागि महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । यी संकेतले सुरुङभित्र रहेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशालाई बल दिएको घिसिङले बताएका छन् ।
हरेक मिटरले बढाउँदैछ आशा
उद्धार टोलीका लागि अहिले सुरुङभित्र अघि बढेको हरेक मिटर महत्वपूर्ण बनेको छ । घिसिङका अनुसार प्रत्येक मिटरको प्रगति र प्राप्त हुने प्रत्येक संकेतले उद्धारमा खटिएका टोली र परिवारमा नयाँ आशा जगाएको छ ।
त्यससँगै स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म पुग्ने बाटो बनाउने काम पनि तीव्र पारिएको छ । स्काभेटरमार्फत बाटो खोल्ने काम भइरहेको र शुक्रबारसम्म सुरुङसम्म स्काभेटर पुग्ने सम्भावना रहेको घिसिङले बताएका छन् ।
स्काभेटर र लोडर सुरुङसम्म पुगेपछि लेदो, बालुवा र ढुंगा हटाउने काम अझ तीव्र हुने अपेक्षा गरिएको छ ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारी खटिएका छन् । कठिन र संवेदनशील अवस्थामा उद्धार टोली उच्च मनोबलका साथ निरन्तर काम गरिरहेको घिसिङले बताएका छन् ।
उद्धार कार्य सफल हुने विश्वास व्यक्त गर्दै उनले सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल बाहिर निकाल्न सकियोस् भन्ने कामना गरेका छन् ।