२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

परदेश र दसैं

Nada
खिम केसी
२०८३ कार्तिक ३ गते ०९:०५
Shares
परदेश र दसैं

चिसो बिस्तारै बढ्दै छ । गर्मीमा थन्क्याएका ज्याकेट र बाक्ला कपडा फेरि दराजमा खोज्न थालेको छु । असोजको यो चिसो हावाले मनमा अनेक खुल्दुली बोकेर आउँछ । मन न हो, अनायासै बहकिन्छ । जसरी प्रेमिका भेट्न आतुर प्रेमी, सागर भेट्न आतुर नदी, फूल चुम्न आतुर भमरा वा कविता लेख्न आतुर कवि । क्षणभरमै उडेर कहाँ कहाँ पुग्छ यो मन । अनि जन्मभूमिमा ल्यान्ड गर्छ । किनकि दसैं हाम्रो घर–आँगनमा भित्रिसकेको छ ।

ncell

एकछिन झ्वाट्ट सम्झन्छु, २०६२/६४ सालतिर कीर्तिपुरमा मास्टर्स पढ्दाको समय । दसैं छुट्टीमा घर जाँदा राजधानी छाडेर गाउँ फर्किनेको भिड बसपार्कमा ह्वात्तै बढ्थ्यो । टिकट सहजै नपाएर ब्ल्याकमा किन्नुपर्ने बाध्यता, ‘गाडीवालाको दसैं र यात्रुहरूको दसा’ फेरि सुरु भयो होला कि ? राजधानी फेरि केही समय सुनसान हुने होला । सहरका गल्लीमा कात्तिके कुकुरहरूको वर्चस्व बढ्ने होला । यी सबै सम्झना मस्तिष्कमा कहिल्यै नमेटिने गरी बसेका छन् । हरेक वर्ष दसैंताका अझै बढी क्लिक हुन्छन् । 

गाउँघरमा बाटाहरू सरसफाइ गर्न सुरु गरे होलान् । कतिले घर लिपपोत गरिसके होलान् । कतिले रातो माटो र कमेरो माटो लिन जाने सल्लाह गर्दै होलान् । एक बिहानी पहर पूरै लाग्छ त्यो माटो खोज्न । घरका झ्याल, ढोका र बार्दलीमा रङरोगन लगाइसके होलान् । लटरम्म फुलेका सयपत्री र हजारी फूलले गाउँघर र टोल सुगन्धित भए होलान् । थरिथरिका रोटी पाक्दै होलान् । छिमेकीहरू पालो गर्दै रोटी हाल्दै होलान् । म भने यता परदेशमा यी सबै कुरा कल्पिँदै बसेको छु । 

नयाँ लुगा किन्न केटाकेटी हौसिएका होलान् । बाले पैसा कहिले पठाउनुहुन्छ भनेर आमालाई सोध्दै होलान् । कतिले नयाँ लुगा किनिसके होलान् । बाले पनि कहिले तलब थापूँला र दसैंखर्च घरमा पठाउँला भनेर कुरेका होलान् । युवाहरू पिङ हाल्ने तयारीमा जुटेका होलान् । सामाजिक सञ्जालका भित्ता दसैं शुभकामनाले भरिन थालेका छन् । 

दसैं आयो भनेर खुसी हुन्छु । त्यही दसैं सम्झँदा मुटुको एउटा कुनामा पीडा फक्रिन्छ– ‘यसपालि पनि घर जान नपाइने भो ।’ अनि दुखी हुन्छु । आँखा टिलपिल गर्न थाल्छन् । 

परदेसीका लागि दसैं केवल एउटा चाड होइन, सम्झनाको पोको हो । आमाको हातको टीका, बाको आशीर्वाद, दाजुभाइ–दिदीबहिनीको हाँसो, आफन्तसँगको जमघट र साथीभाइसँगको सामीप्य हो । देशसँगको अपनत्व हो । देशको माटो, गाउँको बाटो, घरको आँगन र बाल्यकालमा बिताएका पल एकैपटक आँखाअगाडि झझल्किन्छन् । आँखाले आँसुलाई सम्हाल्न सक्दैन । डिलबाट ‘तप्प–तप्प’ खसालिदिन्छ ।

परदेशमा आएपछि आफ्नासँगको भेटघाट पातलिँदै जान्छ, घरको सम्झना भने बाक्लिँदै जान्छ । फेसबुकमा अरूका दसैंका तस्बिर देख्दा मन खुसी पनि हुन्छ । आफ्ना आफन्त र साथीभाइ परिवारसँगै बसेर रमाइरहेका देख्दा खुसी लाग्छ । तर त्यही भिडले मलाई रित्तो र एक्लो पनि बनाउँछ । आफूलाई हराएको भेट्छु । एक दिन भए पनि कतै बेपत्ता भइदिऊँ किजस्तो लाग्छ । हराउन पनि कहाँ जानु ? यो परदेशमा त पहिले नै हराएको मान्छे हुँ– परदेसी मान्छे ।

फोनमा सबैले सोध्ने एउटै प्रश्न हुन्छ, ‘दसैंमा कहिले आउँछस् ?’ यसको उत्तर दिन परदेसीलाई सगरमाथा चढेझैं सकस हुन्छ । क्यालेन्डरमा दसैं हरेक वर्ष आउँछ । परदेशमा पनि जमरा राखिन्छ । बिदा मिलेजति साथीभाइ मिलेर टीका लगाउँछौं, खानपिन गर्छौं । तर बिदा नमिल्नेजति मुटुलाई कसक्क कसेर काममा जोतिनुपर्छ । परदेशमा दसैं बिदा हुँदैन । हाम्रो नेपाली क्यालेन्डरले यता काम गर्दैन । त्यसैले परदेसी मान्छे एक भित्तामा दुई क्यालेन्डर झुन्ड्याएर बसेको हुन्छ ।

परदेसीका विशुद्ध कोठे दसैं हुन्छन् । आफन्त कमै मात्रै हुन्छन् । त्यसैले धेरैजसो चाडपर्व कोठामै सीमित हुन्छन् । कहिलेकाहीँ दसैंमा विशेष कार्यक्रम हुन्छन् । नेपालबाट कलाकार आउँछन् । त्यस्ता कार्यक्रमले मनको केही तिर्सना मेटाउँछन् । तर त्यस्तो अवसर सधैं कहाँ पाइन्छ र ?

परदेसीका लागि हरेक वर्ष आउने दसैंले पीडा पनि सँगै ल्याउँछ । छटपटी थप्छ । घर पुग्न नसकेको न्यास्रो, घरबाट टाढा हुनुको अधुरोपन र चाडपर्वको रिक्तता बोकेर आउँछ । सबै भएर पनि केही छुटेजस्तो लाग्छ । झट्ट हेर्दा सुख भए पनि हाँसो सबै लुटेजस्तो । सायद परदेसी जीवन यस्तै हुन्छ । खुसीको एउटा ठुलो हिस्सा घरको आँगनमै छुट्छ ।

चिसो बढ्दै जाला । शरीरमा आवश्यकताअनुसार न्यानो कपडा थपिँदै जालान् । दसैंका शुभकामना अझै धेरै आउलान् । तर मन भने त्यही घरको आँगनमा पुगेर गेटमै टक्क अडिरहन्छ । गेटको गरालो खोल्ने दिन कुरिरहन्छ । मनलाई प्रशान्त महासागरजस्तो शान्त राख्न खोज्छु । तर मन चिबेचराजस्तै चिरबिर गर्दै कावा खेलिरहन्छ । स्थिर बस्दै बस्दैन । उडिरहन्छ, एकतमास ।

एक वर्षअघिसम्म साथी लेनिन बन्जाडेले ‘दसैंमा घर जान यति दिन बाँकी’ भन्दै फेसबुकमा पोस्ट गथ्र्यो । मलाई दसैं आएको अनुभूत हुन्थ्यो । उसको पोस्टले नै मेरो क्यालेन्डरको काम गथ्र्यो । पोहोरदेखि उसले पनि दसैंमा घर जाने दिन तन्काएर वर्षमा गन्न थालेको छ । पहिले ऊसँग एउटा क्यालेन्डर थियो, अहिले दुईवटा छन् । पहिले एउटा समयमा चल्थ्यो, अहिले दुईथरी समयमा । पहिले तनमन देशमै थियो, अहिले मन घरदेशमा र तन परदेशमा छ । ठाउँ, परिवेश, सीमा र काममा बोल्ने भाषा सबै फेरिए । झन्डै सप्पै फेरियो । नफेरिएको त उसको रङ मात्रै हो, सायद । ऊ अझै कौवाजस्तै छ । मनको भने बकुल्ला हो, ऊ । यो सालदेखि मैले पनि भित्तामा क्यालेन्डर झुन्ड्याउन सुरु गरेको छु । 

परदेशमा बस्नेहरूले देश, गाउँ, घरपरिवार र आफ्ना मान्छेहरूलाई कति गहिरोसँग सम्झिन्छन् भन्ने कुरा परदेशको दूरीले मात्रै बुझाउँछ । यहाँबाट हेर्दा दसैं आउनु एउटा चाड आउनुजस्तो लाग्छ । तर परदेसीका लागि दसैं भनेको आफू जन्मेको गाउँ, खेलेको आँगन, आमाबुबाको आशीर्वाद र मुटुमा राखेको मान्छेको न्यानोपन अझ बढी सम्झिने समय पनि हो । यो साल यस्तै भयो । दसैंमा घर आउन पाइनँ । क्यालेन्डरमा रातो मसीले लेखिएको दसैं हेरेरै बित्ने भयो । अर्को साल दसैंमा क्यालेन्डरमा मात्र होइन, साँच्चिकै बाआमाको आशीर्वाद थाप्न आफ्नै घरको आँगनमा आउनेछु । कुरेर बस्नुस् है ! सबैजना । यसपालि बडादसैंको मंगलमय शुभकामना मात्रै भन्न सकेँ ।

uae

सम्बन्धित खबर