
काठमाडौं : सिद्धार्थ बैंकले एपिआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल फिनटेक एक्सपो २०२६ को अवसर पारेर उक्त प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरेको हो । बैंकिङ एज अ सर्भिस (बिएएएस) अवधारणामा आधारित र्यापिडले बैंक, फिनटेक कम्पनी तथा डिजिटल सेवाप्रदायकका प्रणालीलाई एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई)मार्फत एकीकृत गर्न सहयोग गर्नेछ । यसले विशेषगरी कर्पोरेट ग्राहकलाई आफ्नै सफ्टवेयरबाट बैंकिङ सेवा प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ ।
प्लेटफर्म प्रयोगमा आएपछि ग्राहकले विभिन्न बैंकिङ सेवाका लागि छुट्टाछुट्टै प्रणालीमा प्रवेश गर्नुपर्ने झन्झट कम हुनेछ । ग्राहकले आफ्नै सफ्टवेयर वा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणालीबाट बैंक खाताको मौज्दात हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, ट्रेजरी व्यवस्थापन गर्न तथा कारोबारको स्वतः मिलान गर्न सक्नेछन् ।
बैंकका अनुसार ग्राहकले ‘कनेक्ट विथ एपिआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गरी सेवा उपयोग गर्न सक्नेछन् । सेवा सञ्चालनका लागि बैंकमा एकपटक मोबाइल बैंकिङमा जस्तै फाराम भरेपछि अधिकांश प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने व्यवस्था गरिएको छ ।
र्यापिडले ग्राहकको सहमति लिने प्रक्रियालाई डिजिटल बनाउनुका साथै सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । प्लेटफर्ममा ग्राहकको वित्तीय विवरण सुरक्षित राख्न एन्ड–टु–एन्ड इन्क्रिप्सन, बहुस्तरीय प्रमाणीकरणलगायत सुरक्षा प्रोटोकल प्रयोग गरिएको बैंकले जनाएको छ ।