
अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले लोकतन्त्रलाई ‘जनताको, जनताद्वारा र जनताका लागि गरिने शासन’ भनेर परिभाषित गरेका थिए । लामो समयसम्म यही परिभाषा लोकतन्त्रको चर्चित व्याख्या रह्यो । नेपालको सन्दर्भमा २००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलन, २०६२/६३ को परिवर्तन र २०७२ मा संविधान जारी हुँदासम्म लोकतन्त्रलाई मुख्यतः निरंकुश शासनको अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनसँग जोडेर हेरियो ।
पुरानो पुस्ताका लागि राजनीतिक बन्दी रिहा हुनु, सार्वजनिक रूपमा बोल्न पाउनु र पाँच वर्षमा एकपटक मतदान गर्न पाउनु नै लोकतन्त्रका ठुला उपलब्धि थिए । तर संविधान जारी भएको एक दशकपछि नागरिक चेतना, प्रविधि र सामाजिक अपेक्षामा आएको परिवर्तनसँगै लोकतन्त्रको परिभाषा पनि फराकिलो भएको छ । आज नागरिकले नेताका भाषणभन्दा आफ्नै भान्साको महँगी, सार्वजनिक सेवाको अवस्था र जीवनमा आएको परिवर्तनका आधारमा लोकतन्त्रको मूल्यांकन गर्न थालेका छन् ।
नागरिकले तिरेको करको प्रतिफलस्वरूप गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, सुरक्षित पूर्वाधार र सम्मानजनक रोजगारी पाउनुपर्छ । सरकारी कार्यालयमा सहज सेवा, किसानलाई समयमै मल र युवालाई आफ्नै देशमा भविष्य देख्ने अवसर उपलब्ध हुनु आधुनिक लोकतन्त्रका महत्त्वपूर्ण मापदण्ड हुन् । त्यसैले आज लोकतन्त्रको सफलता राजनीतिक अधिकारसँगै सुशासन, सेवा प्रवाह र राज्यको कार्यसम्पादनबाट मापन हुन थालेको छ ।
दलतन्त्रको चुनौती
लोकतन्त्रलाई अहिले निरंकुश राजतन्त्र वा तानाशाहीबाट मात्र खतरा छैन । राज्यका संस्थालाई दलीय प्रभाव र भागबन्डाको अखडा बनाउने प्रवृत्तिले पनि यसको मर्म कमजोर बनाइरहेको छ । निर्वाचन जित्नु भनेको राज्यसत्तामाथि स्वामित्व प्राप्त गर्नु होइन, जनताप्रति उत्तरदायी बन्ने जनादेश पाउनु हो । तर सत्तामा पुगेपछि सार्वजनिक निकायलाई दलगत प्रभावमा राख्ने, संस्थाभन्दा व्यक्ति र दललाई माथि राख्ने तथा सार्वजनिक हितभन्दा राजनीतिक स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ ।
सीमित नेताले बन्द कोठामा राष्ट्रिय निर्णय गर्ने, संवैधानिक निकायदेखि विश्वविद्यालयसम्म भागबन्डा गर्ने र आफ्ना स्वार्थअनुकूल संस्था सञ्चालन गर्ने अभ्यास लोकतान्त्रिक हुन सक्दैन । त्यो सीमित व्यक्तिको शासन अर्थात् अल्पतन्त्रको स्वरूप हो ।
अर्को विडम्बना, लोकतन्त्रको वकालत गर्ने दलहरू आफ्नै आन्तरिक संरचनामा लोकतान्त्रिक अभ्यास गर्न चुकेका छन् । नेतृत्व एउटै घेरामा सीमित हुने, नयाँ पुस्तालाई अवसर नदिने र निर्णय केही व्यक्तिको इच्छामा निर्भर रहने प्रवृत्तिले व्यक्तिवाद र गुटवादलाई बढावा दिएको छ । राज्य दलका लागि हो कि नागरिकका लागि भन्ने प्रश्नको जवाफ व्यवहारबाट दिनुपर्ने समय आएको छ । राज्यका संस्था दलीय नियन्त्रणबाट मुक्त, निष्पक्ष र जनउत्तरदायी नभएसम्म नागरिकले लोकतन्त्रको वास्तविक अनुभूति गर्न सक्दैनन् ।
अधिकारसँगै सामाजिक न्याय
लोकतन्त्रको वास्तविक परीक्षा निर्वाचन केन्द्रमा होइन, नागरिकको दैनिक जीवनमा हुन्छ । बेरोजगार युवा विदेश जान बाध्य हुनु, किसानले मलका लागि भौंतारिनु र गरिबले उपचार नपाउनुजस्ता समस्या समाधान नगरी राजनीतिक अधिकारको पूर्ण अनुभूति सम्भव हुँदैन । नेपालको संविधानले भाग ३ मा मौलिक हक र भाग ४ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको व्यवस्था गरेको छ । तर ती व्यवस्थाको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ ।
आज लोकतन्त्र राजनीतिक समानता अर्थात् एक व्यक्ति, एक मतमा मात्र सीमित छैन । यो आर्थिक समानता, सामाजिक न्याय र मानवीय मर्यादासँग पनि जोडिएको छ । दलितले जातीय विभेद भोग्नुपर्ने, सुकुम्वासीले आवासको समस्या झेल्नुपर्ने र गरिबले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेसम्म लोकतन्त्रको उद्देश्य पूरा भएको मान्न सकिँदैन । अवसरको न्यायोचित वितरण र सीमान्तकृत समुदायको सशक्तीकरण आधुनिक लोकतन्त्रका आधार हुन् ।
डिजिटल युगको जवाफदेहिता
सूचना प्रविधि र सामाजिक सञ्जालको विस्तारले लोकतन्त्रको अभ्यासलाई संसद् र सिंहदरबारको पर्खालबाहिर पु¥याएको छ । हिजो शासकलाई गल्ती सच्याउन वा जवाफ दिन पाँच वर्षपछिको निर्वाचन कुर्ने सुविधा थियो । अहिले त्यो अवस्था छैन । सांसदले संसद्मा के बोले, सरकारले के निर्णय ग¥यो र विकास निर्माणमा कहाँ अनियमितता भयो भन्ने विषय नागरिकको निगरानीमा हुन्छन् ।
नागरिक अब निर्वाचनका बेला मात्र सक्रिय हुने मतदाता होइनन् । उनीहरू निरन्तर प्रश्न सोध्ने, खबरदारी गर्ने र जवाफ माग्ने भूमिकामा छन् । कर तिर्ने नागरिकले राज्यका निर्णय, खर्च र कार्यसम्पादनबारे जानकारी पाउनु आफ्नो अधिकार ठान्छन् । नेपालको संविधानको धारा २७ ले पनि सूचनाको हक सुनिश्चित गरेको छ । त्यसैले पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका अनिवार्य सर्त बनेका छन् ।
लोकतन्त्रका आधारभूत मान्यतामध्ये विधिको शासन र कानुनको दृष्टिमा समानता पनि पर्छन् । कानुन सबै नागरिकमाथि समान रूपमा लागू हुनुपर्छ । सार्वजनिक अवसर, नियुक्ति र जिम्मेवारी योग्यता, प्रतिस्पर्धा र इमानदारीका आधारमा वितरण हुनुपर्छ । संवैधानिक निकाय, सुरक्षा निकाय र न्यायपालिका राजनीतिक प्रभावबाट स्वतन्त्र रहन सके मात्र लोकतन्त्र संस्थागत हुन्छ ।
परिणाममुखी शासन र संवैधानिक मर्यादा
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले लोकतन्त्रप्रतिको नागरिक दृष्टिकोणमा आएको परिवर्तन देखाएको छ । परम्परागत दलप्रतिको असन्तुष्टिका बीच वि.सं. २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको नेतृत्वमा भएका आन्दोलनले वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षण उजागर गरे । त्यसपछि वि.सं. २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा मतदाताले बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट बहुमत दिए ।
सरकारले कार्यभार सम्हालेपछि ‘डेलिभरीमा आधारित शासन’को नारासहित १०० बुँदे सुधार कार्यक्रम अघि सारेको छ । संघीय मन्त्रालयको संख्या २२ बाट १७ मा सीमित गर्ने निर्णय, २०४८ सालयताका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन आयोग गठन तथा कर्मचारी र सुरक्षाकर्मीका लागि पाक्षिक तलब प्रणालीजस्ता कार्यक्रम पनि सार्वजनिक भएका छन् ।
तर लोकतन्त्रको गुणस्तर लोकप्रिय घोषणा र सुधारका कार्यक्रमबाट मात्र मापन हुँदैन । यसको वास्तविक परीक्षण शक्ति पृथकीकरण, संवैधानिक मर्यादा र स्वतन्त्र संस्थाप्रतिको व्यवहारबाट हुन्छ । परिणाममुखी शासन आवश्यक छ, तर त्यसका नाममा संवैधानिक प्रक्रिया र संस्थागत सन्तुलनलाई कमजोर पार्न मिल्दैन ।
यस सन्दर्भमा प्रधानन्यायाधीश नियुक्तिको विषयले पनि बहस सिर्जना गरेको छ । वि.सं. २०८३ वैशाख २४ मा संवैधानिक परिषद्ले संविधानको धारा १२९ को उपधारा ३ अनुसार सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्न सकिने प्रावधानलाई आधार बनाउँदै डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनको नियुक्ति प्रक्रिया अघि बढ्यो । यसले न्यायपालिकामा वरिष्ठताको परम्परा, योग्यता प्रणाली र स्वतन्त्रताबीचको सम्बन्धबारे बहस जन्माएको छ ।
प्रधानन्यायाधीश नियुक्ति केवल प्रशासनिक प्रक्रिया होइन । यो न्यायपालिकाको संस्थागत स्वतन्त्रता र आन्तरिक विश्वाससँग पनि जोडिएको विषय हो । त्यसैले नियुक्तिको आधार र प्रक्रियाले न्यायपालिकाको निष्पक्षतामाथि नागरिकको विश्वास कायम राख्न सक्नुपर्छ ।
त्यस्तै, संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा अध्यादेशमार्फत कानुन संशोधन गर्ने अभ्यासले संसद् र कार्यपालिकाबीचको सम्बन्ध तथा संसदीय प्रक्रियाबारे प्रश्न उठाएको छ । संसद् जनसार्वभौमिकताको औपचारिक अभिव्यक्ति भएकाले नीतिनिर्माणमा संवाद, पारदर्शिता र जवाफदेहिता आवश्यक हुन्छ । संवेदनशील राष्ट्रिय विषयमा सरकारका निर्णय र अभिव्यक्ति सार्वजनिक परीक्षणका विषय बन्नु स्वाभाविक हो ।
लोकतन्त्र समय, प्रविधि र नागरिक चेतनासँगै विकसित हुने प्रणाली हो । विगतमा निरंकुश शासनको अन्त्य यसको प्रमुख लक्ष्य थियो भने अहिले भ्रष्टाचार, कुशासन, दण्डहीनता र बेरोजगारीविरुद्ध प्रभावकारी परिणाम दिनु पनि यसको दायित्व बनेको छ । तर जनमतलाई शक्ति पृथकीकरण र संस्थागत नियन्त्रण तथा सन्तुलन कमजोर पार्ने अनुमतिपत्रका रूपमा बुझ्नु अर्को गम्भीर विचलन हुनेछ ।
नागरिकको आलोचना लोकतन्त्रका लागि खतरा होइन । बरु आलोचनालाई बेवास्ता गर्ने राजनीतिक जडता, संस्थामाथिको दलीय नियन्त्रण र सर्वशक्तिमान बन्ने प्रवृत्तिले लोकतन्त्रलाई जोखिममा पार्छन् । त्यसैले आजको लोकतन्त्रको मूल मापदण्ड परिणाममुखी शासन र संवैधानिक मर्यादाबीचको सन्तुलन हो । जनताको मतको सम्मान गर्नु जति आवश्यक छ, उनीहरूका प्रश्नको जवाफ दिनु र राज्यका संस्थाको स्वतन्त्रता जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।