
दसैं नजिकिएसँगै साउदी अरबमा कार्यरत नेपाली श्रमिकमा चाडपर्वको चहलपहल बढेको छ । रोजगारीका लागि साउदीका विभिन्न सहरमा रहेका करिब चार लाख नेपालीमध्ये कतिपय बिदा लिएर नेपाल फर्किन थालेका छन् भने ठुलो संख्यामा श्रमिक रोजगारीकै कारण परदेशमै दसैं मनाउने तयारीमा छन् ।
नेपाल फर्किन चाहने श्रमिकका लागि भने यसपटक हवाई टिकटको महँगो मूल्य प्रमुख चुनौती बनेको छ । दम्माममा कार्यरत श्रमिक प्रेम बोहोराका अनुसार गत वर्ष दसैंमा सामान्य मूल्यमा टिकट खरिद गरे पनि यसपटक झन्डै दोब्बर रकम तिर्नुपरेको छ । चाडपर्वका समयमा हवाई भाडा अत्यधिक बढ्दा सीमित आम्दानी भएका श्रमिकमाथि थप आर्थिक भार परेको भन्दै उनले नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । चाडपर्वका बेला वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहुलियतपूर्ण हवाई भाडाको व्यवस्था गर्न पहल गर्नुपर्ने उनको माग छ ।
नेपाल जान नपाउने श्रमिकले भने साउदीमै नेपाली शैलीमा दसैं मनाउने तयारी गरेका छन् । रियाद, दम्माम, अलखोबर, जुबेल, जेद्दा, अलकासिमलगायत क्षेत्रमा रहेका नेपाली साथीभाइ तथा आफन्तसँग भेटघाट, सामूहिक खानपिन, टीका–जमरा र शुभकामना आदानप्रदानको तयारीमा छन् । विभिन्न सामाजिक संस्था तथा नेपाली समुदायका समूहले पनि सामूहिक दसैं कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।
गत वर्ष साउदीको पूर्वी क्षेत्र जुबेलमा सक्रिय इएमजी ग्रुपले नेपाल जान नपाएका नेपालीका लागि सामूहिक टीका कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाली साझा मञ्च साउदी अरबका संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्व कृष्ण पुरीका मातापिताले सहभागी नेपालीलाई टीका लगाइदिनुभएको थियो । विभिन्न क्षेत्रमा कार्यरत नेपालीले आफूभन्दा ज्येष्ठ तथा अग्रजको हातबाट टीका ग्रहण गर्दै आशीर्वाद लिएर परदेशमै नेपाली संस्कृति र परम्पराअनुसार दसैं मनाएका थिए ।
यस वर्ष पनि नेपालीले आफ्नो अवस्था र कामको समयअनुसार दसैं मनाउने तयारी गरेका छन् । नेपालमा परिवार भएका श्रमिकले फोन तथा भिडियो कलमार्फत अभिभावक र आफन्तबाट टीका–आशीर्वाद लिने तयारी गरेका छन् । साउदीमै परिवारसहित बस्दै आएका नेपालीले भने आफ्नै घरमा दसैंको टीका लगाउने तयारी गरेका छन् ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ साउदी अरबका अध्यक्ष विष्णु घिमिरे यसपटक आफू साउदीमै दसैं मनाउने तयारीमा रहेको बताउँछन् । साउदीमा रहेका आफूभन्दा ज्येष्ठ नागरिक तथा परिवारसहित बस्दै आएका नेपाली अभिभावकको हातबाट टीका लगाएर दसैं मनाउने योजना उनको छ । परदेशमा रहे पनि नेपाली संस्कार र परम्परालाई निरन्तरता दिन आफूले प्राथमिकता दिएको घिमिरे बताउँछन् ।
साउदीमा नेपाली समुदायका विभिन्न संघसंस्थाले दसैं शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने क्रम बढेको छ । हेल्प लाइन नेपाल साउदी अरबले अक्टोबर ९ शुक्रबार रियादको एक्जिट–१८ स्थित वालिद रेस्ट हलमा उद्घाटन समारोह, विविध सांस्कृतिक कार्यक्रम तथा बडादसैं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने जनाएको छ । संस्थाका अनुसार साउदीमा कार्यरत नेपालीलाई उनीहरूको दक्षता, क्षमता र अनुभवअनुसार रोजगारीका अवसर खोज्न सहजीकरण गर्ने तथा समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो । नेपालका सामुदायिक विद्यालयको शैक्षिक विकास, आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई सहयोग र आपत्कालीन अवस्थामा मानवीय सहायता गर्ने लक्ष्यसमेत संस्थाले अघि सारेको छ ।
तर चाडपर्व मनाउने क्रममा साउदी अरबको स्थानीय कानुन र सामाजिक मर्यादालाई ध्यान दिनुपर्नेमा सामाजिक अभियन्ता अकल प्रधानले नेपाली समुदायलाई सचेत गराएका छन् । साउदी अरबको संस्कृति, धार्मिक संवेदनशीलता तथा स्थानीय कानुन नेपालभन्दा फरक रहेको उल्लेख गर्दै उनले दसैं मनाउने क्रममा यहाँको कानुनले निषेध गरेका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । परदेशमा नेपाली संस्कृति र परम्परा जोगाउनु महत्वपूर्ण भए पनि त्यसका नाममा स्थानीय कानुन उल्लंघन हुने गतिविधि गर्न नहुने उनको भनाइ छ ।
साउदीमा रहेका नेपालीका लागि दसैं केवल टीका र जमरामा सीमित छैन । लामो समयदेखि परिवार र मातृभूमिबाट टाढा रहेका श्रमिकका लागि दसैं घर, गाउँ, अभिभावक र आफन्तको सम्झना गर्ने भावनात्मक अवसर पनि हो । रोजगारीको व्यस्तता, सीमित बिदा र महँगो हवाई भाडाबीच पनि नेपाली समुदायले सामूहिक भेटघाट तथा सांस्कृतिक कार्यक्रममार्फत आफ्नो मौलिक परम्परालाई निरन्तरता दिँदै आएको छ ।
नेपाल फर्किन सक्नेहरू घरको आँगनमा परिवारसँग टीका लगाउन आतुर छन् । परदेशमै रहनेहरू भने साउदीमा रहेका आफन्त, साथीभाइ तथा ज्येष्ठ नागरिकबाट टीका र आशीर्वाद लिएर दसैंको खुसी साट्ने तयारीमा छन् । यसरी साउदीमा नेपाली श्रमिकको दसैंमा घर फर्किने चाहना, महँगो हवाई टिकटको बाध्यता र परदेशमै नेपाली संस्कृति जोगाउने प्रयास एकसाथ देखिन्छ । दूरी जति लामो भए पनि दसैंले नेपालीलाई घर, परिवार र आफ्नोपनसँग जोडिरहेकै छ ।