
नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भए । तर परिवर्तित राजनीतिक व्यवस्थाको मर्मअनुसार शासक, प्रशासक र समाजको कार्यशैली बदलिन सकेन । यो तितो यथार्थ हो । राजनीतिक परिवर्तनका लागि राजनीतिक दल र नेपाली समाज दुवैको भूमिका रहँदै आएको छ । तर व्यवस्था र सरकार परिवर्तन किन आवश्यक भयो र त्यसले नागरिकको जीवनमा के सुधार ल्याउनुपर्छ भन्ने प्रश्नको जवाफ व्यवहारमा देखिन सकेको छैन ।
पछिल्लो राजनीतिक परिवर्तन कुनै खास सिद्धान्त वा विचारधाराका आधारमा मात्र भएको होइन । पुराना राजनीतिक दलले विकास र सुशासन दिन नसकेको, भ्रष्टाचार मौलाएको, नातावाद र कृपावादले प्रश्रय पाएको तथा देशको स्रोतसाधन सीमित व्यक्तिको स्वार्थमा प्रयोग भएको जनअसन्तुष्टि यसको प्रमुख आधार बन्यो । यही आक्रोश जेनजी आन्दोलनका रूपमा अभिव्यक्त भयो । आन्दोलनपछि नयाँ पुस्ताका जननिर्वाचित प्रतिनिधि सत्तामा पुगेका छन् । उनीहरूबाट जनताले नयाँ सोच र कार्यशैलीको अपेक्षा गरेका छन् ।
अमेरिकी चिन्तक एल्भिन टोफ्लरले आधुनिक समाजमा तीव्र गतिमा भइरहेको परिवर्तनले मानिसको जीवनशैली र सोचाइमा गहिरो प्रभाव पार्ने बताएका छन् । नेपाली समाजको सोचाइमा पनि परिवर्तन आएको छ । विशेषगरी राजनीतिमा नयाँ पुस्ताको नेतृत्व र नवीन कार्यशैलीप्रति अपेक्षा बढेको छ । तर देश सञ्चालनको क्षमता उमेरले मात्र निर्धारण गर्दैन । त्यसका लागि स्पष्ट दृष्टिकोण, लक्ष्य, योजना र कार्यान्वयन क्षमता आवश्यक हुन्छ । चुस्त प्रशासन, विधिको शासन, सेवामुखी कर्मचारीतन्त्र र जिम्मेवार सरकारबिना विकास र सुशासनका नारा व्यवहारमा रूपान्तरण हुन सक्दैनन् ।
नयाँ सरकारले जनअपेक्षा पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अहिले उठ्न थालेको छ । सरकारको कार्यशैली र निर्णय क्षमताको परीक्षण निरन्तर भइरहेको छ । जनतामा रहेको विश्वास निराशामा परिणत नहोस् भन्नेतर्फ सरकारले गम्भीर ध्यान दिनुपर्छ ।
समाज पनि जिम्मेवार
लोकतान्त्रिक शासन व्यवस्थाको बलियो आधार सचेत नागरिक समाज हो । सरकारको सफलता वा असफलतामा कर्मचारीतन्त्र, निजी क्षेत्र, नागरिक समाज, संघसंस्था र आमनागरिकको भूमिका हुन्छ । यी सबै पक्ष इमानदार, जिम्मेवार र सेवामुखी भए मात्र राज्य सञ्चालन प्रभावकारी हुन सक्छ । यद्यपि यी संयन्त्रलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउने प्रमुख दायित्व राज्यकै हो । विधिको शासन स्थापित गर्दै हरेक क्षेत्रलाई जिम्मेवार बनाउनु सरकारको कर्तव्य हो ।
हाम्रो समाजमा अध्ययन, अनुसन्धान र तथ्यका आधारमा धारणा निर्माण गर्ने अभ्यास कमजोर हुँदै गएको देखिन्छ । सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाका आधारमा राजनीतिक दल वा व्यक्तिको देवत्वकरण र दानवीकरण गर्ने प्रवृत्ति बढेको छ । सकारात्मक बहसभन्दा नकारात्मक टिप्पणीले बढी स्थान पाउन थालेको छ । नयाँ पुस्ताले पनि परिवर्तनको परिणाम छिट्टै खोजेको छ । तर देश विकास हतारमा हुने प्रक्रिया होइन । न त युवालाई वैदेशिक रोजगारीमा पठाएर मात्र समृद्धि हासिल हुन्छ, न पुरानो पुस्ताका राजनीतिकर्मीलाई आलोचना गरेरै विकास सम्भव हुन्छ । यसका लागि राज्यका सबै संयन्त्र र सिंगो समाजको श्रम, सीप र सहभागिता आवश्यक हुन्छ ।
जनताले खोजेको परिणाम
अहिले नागरिकले राजनीतिक सिद्धान्त, विचार र नेताका योगदानको वर्णनभन्दा परिणाममुखी काम खोजेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यासको अभाव, युवा पलायन, प्रशासनिक सेवामा अपेक्षित सुधार नआउनु र विद्युत् महसुल तथा करसम्बन्धी नीतिले सर्वसाधारणमा परेको भारजस्ता विषयले जनजीवन प्रभावित बनाएका छन् । दुईदिने सरकारी बिदाको व्यवस्थाले शिक्षा र स्वास्थ्य सेवामा पारेको प्रभावबारे पनि प्रश्न उठेका छन् ।
यस्ता विषयमा सरकारले स्पष्ट जवाफ र व्यावहारिक समाधान दिन सक्नुपर्छ । नयाँ सरकारबाट जनताले के पाए भन्ने प्रश्नको उत्तर भाषण र घोषणामा होइन, नागरिकले दैनिक जीवनमा अनुभव गर्ने सुधारमा खोजिनुपर्छ । सेवा लिन सहज भएको छ कि छैन, महँगी नियन्त्रणमा कस्तो प्रगति भएको छ, रोजगारीका अवसर सिर्जना भएका छन् कि छैनन् र भ्रष्टाचार नियन्त्रणमा कति प्रभावकारिता देखिएको छ भन्ने आधारमा सरकारको मूल्यांकन हुनुपर्छ ।
राजनीतिक व्यवस्था परिवर्तन भए पनि नेतृत्वको चिन्तन र कार्यशैली नबदलिँदा नागरिकले दुःख पाउँदै आएका छन् । विगतमा संविधान र राजनीतिक व्यवस्थालाई विकासको बाधक देखाउने प्रवृत्ति पनि दोहोरिएको छ । तर विकासका लागि संविधानका प्रावधानभन्दा बढी आवश्यक नेतृत्वको इच्छाशक्ति, योजना र कार्यक्षमता हो । उपयुक्त नीति र इमानदार कार्यान्वयन भएमा उपलब्ध कानुनी तथा संस्थागत संरचनाभित्रै विकासका काम अघि बढाउन सकिन्छ । कमजोरीको दोष व्यवस्थालाई दिएर जिम्मेवारीबाट पन्छिन मिल्दैन ।
नागरिकले अहिलेको सरकारबाट सुशासन, आर्थिक समृद्धि, रोजगारी, महँगी नियन्त्रण र सहज जीवनयापनको वातावरण चाहेका छन् । पुराना दलको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सत्तामा पुगेको नयाँ नेतृत्वले पनि उही ढिलासुस्ती, अपारदर्शिता र दलगत स्वार्थ दोहो¥याउनु हुँदैन । जनताको विश्वासलाई जिम्मेवारीका रूपमा लिनुपर्छ ।
स्थानीय विकासमा जोड
विकासको जिम्मेवारी सिंहदरबारमा मात्र सीमित हुन सक्दैन । स्थानीय आवश्यकता र सम्भावनाअनुसार विकासका योजना अघि बढाउन स्थानीय सरकारलाई सक्षम र जिम्मेवार बनाउनुपर्छ । केन्द्रीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेटको प्रभावकारी उपयोग र अनुगमन आवश्यक छ ।
ग्रामीण सडक, विद्युत्, खानेपानी, रोजगारी, निर्यातमुखी कृषि, आधुनिक पशुपालन र कृषिमा आधारित उद्योगको विकासबिना गाउँको अर्थतन्त्र बलियो हुन सक्दैन । यसका लागि दक्ष जनशक्ति आवश्यक हुन्छ । तर रोजगारी र अवसरको अभावमा गाउँबाट युवा पलायन भइरहेका छन् । युवालाई गाउँमै आयआर्जनको अवसर उपलब्ध गराउने ठोस नीति र कार्यक्रम आवश्यक छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लिखित स्थानीय विकासका प्राथमिकता कार्यान्वयन गर्न पर्याप्त स्पष्टता र प्रभावकारी स्रोत विनियोजन आवश्यक छ । बजेटमा कार्यक्रम समावेश गर्नु मात्र उपलब्धि होइन, त्यसबाट नागरिकले के लाभ पाए भन्ने महत्त्वपूर्ण हुन्छ । स्थानीय तहको क्षमता विकास, योजनाको प्राथमिकता निर्धारण र परिणामको नियमित मूल्यांकनमा सरकारले ध्यान दिनुपर्छ ।
आर्थिक समृद्धि र सुशासनका लागि विधिको शासन, दण्डहीनताको अन्त्य र भ्रष्टाचारप्रति शून्य सहनशीलता अनिवार्य छन् । अल्पकालीन र दीर्घकालीन विकास योजना स्पष्ट हुनुपर्छ । कर्मचारीतन्त्रलाई जनमुखी र उत्तरदायी बनाउनुपर्छ । जिम्मेवारी दिँदा नातासम्बन्ध वा पहुँच होइन, योग्यता र क्षमता हेर्नुपर्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन र जिम्मेवारी पूरा नगर्नेलाई कारबाही गर्ने पद्धति स्थापित हुनुपर्छ ।
राजनीतिक परिवर्तनको औचित्य नागरिकको जीवनमा देखिने सुधारले पुष्टि गर्छ । नयाँ नेतृत्वले पनि विगतका सरकारकै कमजोरी दोहोर्यायो भने जनताको अपेक्षा फेरि निराशामा बदलिनेछ । भूपी शेरचनको कविताको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को अवस्था दोहोरिन नदिन सरकार स्पष्ट दिशा, इमानदार नेतृत्व र परिणाममुखी कार्यशैलीका साथ अघि बढ्नुपर्छ । परिवर्तनको अर्थ सत्ता र नेतृत्व फेरिनु मात्र होइन, शासन गर्ने तरिका र नागरिकको जीवन बदलिनु हो । जनताले खोजेको परिवर्तन यही हो ।