२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

परदेश बसेर देश लेख्नेहरू

Nada
भावना पाठक
२०८३ कार्तिक १ गते ०६:३०
Shares
परदेश बसेर देश लेख्नेहरू

काठमाडौं : कतिपयलाई लाग्न सक्छ, परदेशिएपछि मानिसले देश बिर्सिन्छन् । तर, के देश बिर्सिने कुरा हो ? के भूगोल बदलिँदैमा देशप्रतिको माया र सम्झना मेटिन्छ ? साहित्यकार नीलम कार्की निहारिका भन्छिन्, ‘भूगोल फरक हुँदैमा देश बिर्सियो भन्न कहाँ मिल्यो र ?’ उनले भनेजस्तै, देश बिर्सिने कुरा होइन ।

ncell

विदेशिनुका आआफ्नै कारण हुन्छन् । अध्ययन, रोजगारी र परिवारको भविष्यका लागि देश छोड्नेहरूको सङ्ख्या दिनहुँ बढिरहेको छ । परदेशमा पनि आफ्नै अप्ठ्यारा छन् । तिनै अप्ठ्याराबीच प्रवासी साहित्यकारहरू नेपाली साहित्यमा योगदान गरिरहेका छन् ।

दिनभरि विदेशी भूमिमा पसिना बगाएपछि वा अध्ययनको बोझले थकित भएपछि पनि किन नेपाली शब्दहरूसँग बस्न मन लाग्छ ? किन आफ्ना अनुभूति र कल्पनालाई नेपाली भाषामा उतार्न चाहन्छन् ? निहारिकाको जवाफ छ, ‘त्यसैले त देश भुल्न सकिने कुरा होइन भनेको नि ।’

मदन पुरस्कार विजेता निहारिकाको ‘योगमाया’ उपन्यासले २०७४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली समाजमा विद्यमान जातीय विभेद, लैगिंक असमानता, धार्मिक रूढिवाद र सामाजिक अन्यायविरुद्ध संघर्ष गर्ने योगमायाको जीवन यसमा समेटिएको छ ।

विदेशमा बसेर नेपाली साहित्य सिर्जना गर्दा केही कठिनाइ हुने उनी बताउँछिन् । ‘विदेशमा बसेर नेपाली साहित्य सिर्जना गर्दा केही असहजता छन्,’ उनी भन्छिन्, ‘संकलन गरिएका सामग्री अपुग हुन सक्छन् । त्यसका लागि पुनः नेपाल आउने वा सामग्री मगाउने गर्नुपर्छ ।’

पछिल्लो समय उनी शुद्ध आख्यानभन्दा ऐतिहासिक र सामाजिक विषयमा केन्द्रित छिन् । उनका अनुसार तथ्यमा आधारित साहित्य लेख्न कल्पना मात्र पर्याप्त हुँदैन । ‘तथ्यमा आधारित साहित्यका लागि कल्पना मात्र भएर पुग्दैन । सामाजिक, सांस्कृतिक र भौगोलिक ज्ञान हुन जरुरी छ । ज्ञान मात्र भएर हुँदैन, अध्ययन पनि जरुरी छ,’ उनले भनिन् ।

नेपालमा रहँदा आवश्यक सामग्री संकलन गर्ने निहारिकाको दैनिकी अहिले पनि लेखनसँगै जोडिएको छ । ‘नेपाल–अमेरिका आउजाउ भइरहने हुँदा अहिले सुटकेसमा किताब र सङ्कलन गरिएका सामग्री मात्र हुन्छन्,’ उनले भनिन् ।

अमेरिकामा बस्दै आएकी निहारिकाको पछिल्लो उपन्यास ‘राजमाता’ हो । राजकाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि चर्चामा नआएका राजमाताहरूको योगदानको कदर हुनुपर्ने आवाज उपन्यासले उठाएको छ । उनका पुस्तकले विभिन्न पुरस्कार प्राप्त गर्दै आएका छन् । ‘राजमाता’ले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ प्राप्त गरेको छ । यही सिलसिलामा नेपाल आएकी उनी अर्को कृतिका लागि पनि सामग्री जुटाइरहेकी छन् ।

पेसा फरक, भाषा र साहित्य एउटै

अमेरिकामा इन्जिनियरिङ पेसासँगै नेपाली साहित्य सिर्जना गरिरहेका केशवराज ज्ञवाली पनि प्रवासमा रहेर नेपाली साहित्यमा योगदान गरिरहेका सर्जक हुन् । उनको कथासङ्ग्रह ‘अर्को भोर’ले २०७८ सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो । त्यसपछि उनको साहित्यिक यात्रामा ऐतिहासिक उपन्यास ‘अज्ञात’ थपिएको छ ।

‘अर्को भोर’मा नेपाल र अमेरिकाको परिवेश समेटेका ज्ञवालीले ‘अज्ञात’मा नेपालको इतिहासलाई विषय बनाएका छन् । इतिहासलाई एकपक्षीय रूपमा प्रस्तुत गर्ने परम्परालाई बदल्ने प्रयास गरेको उनी बताउँछन् ।

‘इतिहासलाई एक नजरबाट हेर्ने र एक चरित्र अथवा व्यक्तिलाई हिरो बनाउने परम्परालाई तोड्ने प्रयास गरेको छु,’ उनी भन्छन्, ‘इतिहासलाई सन्तुलित पक्षबाट हेरिनुपर्छ ।’

बाल्यकालमा कविता लेख्न रुचाउने ज्ञवालीलाई साथीहरूले कवि भनेर जिस्काउँथे । त्यही रुचिले उनलाई अहिले आख्यानकारका रूपमा स्थापित गरेको छ । नेपालमा स्नातक गरेपछि स्नातकोत्तर अध्ययनका लागि अमेरिका पुगेका उनले हाइड्रो–इन्जिनियरिङको पढाइ पूरा गरे । अहिले उनी अमेरिकामै कार्यरत छन् ।

साहित्यभन्दा फरक पेसामा आबद्ध भए पनि उनले लेखनलाई निरन्तरता दिइरहे । सिर्जनाभन्दा बढी मेहनत पढाइ र अध्ययनमा खर्चिनुपर्ने उनको बुझाइ छ । राम्रो लेख्नका लागि पहिले राम्रोसँग पढ्न र विषय बुझ्न आवश्यक ठान्छन् उनी ।

जहाँ बसे पनि नेपाल मनभित्रै

अमेरिकामै बसेर साहित्य सिर्जनामा सक्रिय अर्का सर्जक हुन् गोविन्द गिरी ‘प्रेरणा’ । उनको पछिल्लो कथासंग्रह ‘अविधवा’ हो । महिलालाई केन्द्रमा राखेर लेखिएका कथामा सामाजिक विषयवस्तु र नेपाली समाजको चित्र पाइन्छ ।

नेपाली समाजका बारेमा लेख्न नेपालमै बस्नुपर्छ भन्ने उनलाई लाग्दैन । ‘सिर्जना जता बसेर गरे पनि समाज बुझे पुग्छ,’ उनी भन्छन्, ‘म त नेपालमै जन्मेको, नेपालमै हुर्केको र जागिर पनि नेपालमै गरेको मान्छे हुँ । मैले संसारको जुनसुकै कुनामा बसेर सिर्जना गर्दा पनि त्यहाँ नेपाल त आइहाल्छ नि ।’

उनलाई नेपालभन्दा अमेरिकामा बसेर सिर्जना गर्न सहज लाग्छ । ‘मलाई त नेपालभन्दा अमेरिकामा बसेर सिर्जना गर्न सहज लाग्छ । त्यहाँ कसैलाई कसैको मतलब नै हुँदैन । आफूलाई जतिबेला मन लाग्यो, त्यतिबेला लेख्न पाइन्छ,’ उनले भने ।

प्रवासमा पनि नेपालमा जस्तै साहित्यिक महोत्सव र कार्यक्रम हुने गरेको उनी बताउँछन् । ‘म आफैँ पनि आयोजक भएर त्यस्ता कार्यक्रमहरू गरेको छु,’ उनी भन्छन्, ‘नेपालबाट लेखकहरू पनि यस्ता कार्यक्रममा सहभागी हुन्छन् । हामी एकअर्कासँग जोडिइरहेका हुन्छौँ ।’

प्रकृति र समाजका कथा

पत्रकार एवं लेखक ददि सापकोटाको लेखनमा वातावरण, प्रकृति, पशुपन्छी र वन्यजन्तुका विषयले विशेष स्थान पाएका छन् । ‘पन्छी जगत्’, ‘त्यो नेपाल’, ‘युरोप र वनको वैभव’ र ‘जीवगाथा’ जस्ता उनका कृतिमा मानव, प्रकृति र विश्वजगत्का विविध पक्ष समेटिएका छन् ।

फ्रान्सलाई कर्मथलो बनाएका सापकोटा नेपाल आउँदा नयाँ अनुभव र अनुभूति संकलन गर्छन् । यहाँ के लेख्ने र के खोज्ने भन्ने योजना बनाएरै अध्ययन तथा अनुसन्धानमा जुट्ने गरेको उनी बताउँछन् ।

‘नेपाल आउँदा के लेख्ने भन्ने आधार र त्यसको कन्सेप्ट तयार हुन्छ । त्यहीअनुसार शोधखोज र अध्ययनमा लाग्छु,’ उनी भन्छन्, ‘भेटघाट गर्छु । तथ्य र पात्र खोजेर मात्र फ्रान्स फर्किन्छु र लेखनमा लाग्छु ।’

लेखक कहाँ बसेर लेख्छ भन्ने कुरा ठूलो विषय नभएको उनको बुझाइ छ । डिजिटल प्रविधिले टाढाबाटै संवाद, अध्ययन र तथ्य जाँच गर्न सहज बनाएको उनी बताउँछन् ।

‘डिजिटल युगमा फ्रान्सबाट पनि लामो–लामो संवाद र कुराकानी गर्न तथा तथ्य जाँच गर्न सकिन्छ । त्यसैले युरोप बसेर लेख्ने र नेपाल आएर विमोचन गर्ने चलन हुँदै आएको छ,’ उनले भने ।

निरन्तर लेखन, निरन्तर नेपालीपन

मदन पुरस्कार विजेता उपन्यास ‘राधा’का लेखक कृष्ण धरावासीले आफ्नो तेत्तीसौँ कृति ‘भ्रान्ति पर्व’ सार्वजनिक गरेका छन् । नेपाली साहित्यमा विशिष्ट पहिचान बनाएका उनी पछिल्ला केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । प्रवासमा रहेर पनि उनले नेपाली साहित्य लेखनलाई निरन्तरता दिइरहेका छन् ।

‘आधा बाटो’, ‘राधा’, ‘शरणार्थी’, ‘नागरा फल्स’ र ‘झोला’ जस्ता चर्चित कृतिका लेखक धरावासी वर्षमा कम्तीमा एउटा पुस्तक लेख्ने प्रयास गर्छन् । ‘जहाँ रहे पनि नेपाली साहित्यबाट टाढा छैन,’ उनी भन्छन्, ‘सकेसम्म वर्षमा एउटा पुस्तक लेख्ने प्रयास गर्छु ।’

कविता र गीतमा रुचि राख्ने साहित्यकार उमा सुवेदीले प्रवासमा रहँदा ‘तोदा’ उपन्यास लेखिन् । विदेशमा रहेका महिलाका जिम्मेवारी र समस्यालाई उपन्यासमा समेटेकी उनले साहित्यकार कृष्ण धरावासीबाट प्रेरणा पाएको बताउँछिन् ।

‘म गीत र कवितामा रुचि राख्थेँ । आदरणीय साहित्यकार कृष्ण धरावासीले विदेशबाट एउटा आख्यान लिएर आउ भन्नुभयो,’ उनी भन्छिन्, ‘उहाँकै प्रेरणाले मैले ‘तोदा’ लेखेकी हुँ ।’

हाल नेपालमा रहेकी सुवेदी कामको सिलसिलामा इजरायल पुगेकी थिइन् । त्यहाँ रहँदा आफ्नो समय व्यवस्थापन गरेर साहित्य सिर्जना गर्ने गरेको उनको अनुभव छ ।

चितवनमा जन्मिएका जीवनाथ लामिछाने (जीवा) इन्जिनियरिङ अध्ययनका सिलसिलामा रुस पुगेका थिए । सानैदेखि साहित्यमा रुचि राख्ने उनी मूलतः नियात्रा लेखनमा परिचित छन् । ‘सरसर्ती संसार’, ‘देश–देशावर’ र ‘अक्षत अन्टार्कटिका’ उनका प्रकाशित कृति हुन् । यात्राका अनुभव, विभिन्न देशका समाज र संस्कृति तथा जीवनका विविध पक्ष उनका लेखनमा समेटिएका छन् ।

बेलायतमा रहेर नेपाली साहित्यमा सक्रिय कृष्ण बजगाईँ र क्यानडामा बसेर कविता तथा अनुवादमा संलग्न अरुण बुढाथोकी पनि प्रवासमा नेपाली भाषासँग जोडिइरहेका सर्जक हुन् । गोवर्धन पूजा, राजव, अमोद भट्टराई, खेमनाथ दाहाल र सानु शर्मालगायत थुप्रै साहित्यकार विदेशमा रहेर नेपाली साहित्यमा योगदान दिइरहेका छन् ।

परदेशमा बस्ने यी साहित्यकारका सिर्जनामा नेपालका समाज, संस्कृति, इतिहास, प्रकृति र मानवीय सम्बन्धले ठाउँ पाइरहेका छन् । उनीहरूका लागि देश भौगोलिक सीमाभित्रको भूभाग मात्र होइन, सम्झना, अनुभव र पहिचान पनि हो । नेपालबाट टाढा रहँदा देश झन् बढी सम्झनामा आउने उनीहरूको अनुभव छ । त्यही सम्झनालाई शब्दमा उतार्दै उनीहरूले नेपाली साहित्यको दायरा फराकिलो बनाइरहेका छन् ।

सम्बन्धित खबर