
काठमाडौं : नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइडसले देशव्यापी रूपमा क्षेत्रीय सहरहरूमा रहेका आधिकारिक यामाहा डिलरसिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’को उपलब्धता आधिकारिक रूपमा विस्तार गरेको छ ।
भृकुटीमण्डपमा आयोजित नाडा अटो सो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० सोरुमहरूमा आइपुगेको हो । राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र सिधै बुकिङ गर्न सक्नेछन् ।
यामाहाको मूल मर्म ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’लाई आत्मसात् गरेको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्दछ । यसमा भिभिए प्रविधिको १५५ सिसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पिड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्दछ । हाल उपलब्ध आकर्षक रंगहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पको ग्राहकमागलाई सम्बोधन गर्दै यामाहाले यो नयाँ ब्लु विकल्प बजारमा ल्याएको हो ।
५ लाख ३४ हजार ९०० मूल्य तोकिएको यो नयाँ भेरिएन्ट थप किफायतीसमेत भएकाले धेरैभन्दा धेरै राइडरलाई मौलिक नियो–रेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउनेछ । यो क्षेत्रीय विस्तारको उद्देश्य स्थानीय राइडरसँग यामाहाको सम्बन्ध अझ प्रगाढ बनाउनु र देशव्यापी रूपमा एक्सएसआर प्रयोगकर्ताको समुदायलाई थप विस्तार गर्नु पनि हो । ब्लु यामाहा एक्सएसआर १५५का लागि टेस्ट राइड तथा बुकिङ हाल देशव्यापी क्षेत्रीय सहरमा रहेका आधिकारिक यामाहा डिलरसिपमा खुला गरिएको छ ।