
दोहा, कतार : मधेश प्रदेश समन्वय परिषद् कतारको आयोजनामा तथा मधेश प्रदेशभित्रका करिब दुई दर्जन संस्थाको सह आयोजनामा बडादसैं, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जाति, धर्म, भाषा र संस्कृतिका नेपालीलाई एउटै मञ्चमा जोड्दै आयोजित कार्यक्रमले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय मेलमिलापको सन्देश दिएको छ ।
शुक्रबार कतारको ग्रान्ड मलस्थित लालीगुराँस रेस्टुरेन्टको सभा हलमा परिषद्का अध्यक्ष कलाम हुसेन खानको सभाध्यक्षता तथा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारी, प्रतिनिधि, समाजसेवी, कलाकार तथा सर्वसाधारण गरी सयौँको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पन्थीले मधेश प्रदेश समन्वय परिषद् कतारले प्रस्तुत गरेको धार्मिक सहिष्णुता र संस्थागत एकताको अभ्यास नेपालका राजनीतिक दल तथा सामाजिक सङ्घसंस्थाका लागि पनि अनुकरणीय रहेको बताए । धर्म र विचार फरक भए पनि सबैले एक अर्काको आस्था र संस्कृतिको सम्मान गर्दै मानवता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने उनले बताए । पन्थीले मधेश प्रदेश भित्रका संस्थालाई अध्यक्ष खानले एकीकृत गरेको प्रति लक्षित गर्दै एनसीसी कतारको नेतृत्व गर्न चाहे आफूले व्यक्तिगत रूपमा समर्थन गर्ने पनि बताए। मधेशमा देखिएको एकता र सहकार्यको भावना तराई, मधेश, पहाड र हिमालसम्म विस्तार गर्दै सबै नेपालीलाई समेटेर एनआरएनएलाई अझ सुदृढ बनाउन आफू प्रतिबद्ध रहने उनको भनाइ थियो। उनले मधेशको एकतालाई कमजोर पार्ने गतिविधिप्रति सचेत रहन र सामाजिक सद्भावलाई सबैले प्राथमिकतामा राख्न आग्रह गरे।
प्रमुख अतिथिले कतारमा समस्यामा परेका नेपालीलाई आवश्यक सहयोगका लागि एनसीसी कतारसँग सम्पर्क गर्न आग्रह गर्दै उनले श्रमिकका वास्तविक समस्या पहिचान गरी समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए। उनले डिसेम्बर ११ र १२ मा कतारमा आयोजना हुने मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई श्रमिकका समस्या, आवश्यकता र समाधानका उपायबारे छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा पनि राखे।
वक्ताहरूले परिषद्का अध्यक्ष मुस्लिम धर्मावलम्बी र महासचिव हिन्दु धर्मावलम्बी भए पनि दुवै समुदायले एक अर्काका पर्वलाई सम्मान गर्दै संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नु धार्मिक सद्भावको उदाहरण भएको बताए। मधेश प्रदेशभित्रका विभिन्न जाति, धर्म, भाषा र समुदायका संस्था एकजुट भएर अघि बढ्नुले नेपालमा पनि सामाजिक तथा राजनीतिक एकता सम्भव छ भन्ने सन्देश दिएको उनीहरूको भनाइ थियो।
वक्ताहरूले परिषद् कतारले देखाएको सहकार्यबाट नेपालमा रहेका राजनीतिक दल, सामाजिक संस्था तथा विभिन्न समुदायले सिक्नुपर्नेमा जोड दिए। जातीय, धार्मिक वा वैचारिक भिन्नताका आधारमा समाजलाई विभाजित गर्नुभन्दा विविधतालाई स्वीकार गर्दै साझा उद्देश्यका लागि एकजुट हुनु अहिलेको आवश्यकता रहेको उनीहरूले बताए।
कार्यक्रममा कतारमा रहेका कलाकारहरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए। विशेष गरी तराई तथा मधेशका मौलिक भाषा, संस्कृति र परम्परामा आधारित गीत तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। विविध सांस्कृतिक प्रस्तुतिमार्फत सहभागीहरूले आफ्नो भाषा, कला र पहिचानको संरक्षणसँगै नेपाली संस्कृतिको विविधतालाई उजागर गरेका थिए।
सो अवसरमा कतारमा स्थापित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो। नेपालबाट व्यक्तिगत भ्रमणमा कतार आएका पत्रकार दिवस घिमिरे र अर्जुन भुसाललाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा परिषद्का अध्यक्ष कलाम हुसेन खानले यो कार्यक्रम कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नभएको बताए। मधेश प्रदेशभित्रका करिब दुई दर्जन संस्थाले साथ र सहकार्य गरेकै कारण कार्यक्रम सफल भएको उल्लेख गर्दै उनले सबै संस्था, पदाधिकारी, कलाकार तथा सहभागीप्रति आभार व्यक्त गरे। समन्वय परिषद् सबै समुदायको साझा संस्था भएको बताउँदै उनले आगामी दिनमा पनि आपसी सद्भाव, सहकार्य र एकतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन परिषद्का महासचिव इसिलाल पण्डितले गरेका थिए भने परिषद्का वरिष्ठ उपाध्यक्ष दुर्गानन्द पासवानले स्वागत मन्तव्य राखेका थिए। बडादसैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै सम्पन्न कार्यक्रमले कतारमा रहेका नेपालीबिच धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र राष्ट्रिय एकताको बलियो सन्देश प्रवाह गरेको छ।