
काठमाडौं : भारतको विद्युतीय सवारी साधन (इभी) निर्माता कम्पनी रिभर मोबिलिटीले विशाल ग्रुपसँगको सहकार्यमा नेपालमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंको नक्साल-१, नारायणचौर (समा मार्ग, एमजी मोटर नजिकै) स्थित उक्त सोरुममार्फत कम्पनीले नेपाली बजारमा आधिकारिक प्रवेश गरेको हो ।
सोरुम उद्घाटनकै अवसरमा कम्पनीले आफ्नो विद्युतीय स्कुटर 'इन्डी'को सामूहिक डेलिभरी समारोहसमेत आयोजना गरेको थियो । गत महिना काठमाडौंमा सम्पन्न नाइमा एक्स्पो २०२६ मा पहिलोपटक प्रदर्शन गरिएको यस स्कुटरका लागि १५० भन्दा बढी प्रि-अर्डर प्राप्त भइसकेको छ ।
नक्सालस्थित नयाँ सोरुमले ग्राहक अनुभव केन्द्रका रूपमा काम गर्नेछ, जहाँ टेस्ट राइड, प्रविधि अनुभव, बुकिङ तथा एसेसरिजहरू उपलब्ध गराइएको छ । यस्तै, बिक्रीपछिको सेवाका लागि कम्पनीले काठमाडौंको भीमसेनथान-२०, परोपकारस्थित टढा मार्गमा रहेको भिजी सुजुकी सर्भिस सेन्टर पछाडि छुट्टै सर्भिस सेन्टर स्थापना गरेको छ ।
नेपाली बजारमा 'इन्डी' स्कुटरको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

यस स्कुटरका प्रमुख विशेषताहरू निम्नअनुसार छन् :
ब्याट्री र रेन्ज : ४ केडब्लुएच ब्याट्री प्याक, जसले एकपटकको फुल चार्जमा आइडिसी-प्रमाणित १६० किमीसम्मको रेन्ज दिन्छ ।
गति र क्षमता : अधिकतम गति ९० किमी/घण्टा र १८-डिग्री ग्रेडाबिलिटी ।
डिजाइन र पाङ्ग्रा : १७७ मिमी ग्राउन्ड क्लेरन्स र १४ इन्चको ह्विल, जसले पहाडी तथा विविध सडक खण्डमा सहज यात्रा प्रदान गर्छ ।
स्टोरेज : ५५ लिटरको लक गर्न मिल्ने विशाल भण्डारण क्षमता ।
कम्पनीले मार्च २०२८ सम्ममा नेपालका सातै प्रदेशमा आफ्ना सोरुमहरू विस्तार गर्ने लक्ष्य राखेको छ । रिभर मोबिलिटीका सह-संस्थापक तथा मुख्य कार्यकारी अधिकृत अरविन्द मणीले भारतबाहिरको विस्तारमा नेपाल प्रवेश एक महत्त्वपूर्ण कोसेढुंगा भएको बताएका छन् । त्यस्तै, विशाल ग्रुपका निर्देशक निकुञ्ज अग्रवालले आफ्नो अटोमोबाइल अनुभव र रिभरको नवप्रवर्तनलाई जोडेर उत्कृष्ट ग्राहक सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हालै १२० मिलियन अमेरिकी डलरको फन्डिङ राउन्ड पूरा गरेको रिभर मोबिलिटी सन् २०२१ मार्चमा अरविन्द मणी र विपिन जोर्जद्वारा बेङ्गलुरुमा स्थापना गरिएको हो ।