२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

दसैं आउँदा नेपाल सम्झिन्छु

Nada
प्रतिष्ठा गौतम
२०८३ कार्तिक ३ गते ०८:२९
Shares
दसैं आउँदा नेपाल सम्झिन्छु

घरको आँगन, जमरा, रातो टीका, नयाँ कपडा, आफन्तको जमघट अनि ठुलाबडाको हातबाट थापिने आशीर्वाद– यी सम्झनाले मनलाई एकैछिनमा घर पुर्‍याउँछन् । नेपालबाट हजारौं किलोमिटर टाढा बसे पनि दसैं आउँदा मनमा गाउँघरकै चित्र उभिन्छ । यही सम्झना र आत्मीयताले प्रवासमा दसैंलाई विशेष बनाउँछ । 

ncell

म सन् २००९ मा अस्ट्रेलियाको एडिलेड आएँ । त्यो समय आजजस्तो थिएन । अस्ट्रेलियामा नेपालीको संख्या निकै कम थियो । वरिपरि नेपाली भेटिनु नै खुसीको कुरा हुन्थ्यो । अहिलेजस्तो सहज भिडियो कल, सामाजिक सञ्जाल र तुरुन्तै तस्बिर पठाउने सुविधा थिएन । दसैं आउँदा घरको याद झन् तीव्र हुन्थ्यो । फोनमा कुरा गर्न पनि समय र खर्चको ख्याल गर्नुपथ्र्यो । आवाज सुन्न पाए पनि मनका सबै कुरा कहाँ व्यक्त गर्न सकिन्थ्यो र ! घरमा रहेका आमाबुबालाई पनि हामी कसरी बसेका छौं, दसैं कसरी मनाइरहेका छौं भन्ने चिन्ता हुन्थ्यो ।

त्यतिबेला हामीसँग नेपाल थिएन, तर एक–अर्काको साथ थियो । वरिपरिका नेपाली साथीहरू नै हाम्रो परिवार बनेका थिए । दसैंमा कसैको घरमा जम्मा हुन्थ्यौं, टीका लगाउँथ्यौं, आशीर्वाद लिन्थ्यौं र सकेको खुसी बाँड्थ्यौं । आफन्त टाढा भएकाले साथीहरू नै आफन्तजस्ता भएका थिए ।
जमरा रोप्नु पनि सजिलो थिएन । सबैलाई जमरा रोप्न आउँदैनथ्यो । जसले रोपेको हुन्थ्यो, उसैको घरबाट जमरा लिन जान्थ्यौं । त्यो सानो जमरा हातमा पर्दा पनि छुट्टै खुसी लाग्थ्यो । हामी त्यसमा केवल दसैंको परम्परा होइन, नेपाल नै खोजिरहेका हुन्थ्यौं ।

खानपान अर्को चुनौती थियो । आजजस्तो इन्टरनेटमा परिकार बनाउने विधि हेरेर सजिलै पकाउन सकिने अवस्था थिएन । धेरैलाई खाना बनाउन पनि खासै आउँदैनथ्यो । तैपनि दसैंमा सेलरोटी चाहिन्थ्यो । जानी–नजानी पकाउन खोज्थ्यौं । कहिले आकार मिल्दैनथ्यो, कहिले पाक्दैनथ्यो त कहिले डढ्थ्यो । तर ती नमिलेका सेलरोटीमा पनि छुट्टै स्वाद हुन्थ्यो । ती केवल खानेकुरा थिएनन्, आमाको हातको स्वाद र घरको सम्झना थिए ।

समयसँगै प्रविधि बदलियो । भिडियो कल गर्न मिल्न थाल्यो । पहिलोपटक मोबाइलको स्क्रिनमा घरपरिवारको अनुहार देख्दा लागेको खुसी अहिले सम्झँदा पनि मन भरिन्छ । आमाको अनुहार, घरको आँगन र टीका लगाएको परिवार देख्न पाइन्थ्यो । दूरी उस्तै भए पनि मनको दूरी केही कम भएको महसुस हुन्थ्यो । तर सुरुवाती दिनमा इन्टरनेटको खर्च र सीमित सुविधाका कारण लामो कुरा गर्न पनि सोच्नुपथ्र्यो ।

हामीले खाना पकाउन सिक्यौं, सेलरोटी बनाउन सिक्यौं र एक–अर्काबाट अनुभव साट्दै अघि बढ्यौं । यसरी विदेशमै आफ्नै सानो नेपाल बनाउन थाल्यौं । त्यसबेला हाम्रो समुदाय सानो थियो । हामी आफ्नो जीवन बनाउन, एक–अर्कालाई साथ दिन र प्रवासमा नेपाली पहिचान जोगाउन संघर्षरत थियौं ।
समयसँगै नेपाली समुदाय विस्तार हुँदै गयो । नयाँ नेपाली थपिए, विभिन्न क्षेत्रमा हाम्रो उपस्थिति बढ्यो र अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको पहिचान पनि फराकिलो बन्दै गयो ।

त्यस यात्राको एउटा विशेष क्षण सन् २०१७ मा आयो । पहिलोपटक हामीलाई अस्ट्रेलियाको संसद् भवनमा समुदायका रूपमा दसैं मनाउन निमन्त्रणा गरियो । त्यो केवल एउटा कार्यक्रम थिएन, हाम्रो सामूहिक यात्राको सम्मान थियो । सन् २००९ मा साथीहरूको घरमा जम्मा भएर टीका लगाउने, कसैको घरबाट जमरा ल्याउने र जानीनजानी सेलरोटी पकाउने हामी केही वर्षपछि राष्ट्रिय महत्त्वको स्थलमा समुदायका रूपमा दसैं मनाउन पुगेका थियौं । त्यस क्षणले सानो समुदायबाट पहिचान स्थापित गर्दै अघि बढेको हाम्रो यात्रालाई सम्झायो ।

आज प्रवासमा दसैं मनाउन पहिलेभन्दा धेरै सहज भएको छ । भिडियो कलबाट परिवारसँग जोडिन सकिन्छ, सामाजिक सञ्जालमा तस्बिर बाँड्न सकिन्छ र नेपाली परिकारका सामग्री पनि सजिलै पाइन्छन् । तैपनि पुराना दिन सम्झँदा लाग्छ– त्यतिबेला सुविधा कम थियो, तर एक–अर्काका लागि समय र अपनत्व धेरै थियो । साथीहरू नै परिवार हुन्थे । कसैको घरमा टीका लगाउँदा सबै जम्मा हुन्थ्यौं र नमिलेका सेलरोटी पनि हाँस्दै खान्थ्यौं ।

सायद प्रवासका सुरुवाती वर्षले हामीलाई सिकाएको सबैभन्दा ठुलो कुरा यही हो– घर एउटा ठाउँ मात्र होइन, आफ्ना मानिससँग बाँडिएको माया र अपनत्व पनि हो । हजारौं किलोमिटर टाढा बसेर पनि साथीहरूको सानो घेराभित्र पूरा नेपाल भेटिँदो रहेछ ।

पहिले दसैं आउँदा हामी नेपाल सम्झन्थ्यौं । अहिले आफ्ना छोराछोरीलाई नेपाल सम्झाउन खोजिरहेका छौं । उनीहरूलाई टीकाको अर्थ, जमराको महत्त्व र ठुलाबडाबाट आशीर्वाद लिने परम्पराबारे सुनाउँछौं । नेपाली खाना, भाषा र संस्कृतिसँग परिचित गराउँछौं । हामीले जोगाएर ल्याएको पहिचान नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि प्रवासको दसैंको महत्त्वपूर्ण पक्ष बनेको छ ।

आज नेपालीहरू संसारका विभिन्न देश र सहरमा पुगेका छन् । उनीहरूसँगै दसैं र नेपाली संस्कृति पनि फैलिएको छ । नेपालबाट टाढा भए पनि निधारमा रातो टीका लाग्दा मन फेरि घरको आँगनमा पुग्छ । आमाको माया, बुबाको आशीर्वाद, दाजुभाइ–दिदीबहिनीको हाँसो र आफन्तसँगको भेटको सम्झनाले प्रवासमा पनि नेपालीपन जीवित राख्छ ।

आज नेपाली समुदायको विस्तार र नयाँ पुस्ताले संस्कृतिलाई निरन्तरता दिएको देख्दा आफ्नो यात्रा सम्झनलायक लाग्छ । सुरुमा हामीले प्रवासमा दसैं जोगाउन खोज्यौं, अहिले नयाँ पुस्ताले त्यसलाई अघि बढाइरहेको छ ।

हामी संसारभर फैलिएका छौं, तर हाम्रो संस्कृति पनि हामीसँगै फैलिएको छ । जहाँ नेपाली मन छ, त्यहीँ नेपाल छ । यस वर्षको दसैंले संसारभरका नेपालीलाई माया, सद्भाव र अपनत्वले जोडोस् । दूरी जति भए पनि मन नजिक रहून् र हामीले बोकेर ल्याएको नेपालीपन नयाँ पुस्तासम्म अझ बलियो भएर पुगिरहोस् ।

uae

सम्बन्धित खबर