२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कविता : रित्तो पिङ !

Nada
सुरेश भट्ट आश्रिन
२०८३ कार्तिक २ गते ०८:४८
Shares
कविता : रित्तो पिङ !

आज पिङ रित्तो छ,
रित्तोपनमा कति धेरै 
आवाजहरू थुनिएका छन्— 
बालापनको हाँसो, 
युवावस्थाको उमङ्ग, 
आमाको मायालु बोलावट 
बाबाको “धेरै मच्चिएर नखेल है
लडिएला!” भन्ने त्यो आवाज ।

ncell

यही पिङमा आकाश छुने
रहर बोकेर हामी उड्थ्यौँ, 
धरतीलाई तल छाडेर 
बादलसँगै कतै हराउने कल्पनामा रमाउँथ्यौँ।

पिङको हरेक मच्चाइसँगै
 हाम्रो उमेर अलिकति बढ्थ्यो, 
तर मन झन् सानो बन्थ्यो— 
न कुनै चिन्ताको भारी,
न भविष्यको डर,
न समयसँग हार्ने हतार, 
केवल दशैँ आउँदाको खुसी 
पिङ खेल्ने एउटा मीठो रहर।

उही डाँडा छ, 
उही गाउँ छ, 
उही आकाश छ, 
उस्तै घामले पहाड चुमिरहेकै छ।
फरक यत्ति हो— 
पिङ छ, खेल्नेहरू छैनन्,
डोरी बाँध्ने हातहरू छैनन्, 
पिङमा पालो कुरेर झगडा गर्ने साथीहरू छैनन्।

रहरले शहर पस्नेहरुले 
चुपचाप हाम्रो गाउँको दशैँ चोरिदिएछन् 
हामीलाई थाहै नदिई
हाम्रो बालापन बोकेर 
परदेशका सडकहरूमा
हिल्यै नफर्किने गरी ।

आज कसैको हातमा राहदानी छ,
 कसैको काँधमा जिम्मेवारी,
कसैको आँखामा परिवारको सपना, 
कसैको निधारमा ऋणको भारी। 

दशैँ आउँछ, 
तर रहरहरू आउँदैनन्, 
टीका लगाउने दिन आउँछ,
घर फर्किने दिन जुर्दैन।

आमाको  बाटो हेरिरहने 
आँखा  थाक्दैनन् 
चौतारीमा बाबाको अधुरा प्रतीक्षाहरू छन्
गाउँको पिङले मलाई पर्खिरहेको छ । 

खै ! 
कहिले  खुसी बोकेर
आकाशतिर उचालिने हो? 
कसको हाँसो समेटेर धरतीतिर झर्ने हो?
रित्तो पिङले हामीलाई नै खोजिरहेको छ— 
ती पुराना दिनका हामीलाई
जसको खल्तीमा पैसा थिएन, 
तर मनभरि संसार थियो
जसको घर सानो थियो
तर गाउँभरीका 
खुसी अटाउने  ठूलो आँगन थियो।
निश्चिन्त निद्रा थियो 
त्यो निष्कपट हाँसो थियो ।

त्यो दशैँ
जहाँ एउटा नयाँ लुगाले
पूरै संसार जितेजस्तो लाग्थ्यो । 
पिङ रित्तिएको मात्र छैन 
हाम्रो समय रित्तिएको छ 
डाँडाका  रँगटे पिङका 
ठडिएका स्मारकले 
दशै पर्खिएको मात्रै छैन 
त्यो परदेसी खोजेको छ ।

परदेशबाट भन्न मन लाग्छ-
ए पिङ! 
तिमी यसरी नै उभिइरहनू, 
हाम्रो प्रतीक्षामा, 
हाम्रो सम्झनामा, 
हामी फर्किने एउटा झिनो आशामा।

म परदेशको थकान बोकेर
फेरि गाउँ फर्किनेछु 
आमाको हातको टीका लगाउनेछु  
पुराना साथीहरू खोज्दै 
तिम्रै छेउमा आइपुग्नेछु । 

सायद त्यतिबेला 
म संग  बालापनको बल हुनेछैन, 
हाम्रो छातीमा उड्ने उमङ्ग हुनेछैन,
आँखामा बालापनको दशैँ 
अवश्य जीवित हुनेछ।

- दोहा, कतार

uae

सम्बन्धित खबर