
रौतहट : रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बन्दा स्थानीय तहको दैनिक प्रशासनिक कामकाजदेखि विकास निर्माण र अत्यावश्यक जनसेवा प्रवाह पूर्ण रूपमा ठप्प बनेको छ । स्थानीय सरकारका प्रमुख प्रशासनिक तथा वित्तीय अधिकारीको अनुपस्थितिका कारण नगरपालिकाको खाता सञ्चालन हुन नसक्दा बहुआयामिक संकट पैदा भएको छ ।
खाता सञ्चालन नहुँदा नगरपालिका अन्तर्गतका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले विगत दुई महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । तलब नपाएपछि कर्मचारी तथा शिक्षकहरू आर्थिक समस्यामा परेका छन् भने यसको सीधा असर सामुदायिक विद्यालयको पठनपाठन र स्वास्थ्य संस्थाको सेवामा परेको छ ।
नगरपालिकाको वित्तीय प्रणाली ठप्प भएपछि विद्युत् मर्मतसम्भार विवाह दर्ता तथा विभिन्न प्रशासनिक भुक्तानी रोकिएका छन् । नगरभित्रको फोहोर व्यवस्थापन कार्य ठप्प हुँदा नाला जाम भई सरसफाइको गम्भीर समस्या उत्पन्न भएको छ ।
स्वास्थ्य क्षेत्रमा झन् गम्भीर असर परेको छ । इन्धन र मर्मत खर्च भुक्तानी नहुँदा एम्बुलेन्स सेवा पूर्ण रूपमा बन्द भएको छ । त्यसैगरी इन्टरनेट सेवा प्रदायकको बक्यौता रकम भुक्तानी नभएपछि लाइन काटिएको छ, जसका कारण वडा कार्यालयहरूबाट सम्पादन हुने सिफारिस सामाजिक सुरक्षा भत्ता नवीकरण व्यक्तिगत घटना दर्ता जस्ता सेवाहरूसमेत प्रभावित हुने जोखिम बढेको छ ।
वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेको ६ महिना बितिसक्दा मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले जम्मा ४० दिन मात्र कार्यालय उपस्थित भई काम गरेको पाइएको छ । बाँकी सम्पूर्ण अवधि नगरपालिका प्रशासनिक नेतृत्वविहीन अवस्थामा छ । स्थानीय तहमा प्रशासनिक स्थायित्व कायम गर्नुको सट्टा ६ महिनाको छोटो अवधिमा उपसचिव तहका तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
यता गत असार मसान्तमा गरुडा नगरपालिकाबाट सरुवा भई मौलापुर आएका उपसचिव नीलमकुमार न्यौपाने भदौ ५ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको स्रोतले जनाएको छ । उनी सेवाबाट राजीनामा दिने तयारीमा रहेको समेत बताइएको छ ।
न्यौपानेको गैरहाजिरीले नगरपालिकाको प्रशासनिक रिक्ततालाई थप जटिल बनाएको छ । असार मसान्तजस्तो संवेदनशील समयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा मौलापुर नगरपालिकाको कुल बजेटको करिब ७५ प्रतिशत रकम फ्रिज भएको दाबी गरिएको छ ।