
काठमाडौं : भोटेकोशी बाढीपछि विभिन्न जिल्लामा भेटिएका शवको पहिचानका लागि डिएनए परीक्षण तीव्र पारिएको छ । बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकका शव पहिचान हुन नसकेपछि मृतकका आफन्तबाट समेत डिएनए नमुना संकलन गरी परीक्षण अघि बढाइएको हो ।
अहिलेसम्म एक हजार ३८५ शव फेला परेका छन् । तीमध्ये चितवनमा सबैभन्दा धेरै ३६४ जनाको शव भेटिएको छ । त्यसपछि नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ । काठमाडौंमा उपचारका क्रममा थप दुईजनाको मृत्यु भएको थियो ।
हालसम्म १०४ शवको मात्र सनाखत भएको छ । सनाखत हुन नसकेका अधिकांश शवको डिएनए नमुना संकलन गरी जमिनमुनि व्यवस्थापन गरिएको छ । अहिले ती शवको पहिचानका लागि बेपत्ताका आफन्तबाट डिएनए नमुना संकलन भइरहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारले शवबाट संकलित नमुना तथा सम्भावित आफन्तबाट लिइएका नमुना परीक्षण गरिरहेका छन् । बाढीप्रभावित क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले प्रयोगशालामा परीक्षणका लागि आउने नमुनाको संख्या पनि बढिरहेको छ ।
अहिले पाँच हजार १३० जना बेपत्ताको सूचीमा छन् । बेपत्ताको संख्या ठुलो भएकाले डिएनए नमुना संकलन पनि ठुलो परिमाणमा भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्ले बताउँछन् ।
बाढीमा बगेका शव त्रिशूली र नारायणी नदीको बहावसँगै विभिन्न जिल्लामा पुगेका छन् । नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीसम्म शव भेटिएका छन् । केही शव भारतसम्म पुगेको बताइएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानका अनुसार मृतकका आफन्तको डिएनए नमुना काठमाडौंमा नेपाल प्रहरी अस्पतालमार्फत र काठमाडौं बाहिर सम्बन्धित जिल्ला प्रहरी कार्यालयको समन्वयमा लिइँदै छ । शवबाट प्राप्त नमुना र आफन्तबाट संकलित नमुना परीक्षणपछि पहिचानको प्रक्रिया अघि बढाइनेछ ।
उनका अनुसार अहिलेसम्म प्रयोगशालामा एक हजारभन्दा धेरै नमुना संकलन भइसकेका छन् । ‘एक हजारभन्दामाथि नमुना संकलन भएको छ,’ उनी भन्छन्, ‘यो संख्या धेरैमाथि जान सक्ने आकलन छ ।’
पहिलो चरणको परीक्षणबाट पहिचान हुन नसके दोस्रो चरणको नमुना पनि संकलन गर्नुपर्ने भएकाले प्रक्रिया केही लामो हुन सक्ने उनले बताए । ‘नमुनालाई प्रोफाइलिङ गरेपछि पहिचानको प्रक्रिया अघि बढ्छ । शव आफन्तकै हो भनेर चिन्न सक्ने अवस्था भएन भने नमुना दोस्रो चरणमा जाँच गर्नुपर्ने हुन्छ । त्यसलाई कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पनि शव र परिवार गरी दुई हजारभन्दा बढी नमुना पुगिसकेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार शुक्रबार अपराह्नसम्म दुवै निकायबाट प्राप्त तथ्यांकअनुसार एकमुष्ट तीन हजार २३ डिएनए नमुना संकलन भएको छ । यसमध्ये शव तथा आंशिक अंगबाट एक हजार २८६ र आफन्तबाट एक हजार ७३७ नमुना संकलन गरिएको हो ।
अहिले नेपालमा दुईवटा संस्थाले मात्र संकलित डिएनए नमुना परीक्षण गर्दै आएका छन् । विपत्तिको अवस्थाबाहेक नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा सामान्य अवस्थामा वर्षमा करिब सातदेखि आठ सय डिएनए परीक्षण हुने गरेको थियो । त्यस्तै, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा महिनामा करिब ३५० नमुना परीक्षण हुँदै आएको थियो ।
तर अहिले एक महिना नबित्दै यी दुई संस्थामा तीन हजारभन्दा बढी नमुना संकलन भइसकेका छन् । यसले दुवै सरकारी प्रयोगशालामाथि नियमित क्षमताभन्दा धेरै परीक्षणको दबाब बढाएको छ ।
बाढीपछि ठुलो संख्यामा शव र डिएनए नमुना संकलन भएकाले नियमित क्षमताभन्दा बढी काम गर्नुपर्ने अवस्था आएको प्रयोगशालाका अधिकारीहरू बताउँछन् । शव पहिचानको प्रक्रिया लामो हुन सक्ने भएकाले परीक्षणको चाप अझ बढ्ने देखिएको छ ।
डिएनए विज्ञ तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख डा.जीवन रिजालका अनुसार दुवै प्रयोगशालामा आवश्यक जनशक्ति पर्याप्त छैन । डिएनए परीक्षणमा प्रयोग हुने रसायन तथा रि–एजेन्ट महँगो हुने भएकाले तिनको नियमित आपूर्ति पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले बताए । ‘प्रयोगशालामा जनशक्ति नै कम छ । परीक्षणका लागि आवश्यक सामग्री समयमै उपलब्ध नभए काम प्रभावित हुन सक्छ,’ रिजालले भने ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार शवबाट संकलित नमुना सुरक्षित राखेर परीक्षणको प्रक्रिया अघि बढाइएको छ । आफन्तबाट संकलित नमुना पनि प्रयोगशालामा प्राप्त हुने क्रम जारी रहेको उनले बताए ।
‘प्राप्त नमुनालाई सुरक्षित रूपमा भण्डारण गर्दै परीक्षणका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको छ,’ उनले भने, ‘संकलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौं ।’
उनका अनुसार, बाढीपछि सामान्य अवस्थाको तुलनामा डिएनए परीक्षणका लागि आउने नमुनाको चाप उल्लेख्य रूपमा बढेको छ । शवबाट लिइएको नमुना र मृतकका आफन्तबाट संकलित नमुना परीक्षण गरी मिलान गरेपछि मात्र पहिचान पुष्टि गर्न सकिने भएकाले प्रयोगशालाले प्राप्त नमुनालाई प्राथमिकताका साथ परीक्षण गरिरहेको छ ।
भारत, चीन, कोरिया, सिंगापुरलगायत देशबाट आएका डिएनए, जीवविज्ञान तथा रक्तसम्बन्धी परीक्षणका विशेषज्ञहरूले समेत नमुना संकलनमा सहयोग गरिरहेका छन् । विदेशी विशेषज्ञको प्राविधिक दक्षता र अनुभवको उपयोग गर्दै डिएनए परीक्षणलाई विश्वसनीय, प्रभावकारी तथा शीघ्र रूपमा सम्पन्न गर्ने काम भइरहेको नेपाल प्रहरीले जनाएको छ । यसका लागि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन तथा निगरानी गरिरहेका छन् ।
यी दुई संस्थाले सामान्य अवस्थामा वार्षिक रूपमा करिब एक हजार हाराहारीमा डिएनए परीक्षण गरिरहेका थिए । अहिलेको अस्वाभाविक चाप कसरी थेग्लान् भन्ने प्रश्न पनि उठेको छ । एक महिनामै सामान्य वार्षिक क्षमताभन्दा धेरै नमुना संकलन भएपछि परीक्षणको गति, जनशक्ति र आवश्यक सामग्री व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ ।
वरिष्ठ वैज्ञानिक अधिकृत प्रधान भने अहिले नमुना संकलनलाई पहिलो प्राथमिकता दिइएको बताउँछन् । नमुना संकलनपछि परीक्षण तथा पहिचानको बाँकी प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिने उनको भनाइ छ ।