
क्वालालम्पुर : नेकपा एमाले निकट प्रवासी संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खगेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
अक्टोबर ११ मा क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा सम्पन्न अधिवेशनले संगठनको आगामी कार्यदिशा तय गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित कमिटीको अध्यक्षमा खगेन्द्र श्रेष्ठ, उपाध्यक्षमा मोहन घिमिरे, सचिवमा राजु पहारी तथा सहसचिवमा सबिता तामाङ र सविन लोप्चन तामाङ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा ईश्वर जोशी, मातृका खतिवडा, टोपनारायण भण्डारी, लेखबहादुर खत्री, धनलाल पुन, रनबहादुर बुढा, विष्णु चौधरी, रुद्र बिक, सुमित याक्खा, भरत केदेम, देवकुमार न्यौपाने र राम साउत क्षेत्री चयन भएका छन् । अधिवेशनको निर्वाचन मण्डलको अध्यक्षमा कृष्णबहादुर खड्का रहेका थिए ।
अधिवेशनले संगठनमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै प्रवासमा रहेका नेपालीका हक, अधिकार र समस्यालाई प्रभावकारी रूपमा उठान गर्ने अपेक्षा गरिएको छ । मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या, उनीहरूको अधिकार तथा समुदायका साझा सवालमा संगठनले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता पनि यससँग जोडिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पाठकले नयाँ नेतृत्वप्रति आशा व्यक्त गर्दै राज्यसत्ता सञ्चालनकै सन्दर्भमा नयाँ पुस्ताबाट अपेक्षित परिणाम आउन नसक्ने संकेत देखिएको टिप्पणी गरे। यद्यपि, अहिलेका लागि नयाँ नेतृत्वलाई ‘शंकाको सुविधा’ दिन सकिने उनको भनाइ थियो। उनले नयाँ नेतृत्वलाई काम गरेर आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिनुपर्ने आशय व्यक्त गरे ।
अधिवेशनमा निवर्तमान अध्यक्ष तथा पूर्व नेतृत्वका प्रतिनिधिहरूले संगठनमा पुस्तान्तरणको आवश्यकतामाथि जोड दिएका थिए । पूर्वअध्यक्षले आफूहरू सल्लाहकारको भूमिकामा रहेर नयाँ पुस्तालाई आवश्यक सहयोग, सुझाव र अनुभव प्रदान गर्ने बताए ।
नेतृत्व परिवर्तनसँगै संगठनको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकसाथ अघि बढाउन सके प्रवासी नेपालीका मुद्दालाई अझ प्रभावकारी रूपमा उठाउन सकिने अपेक्षा गरिएको छ ।
अधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेक टमेटा तामाङ, तामाङ घेदुङका महासचिव सञ्जीव तामाङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए। अधिवेशनले संगठनलाई थप व्यवस्थित, गतिशील र प्रभावकारी बनाउँदै मलेसियामा रहेका नेपाली समुदायसँगको समन्वय विस्तार गर्ने अपेक्षा गरिएको छ ।
नयाँ कमिटी सर्वसम्मत रूपमा चयन भएसँगै प्रवासी नेपाली मञ्च मलेसियाले नयाँ नेतृत्वसहित आगामी कार्यकालको जिम्मेवारी अघि बढाउने भएको छ । नवनिर्वाचित अध्यक्ष खगेन्द्र श्रेष्ठसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।