
लैंगिकहिंसा आजको विश्वको सबैभन्दा गहिरो, जटिल र दीर्घकालीन सामाजिक समस्याहरूमध्ये एक हो । यो प्रश्न आखिर कहिलेसम्म ? कुनै एक व्यक्तिको व्यक्तिगत पीडा मात्र होइन, करोडौं महिला, बालिका र लैंगिक अल्पसंख्यक समुदायको साझा आक्रोश, थकान र आशाको मिश्रण हो । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान चल्छ । नेपालमा पनि घर–घरमा सुन्तला रङका रिबन बाँधिन्छन्, सभा–समारोह हुन्छन्, नारा लगाइन्छन् । तर घटनाको तथ्यांक हेर्दा प्रश्न दोहोरिन्छ, यो हिंसा कहिले अन्त्य हुन्छ ?
लैंगिक हिंसा के हो ?
संयुक्त राष्ट्रसंघको परिभाषाअनुसार, लैंगिक हिंसा भनेको लिंगका आधारमा व्यक्तिमाथि हुने कुनै पनि प्रकारको शारीरिक, यौनजन्य, मनोवैज्ञानिक वा आर्थिक हिंसा हो । यसले सार्वजनिक वा निजी क्षेत्रमा हुने सबै प्रकारका हिंसालाई समेट्छ । यसमा घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, बालविवाह, दाइजोसम्बन्धी हिंसा, जादु–टोनाको आरोप, डिजिटल हिंसा (अनलाइन ट्रोलिङ, नग्न फोटो सेयर गर्ने, साइबर बुलिङ), मानव तस्करी, एसिड आक्रमण आदि पर्छन् । यसमा महत्त्वपूर्ण कुरा के हो भने यो हिंसा महिलालाई मात्र होइन, केही अवस्थामा पुरुष, ट्रान्सजेन्डर र अन्य लैंगिक पहिचान भएका व्यक्तिहरूमाथि पनि हुन्छ । तर तथ्यांक स्पष्ट छ कि पीडितको विशाल बहुमत महिला र बालिका नै छन् । विश्वभर लगभग एकतिहाइ महिलाहरूले आफ्नो जीवनकालमा कम्तीमा एकपटक शारीरिक वा यौन हिंसा भोगेका हुन्छन् । यो आँकडा दुई दशकदेखि लगभग उस्तै छ ।
विश्वको वर्तमान चित्र
संयुक्त राष्ट्रसंघ महिला र संयुक्त राष्ट्र अपराध तथा लागुपदार्थ कार्यालयका अनुसार सन् २०२५ मा करिब ४७ हजार महिला र बालिका आफ्नै जीवनसाथी वा परिवारका सदस्यबाट मारिए । यो औसतमा प्रतिघण्टा पाँच जनाभन्दा बढी हो । घर नै महिलाका लागि सबैभन्दा खतरनाक ठाउँ बनेको छ । अफ्रिकामा दर सबैभन्दा उच्च छ भने एसियामा जनसंख्याको आकारका कारण कुल संख्या पनि ठुलो छ । यसमा प्रगति सुस्त छ । दिगो विकास लक्ष्यको लक्ष्य ५.२ ले सन् २०३० सम्म महिला र बालिकाविरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्ने भनेको छ । तर विज्ञहरू स्पष्ट रूपमा भनिरहेका छन् कि वर्तमान गतिमा यो लक्ष्य पूरा हुन सक्दैन । केही अध्ययनहरूले भनेका छन् कि पूर्ण लैंगिक समानता प्राप्त गर्न लगभग तीन सय वर्ष लाग्न सक्छ । यसको मतलव हिंसा अन्त्य हुन अझै धेरै पुस्ता कुर्नुपर्ने अवस्था छ । जबसम्म गहिरो संरचनात्मक परिवर्तन हुँदैन ।
नेपालको यथार्थ
नेपालमा पनि अवस्था चिन्ताजनक छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा करिब २१ हजारभन्दा बढी महिला र बालिका विभिन्न प्रकारका हिंसाका पीडित भएका थिए । तीमध्ये लगभग ८१–८२ प्रतिशत घरेलु हिंसाका घटना थिए । बलात्कारका घटना वार्षिक दुई हजारभन्दा माथि नै छन् । बालिकामाथि यौन हिंसाका घटना पनि उच्च छन् । घरेलु हिंसामा मनोवैज्ञानिक हिंसा सबैभन्दा बढी देखिन्छ, त्यसपछि शारीरिक र आर्थिक हिंसा पनि छन् । मधेश प्रदेशमा कुल घटनाको हिस्सा उच्च छ भने यौन हिंसा कोशीलगायतका प्रदेशमा बढी देखिन्छ । डिजिटल हिंसा द्रुत गतिमा बढिरहेको छ । जुन चार महिनामै हजारौं उजुरी परेका छन् । पछिल्ला पाँच वर्षमा एक लाखभन्दा बढी महिला हिंसाका घटना दर्ता भएका छन् । हत्याका घटनामा पनि महिलाको हिस्सा उल्लेखनीय छ । यी तथ्यांकले देखाउँछन् कि कानुन बनेका छन्, अभियान चलेका छन्, तर हिंसाको मूल जरा गहिरो छ ।
हिंसा किन हुन्छ ?
लैंगिक हिंसाको मूल जरा पितृसत्तात्मक सोचमा छ । समाजले पुरुषलाई शक्ति, नियन्त्रण र स्वामित्वको प्रतीक बनायो भने महिलालाई आज्ञाकारिता, शील र परिवारको ‘सम्पत्ति’को रूपमा हेर्ने संस्कृति निर्माण गर्यो । यसका मुख्य कारण यसप्रकार छन् :
सांस्कृतिक र सामाजिक मान्यता : छोरीलाई बोझ ठान्ने, छोरा प्राथमिकता दिने, दाइजो प्रथा, बालविवाह, विधवा विभेद जस्ता परम्परा अझै जीवित छन् । धेरै समुदायमा घरको कुरा घरमै भन्ने सोचले हिंसालाई लुकाउँछ ।
आर्थिक असमानता : महिलाको आर्थिक निर्भरता हिंसा सहन बाध्य बनाउँछ । सम्पत्तिमा पहुँच कम, रोजगारीमा विभेद र घरायसी कामको अवमूल्यनले महिला कमजोर बनाउँछ ।
शिक्षा र चेतनाको अभाव : शिक्षा नभएमा अधिकार थाहा हुँदैन । तर शिक्षा भएका महिलामाथि पनि हिंसा हुन्छ । यसले देखाउँछ कि समस्या केवल निरक्षरता होइन, सोचको हो ।
कानुनी र संस्थागत कमजोरी : कानुन छन्, तर कार्यान्वयन कमजोर छ । प्रहरी, अदालत र स्थानीय निकायमा संवेदनशीलता र स्रोतको अभाव छ । पीडितले न्याय पाउन लामो समय, खर्च र पुनः पीडा सहनुपर्छ ।
मिडिया र प्रविधिको दुरुपयोग : डिजिटल प्लेटफर्मले हिंसालाई नयाँ रूप दिएको छ । जसमा भन्ने नै हो भने नग्न फोटो धम्की, अनलाइन ट्रोलिङ, गलत सूचना फैलाउने काम सहज भएको छ ।
संकटको अवस्था : भूकम्प, महामारी, आर्थिक संकट वा द्वन्द्वका बेला हिंसा बढ्छ । महिला र बालिका अझै बढी जोखिममा पर्छन् ।
पुरुषत्वको गलत धारणा : पुरुष हुनु भनेको हावी हुनु भन्ने सोचले हिंसालाई जायज ठान्छ । धेरै पुरुष आफैं पनि यस सोचको किार हुन्छन् ।
निष्कर्ष
सगम्रमा भन्नुपर्दा लैंगिक हिंसा आखिर कहिलेसम्म ? भन्ने प्रश्नको उत्तर हामी आफैंले निर्धारण गर्छौं । यो कुनै प्राकृतिक प्रकोप होइन जसलाई रोक्न सकिँदैन । यो मानवनिर्मित समस्या हो र मानव प्रयासले नै अन्त्य गर्न सकिन्छ । आजको पीडितको आँसु भोलिको पुस्ताको सुरक्षा बन्न सक्छ । यदि हामीले आजै काम सुरु ग¥यौं भने हिंसा अन्त्य हुने दिन त्यो दिन हो जब कुनै पनि व्यक्ति आफ्नो लिंगका कारण डरमा बाँच्नुपर्दैन । जब घर सुरक्षित हुन्छ, जब सहमतिबिना कुनै सम्बन्ध हुँदैन, जब छोरी जन्मेको खबर खुसीको हुन्छ र जब पुरुष हुनु भनेको समानताको पक्षमा उभिनु हुन्छ । त्यो दिन आउन सक्छ । तर त्यो दिन आउन हामी सबैले यक्ति, परिवार, समुदाय, राज्य र अन्तर्राष्ट्रिय समुदायले—निरन्तर, इमानदार र साहसी प्रयास गर्नुपर्छ । नत्र यो प्रश्न फेरि फेरि दोहोरिनेछ आखिर कहिलेसम्म ? हामीले आजैबाट जवाफ दिन थालौं । हिंसा अन्त्य गर्न सकिन्छ । र यो अन्त्य हुनुपर्छ ।