–त्रिपुरा खरेल
दिनदिनैको ऐय्या आत्थुको गनगन सुन्न नसकेपछि श्रीमानले मलाई डाक्टरको क्लिनिकमा लिएर गए । डाक्टरले मेरो मोटो शरीर हेर्दै भने, “लामो जीवन जिउने हो भने, तपाईंले खानपानमा ध्यान दिने अनि एक घण्टा ‘मर्निङ्ग वाक’ गर्नैपर्छ ।”
म परेँ खानाको लोभि र निन्द्राको भोगी । डाक्टरको सल्लाह मान्ने हिसाबले दुई धार्नीको टाउको हल्लाएर डाक्टरको अघि आज्ञाकारी बिमारी बनेको अभिनय गरेँ ।
“डाक्टर ! यिनको कुरा नपत्याउनुस् । मैले मसँगै बिहान वाकमा जाउँ भनेर धेरै पटक भनिसकें, यिनी मान्दिनन् । जतिखेर पनि चुपुर चुपुर खाइरहने बानी छ ।”
मैले आफ्नो बिमारले शरीरलाई दिएको दग्धीबारे डाक्टरलाई बताउनुभन्दा पहिले नै मेरा श्रीमानले मेरो खानपिन र कसरतबारे राम कहानी बताउन थाले । श्रीमान् मेरो चुक्ली सार्दै थिए । डाक्टर भने हातमा स्टेस्थोस्कोपलाई बिमारीको ढाड र छातीमा राख्दै “साँ ... साँ” भन्दैथिए । उनका कान र हात व्यस्त भएपनि आँखाले भने ढोका बाहिर बेन्चमा बसेका बिमारीको संख्या गन्दैथे ।
निर्देशकको पदमा रहेर पनि लोभले नछाड्ने भनेकै सरकारी डाक्टर हुन् । पैसाको लागि पद र पेशाको दुरुपयोग । झन् लामो सास तान्दै र छोड्दै यस्तै के–के सोचिरहेकी थिएँ । मेरा श्रीमान् आफ्नै धुनमा । उनी डाक्टरलाई अरु पनि के–के भन्दै थिए ।
डाक्टरलाई झर्को लागेछ कि क्या हो उल्टै प्रश्न गरे, “बिमारी तपाईं कि तपाईंकी श्रीमती ?”
मान्छेका लामलाई हेर्दै मैले श्रीमान्लाई अरु नबोल्ने संकेत गरेँ ।
डाक्टर साहेबले अर्को महिनामा रिभ्युको लागि आउँदा यी टेस्ट गरेर आउनु भनेर लामो लिस्ट दिए । उनले चलाउने गरेको आफ्नै ल्याबको रिपोर्ट बाहेक अरू ल्याबको रिपोर्टलाई हेर्ने उनको बानी छैन भनेर त्यहाँकी परिचारिकाले भनिन् ।
“रीमा तिमीले मेरो र छोराछोरीका लागि भएपनि मर्निङ वाक गर्नैपर्छ ।” घर फर्किँदै गर्दा श्रीमान्ले मलाई फकाउन थाले । मँैले पनि आफ्नो शरीर स्वस्थ्य र चुस्त राख्छु भनेर दृढ प्रतिज्ञा गरेँ ।
“रीमा उठ् मर्निङ वाकमा जानुपर्छ ।” भोलिपल्ट बिहानको तीन बजे श्रीमानले घचघच्यएर उठाए । मलाई पनि बाँच्ने रहर लागेर होला चाइँचुइँ नगरी जुरुक्क उठेर लुगासुगा लगाएर उनको पछि लुरुलुरू लागेँ । बिहानै मर्निक वाकमा निस्कनु मभित्रको बाँच्ने रहर थियो । रातिको तीन बजे, भूत फर्किने समय हो भनेर धामीझाँक्रीले भनेको सुनेकी थिएँ । पछाडिबाट समाउँछ कि भन्ने डरले आङ्ग पनि फुलेर आयो । नरक खोल्सा नजीकको बाटोबाट आँखा बलेको कुनै चिज घस्रेर जंगलतिर लाग्यो । मेरो सातोपुत्लो उड्यो । श्रीमान् भने टाँगन घोडाको चालमा अघि बढिसकेका थिए ।
चिहान डाँडा हुँदै म अगाडि बढ्दै गएँ । बाटोको छेउमा लास बिसाउने अमलाको रुखमा खादा झुड्याएको दृश्यले मुटु चिसो भयो । आफूलाई सम्हाल्दै अगाडि बढ्दै गएँ । नरक खोल्सा पुग्दा ठूला ढुङ्गा र रुखका पोथ्राहरूलाई पनि झोडा उर्लेर बगाएका सन्तु र पुनमानको आकृति देख्न थालें । मेरा पति अघि नै फर्किसकेका थिए ।
“भोलिदेखि चार बजे पछाडि मात्र घरबाट बाहिर निस्कन्छु, तीन बजे त मरिगए पनि घरबाट निस्किन्न ।” मैले भीष्म प्रतिज्ञा गरें ।
भोलिपल्ट बिहानको चार बजेतिर एक्लै उकालो लागें, एउटा पाङ्ग्रे कुकुरले मलाई झम्टिन खोज्दै थियो । मैले त्यसलाई ढुङ्गाले हानें, त्यो कुइँकुइँ गर्दै भाग्यो ।
भोलिपल्ट त्यहीँ ठाउँमा त्यसले पुनः झम्टिने प्रयास ग¥यो । मैले लठ्ठीले त्यसलाई हिर्काएँ, धेरै दुखेर होला कुकुर जङ्गलतिर पस्यो । “आजभने यसलाई बजाएँ ।” भन्दै घर पुगेर आफ्नो खुशी प्रकट गरेँ । अघिसम्म खुशीको मुद्रामा बसेका मेरो पतिको अनुहार अँध्यारो भयो ।
“विचरा निरीह पशुलाई किन कुटेको ?” उनले कुकुरको पक्ष लिँदै मलाई प्रश्न गरे । मैले यथार्थ बताएर जित्न खोजेँ ।
कुकुरको डरले गर्दा गाउँकी बहिनी जानुलाई लिएर हिँड्न थालेँ । त्यो कुकुर मलाई देखेर रुँदै भुक्न थाल्यो । त्यसको रुवाइ सुन्दा मलाई नरमाइलो लाग्यो । मैले जानुलाई कुकुर र मेरोबीचको द्वन्द्वबारे वृतान्त बताएँ ।
“म्याडमले गान्तुकेको बारेमा कुरा गर्नुभएको ? सारै गुनिलो छ । मर्निङ वाकमा जानेहरूलाई माथि नरक खोल्सासम्म पु¥याएर फर्किन्छ ।” तिनले हिँड्दै भनिन् ।
अब मलाई चिसो हावा खाँदै हरियालीको दृश्यावलोकन गर्नमा त्यति आनन्द लाग्न छोड्यो । “मैले बेकारमा त्यसलाई पिटेछु” भन्ने हीनताबोधले मलाई सताइरह्यो । मेरो पतिले मेरो हातमा बिस्कुटको प्याकेट दिँदै भने, “त्यसले तिमीसँग मन दुखाएको रहेछ, अब बिस्कुट दिएर फकाउ ।”
म बाहिर निस्किएँ । बैनीले आज अल्छी गरी, म एक्लै परेँ । गान्टुके मेरो पदचाप सुनेर फेरि भुक्न थाल्यो । मैले बिस्कुट उसको अघिल्तिर फालिदिएँ । त्यो आफ्नो पुच्छर हल्लाउँदै खान थाल्यो, म ढुक्क भएँ । भोलिपल्टदेखि उसले मलाई गन्तव्यसम्म पु¥याउने र फर्किने गर्न थाल्यो ।
मैले मान्छेलाई धेरै गुन लगाएकी पनि छु, कतिलाई मेरो पतिले काममा लगाइदिए, काम नपाएकाहरू मेरो घरमा आएर महिनौंसम्म बसे । कतिलाई स्कुलमा भर्ना गरिदिँए । मैले गुन लगाएकाहरु अहिले मलाई देखेर पनि नदेखेको झैँ गर्छन् । कतिपय त आफूलाई उचालेर माथि उठाउने मेरा हात काट्न पनि पछि परेका छैनन् । मेरो मर्निङ्ग वाकको इमान्दार साथी गान्टुकेले भने मैले बिस्कुट दिएर लगाएको गुन आजसम्म पनि भुलेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies