२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

तान्जानियाको दसैं : अफ्रिकामा भेटिएको नेपाल

Nada
चिना बुढामगर
२०८३ कार्तिक ३ गते ०८:२१
Shares
तान्जानियाको दसैं : अफ्रिकामा भेटिएको नेपाल

सन् २०२३ मा म श्रीमान् र छोराछोरीसँग पूर्वी अफ्रिकी मुलुक तान्जानिया पुगेकी थिएँ । श्रीमान्को जागिर उतै भएकाले हामी अस्थायी रूपमा त्यहाँ बस्न गएका थियौं । आफन्त र देश छाडेर यति टाढा पुगेको मेरो पहिलो अनुभव थियो । भाषा, खानपान, रहनसहन र संस्कृति सबै नयाँ थिए । बिस्तारै त्यहाँको वातावरणमा घुलमिल हुँदै थियौं । छोराछोरी विद्यालय जान थालेका थिए ।

ncell

एक दिन घरमा पूजा गरेर कान्छो छोराको निधारमा टीका लगाइदिएँ र विद्यालय पुर्‍याउन गएँ । त्यहाँ पुग्नेबित्तिकै सबैले उसलाई अचम्म मानेर हेर्न थाले । शिक्षिकाले सोध्नुभयो, ‘निधारमा किन पेन्टिङ गरेको ?’ मैले त्यो पेन्टिङ नभई हाम्रो संस्कारअनुसार पूजापछि लगाइने टीका भएको बताएँ । त्यो घटनाले संसारमा संस्कृतिको विविधता कति धेरै रहेछ भन्ने महसुस गरायो । परदेश पुगेपछि आफ्नो देश र संस्कृतिको माया झन् गहिरो हुँदो रहेछ । 

हामी सामाजिक प्राणी हौं । भाषा, धर्म र संस्कृति फरक भए पनि मानिसलाई जोड्ने साझा भावना मानवता रहेछ । यही सोचले नयाँ वातावरणमा घुलमिल हुन र स्थानीय मानिससँग आत्मीय सम्बन्ध बनाउन सजिलो भयो ।

नेपाली भेट्दा आफ्नै घर पुगेजस्तो

परदेशमा पुगेपछि कतै नेपाली भेटिन्छन् कि भन्ने आशा हुँदो रहेछ । हामी बसेको ठाउँबाट करिब २० किलोमिटर टाढा केही नेपाली साथीहरू रहेको थाहा पाउँदा निकै खुसी भयौं । तान्जानियामा पहिलोपटक देवीलाल पाठक र पासाङ शेर्पालाई भेट्यौं । पछि अरू नेपालीसँग पनि चिनजान बढ्दै गयो । उनीहरू आरुसा सहरमा बस्थे । घरको यादले सताउँदा हामी भेट्न जान्थ्यौं । सप्ताहान्तमा भेटघाट गर्ने, नेपाली खाना पकाउने र घुम्न जाने क्रम चल्यो ।

नेपालमा हुँदा चाडपर्वको त्यति धेरै सम्झना नआए पनि परदेशमा पुगेपछि हरेक पर्वको महत्त्व बढ्दो रहेछ । दसैं नजिकिँदै गर्दा गाउँघरको सम्झनाले झन् सताउन थाल्यो । नेपालमा खेतमा धान झुलेको, घर लिपपोत गरेको, बिदेसिएका आफन्त फर्किएको र घरघरमा खुसी छाएको दृश्य सम्झन्थेँ । तर तान्जानियाको मौसम फरक थियो । त्यहाँ गर्मी बढ्दै थियो, फूल फुलिरहेका थिए र वातावरणले नेपालमा चैत–वैशाख आएको झल्को दिन्थ्यो । मौसम फरक भए पनि मनमा दसैंको उमंग उस्तै थियो ।

तान्जानियामा पहिलोपटक आफैंले जमरा राखेँ । नेपालमा आमाले जमरा राख्ने भएकाले मैले त्यसअघि आफैं राखेकी थिइनँ । परदेशमा रहरभन्दा बढी बाध्यताले पनि नयाँ कुरा सिकाउँदो रहेछ । नेपाली परिकारका सामग्री सहजै नपाइने भएकाले सेलरोटी, फिनी रोटी, अचार र मःम बनाउन सिक्यौं ।

दसैंमा सबै नेपाली मिलेर देवीलाल सरको घरमा भेटघाट गर्ने सल्लाह भयो । माइती जाँदा कोसेली लैजाने चलन सम्झेर मैले पनि सेलरोटी बनाउने निधो गरेँ । राति अबेरसम्म प्रयास गर्दा पनि रोटी राम्रो बनेन । घिउ धेरै परेछ कि भन्ने लाग्यो । फेरि चामल पिसेर अर्को प्रयास गरेपछि बल्ल खानलायक रोटी बन्यो । भोलिपल्ट सबैले हाम्रो प्रयासको प्रशंसा गर्दै खाए । आलु, काँक्रो, केराउ र गाँजर मिसाएर बनाएको अचारलाई त्यहाँका नेपाली साथीहरूले ‘गोर्खे अचार’ भन्थे । 

फरक संस्कृतिबीच आत्मीयता

दसैंको दिन बिहान घरमै टीका लगायौं । बेलुका नेपाली साथीहरू मात्र होइन, छिमेकी र श्रीमान्का कार्यालयका सहकर्मीलाई पनि निम्ता गर्‍यौं । उनीहरूलाई दसैं, टीका र जमराको महत्त्वबारे बतायौं । टीका र जमरा लगाउन भने स्वेच्छाले छाड्यौं । नेपालमा सालको पातबाट टपरी बनाएर कलश राखेको देखेकी थिएँ । तान्जानियामा सालको पात नपाइने भएकाले एभोकाडोको पातबाट टपरी बनाएर पूजा ग¥यौं र छोराछोरीलाई टीका लगाइदियौं । 

हामीलाई टीका लगाइदिने कोही थिएन । त्यही बेला श्रीमान्को कार्यालयमा काम गर्ने केन्याकी एक महिला, जसलाई हामी ‘मामा मकेना’ भन्थ्यौं, अगाडि सर्नुभयो । उहाँले हामीलाई टीका, जमरा र दक्षिणा दिनुभयो अनि अंग्रेजीमै मनैदेखि आशीर्वाद दिनुभयो । त्यो क्षणले मेरो मन छोयो । भाषा र धर्म फरक भए पनि आत्मीयता र मानवताको भावना साझा हुँदो रहेछ । 

त्यसपछि हामी देवीलाल सरको घर गयौं । सबै नेपाली साथी भेला भएका थिए । कसैले खाना पकाउँदै थिए, कसैले दसैं–तिहारका गीतमा नाच्दै थिए । देवीलाल सरले सबैलाई टीका र जमरा लगाइदिनुभयो । त्यो वातावरणमा मलाई नेपालमै भएजस्तो लाग्यो । पछि तिहार पनि सबै मिलेर मनायौं । यसरी परदेशमा हरेक चाडपर्व सामूहिक रूपमा मनाउने क्रम अघि बढ्यो । हाम्री अमेरिकी साथी सारा लगातार तीन वर्षसम्म दसैंमा टीका लगाउन आउनुभयो । उहाँले कोसेली ल्याएर ‘ह्याप्पी दसैं’ भन्दै शुभकामना दिनुहुन्थ्यो ।

दसैंले सिकाएको खुसी बाँड्ने पाठ

तान्जानियामा बिताएको अर्को वर्ष दसैं मनाउने योजना बनाउँदै गर्दा देवीलाल सरले आश्रयमा रहेका बालबालिकासँग पर्व मनाउने प्रस्ताव राख्नुभयो । उहाँ आरुसाका अनाथालयमा पुगेर सहयोग गर्दै आउनुभएको थियो । हामी बिहानै त्यहाँ पुग्यौं । उहाँका कार्यालयका सहकर्मी पनि सहभागी थिए । सबै मिलेर खाना तयार पार्‍यौं, बालबालिकालाई खुवायौं र सँगै खाना खायौं । उनीहरूको अनुहारमा देखिएको खुसीले मन छोयो । 

त्यो दसैं मेरा लागि विशेष बन्यो । दसैं भनेको मिठोमसिनो खाने र नयाँ लुगा लगाउने पर्व मात्र होइन, अरूको खुसीमा सहभागी हुने र आवश्यकतामा रहेकालाई सहयोग गर्ने अवसर पनि रहेछ । ‘दुःख बाँड्दा घट्छ, सुख बाँड्दा बढ्छ’ भन्ने भनाइको अर्थ त्यहाँ अझ गहिरोसँग बुझ्न पाएँ । आफ्ना छोराछोरीले पनि अरूलाई सहयोग गर्दा खुसी भएको देख्दा सन्तुष्टि लाग्यो ।

त्यसपछि पनि हामी देवीलाल सरसँग विभिन्न आश्रयस्थलमा पुग्यौं र सकेको सहयोग गर्‍यौं । तर चाडपर्वका बेला नेपाल र आफन्तको सम्झना भने उत्तिकै आउँथ्यो । नेपालमा परिवारले टीका र जमरा लगाएको भिडियो कलमा देख्दा तुरुन्तै घर पुगौंजस्तो लाग्थ्यो । 

तान्जानियाको बसाइले मलाई आफ्नो देश र संस्कृतिप्रतिको माया मात्र होइन, फरक संस्कृतिका मानिससँग आत्मीय सम्बन्ध बनाउन र अरूलाई सहयोग गर्दा पाइने आनन्द पनि सिकायो । परदेशमा दसैं मनाउँदा नेपालीपन जोगाउन सकिने रहेछ, साथै आफ्नो संस्कृतिबारे अरूलाई चिनाउने र उनीहरूको संस्कृतिलाई सम्मान गर्न पनि सिकिने रहेछ ।

uae

सम्बन्धित खबर