२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

दसैंको विश्वव्यापी प्रभाव

Nada
मोदनाथ खनाल
२०८३ कार्तिक ३ गते ०८:३६
Shares
दसैंको विश्वव्यापी प्रभाव

जसले जुनसुकै उद्देश्यबाट जेसुकै भने पनि वा गरे पनि दसैं सम्पूर्ण नेपालीहरूको महान् पर्व हो, राष्ट्रिय चाड हो । दसैंले सम्पूर्ण नेपालीलाई जोड्ने काम गर्छ । सांस्कृतिक उल्लासमय फूलबारीमा फुलाउने, फक्राउने काम गर्छ । स्वदेशभित्र मात्र नभई विश्वभरि फैलिएका नेपालीका लागि पनि कामको थकान विसर्जन गरी आपसमा भेटघाट गर्ने र नियास्रिएको मनमा पुनर्ताजगी पैदा गर्ने एक मिठासपूर्ण अवसर बनेको हुन्छ । जीवनमा आइपरेका अप्ठ्यारा गल्लीहरूको अँध्यारोमा हराएर शिथिल भएको मनका लागि आनन्द र उत्साहको दियो बन्छ, दसैं । नेपाल र भारतभन्दा बाहिरका देशका लागि दसैं राष्ट्रिय पर्व होइन ।

ncell

जातीय, सामुदायिक वा कुनै वर्ग विशेषको खण्डांशीय पर्वका रूपमा मात्रै पनि राज्यले स्वीकार गर्दैन । पर्व आयो भनेर नेपालमा जस्तै राष्ट्रिय माहोल हुँदैन । केवल आफ्नै मनभित्रको संसारमा नेपाली माहोललाई स्क्रिनसर्ट गरी दृश्यावलोकीय अनुभूतिमा रमाउने मात्रै हो । न त बिदा पाइन्छ, न त बस्तीमा पर्वको चहलपहल देखिन्छ । बथानबाट छुट्टिएको हतास मृगजस्तै आफ्नो दैनिक काममा दौडिनु नै पर्छ । आफ्नो घरभित्र परिवारसँग दसैंको कुरा हुन्छ, नेपालमा बातचित हुन्छ, कामले थाकेर आएको शरीर दसैंसँग रंगिन चाहँदैन । तर फेरि मनले नेपालमा मनाएको दसैं सम्झिन्छ र एकैछिनलाई भए पनि फुरुंग हुन्छ । तर भोलि बिहान सबेरै काममा जानु छ भनेर मन फेरि झसंग झस्किन्छ  । पानीको फोका फुटेझैं पर्वको उमंग फेरि हराउँछ । विदेशको वास्तविक दसैंको तस्बिर यही हो । तस्बिर घुर्मैलो छ, तर पनि उजिल्याउने प्रयास गरिन्छ । समाचारमा वा मुखले जति जुकै विदेशमा हर्षोल्लासका साथ पर्व मनाइयो भने पनि बाक्लो बादलले ढाकेको सूर्यबाट न्यानो आनन्द कल्पना गर्नुजस्तै हो ।

तथापि, दसैं पर्वबाट रमाउने प्रयत्न पर्याप्त हुन्छन् । क्यानाडा, अमेरिका, बेलायत, अस्ट्रेलिया तथा युरोपियन खाडीलगायत मुलुकमा उल्लेख्य मात्रामा नेपाली छन् । तर यो उल्लेख्य मात्रा हामी नेपालीको अनुभूतिमा मात्रै हो । तद्देशीय जनसांख्यिक अनुपातमा सरदर एक १.२५ प्रतिशतमा हामी सीमित छौं । विश्व जनसांख्यिक आँकडामा हामी नेपालीको जनसंख्या प्रतिशत लगभग ०.३५ मात्रै हो । यति सानो संख्या विश्वभरि छरिँदा हाम्रो जनसंख्याले कुनै पनि स्थानीय बस्तीलाई प्रभावित पार्नै सक्दैन । जस्तै, भारतीयको जनसांख्यिक उपस्थिति निकै ठुलो छ । विश्वकै जनसंख्या आँकडाको झन्डै १२ प्रतिशत जनसंख्या भारतको मात्रै छ । उनीहरूको विश्वमा उपस्थिति पनि उत्तिकै बाक्लो छ । तसर्थ भारतीयहरू जहाँ गए पनि एक्लिँदैनन्, उनीहरूको आफ्नै जमातको बाक्लो उपस्थितिले राज्यको आँखा पनि तान्छ । 

जनसंख्या मानिसको सुक्खा उपस्थिति मात्रै पनि होइन, यो त श्रमशक्तिको बलियो औजार हो, बजारलाई चलायमान बनाउने संवाहक हो, सांस्कृतिक भूमि निर्धारण गर्ने कालिगढ हो, व्यापार व्यवसायका लागि उर्वर माटो हो । त्यसैले अल्पसंख्यामा रहेका भाषिक तथा सांस्कृतिक समुदायहरू जहाँ पनि सीमान्तकृत हुन पुग्छन् । हामी नेपाली पनि विश्वको स्क्रिनमा देखिन नसक्ने मसिना कण हौं । स्वाभाविक रूपमा, हामीले हाम्रा चाडपर्व पनि विश्वको सांस्कृतिक आकाशमा आफ्नो मौलिक प्रकाश स्थापित गर्न असमर्थ नै छ । 

कुरा यति मात्रै होइन, नेपालीहरू बिदेसिन थालेको धेरै भएको छैन । हामी बिदेसिनेहरू पहिलो पुस्तामै छौं । तर भारतलगायत चीन तथा अन्य कैयौं देशहरूका दोस्रो, तेस्रो वा योभन्दा बढी पुस्ताहरू भइसकेका छन् । जति धेरै पुस्तान्तरण हुन्छ, त्यति नै त्यो समुदायको स्थापत्य बलियो हुन्छ । यसको साथै, जति पुस्तान्तरण हुँदै जान्छ, त्यति नै सांस्कृतिक सघनता पातलिँदै पनि जान्छ । आफ्नो भाषा तथा संस्कृतिप्रति पहिलो पुस्ता जति लालायित हुन्छ, दोस्रो पुस्तालाई आफ्नो बा–आमाको भाषा र संस्कृति कुइरोले ढाकेको पहाड जस्तै अस्पष्ट र घुर्मैलो लाग्छ । न त्यो भाषाबाट भाव विरेचन हुन सक्छ, न त संस्कृतिबाट मनोरञ्जन हुन्छ । विशेषतः धर्म संस्कृतिको विषयमा हामी पछिका पुस्ता दोबाटोमा छन् । आफ्ना बा–आमाको प्रभावबाट टाढिएका पनि छैनन्, र आफ्ना बा–आमाको संस्कृतिको स्पष्ट स्वाद लिन सकिरहेका पनि छैनन् । उनीहरू कतिपय संस्कृतिमा तद्देशीय प्रभावमा पनि पर्दै गएका छन् । आफ्ना बा–आमाको विरासतको कम्मल पनि अलिअलि ओढी रहेका छन् ।

पहिलो पुस्ताका अभिभावकलाई यो कुराले निकै पिरोल्छ । घरमा नै दसैंको माहोल बनाउन निकै मुस्किल हुन्छ । आफ्ना छोराछोरीलाई नेपाली पर्वले खासै छुन सक्दैनन् । आफ्ना सन्तान पर्वप्रति उत्साहित नहुँदा बा–आमालाई खुसी लाग्दैन । हाम्रो पुस्ता आफू बाल अवस्था वा युवा अवस्थामा हुँदा आफ्नो बा–आमासँग पर्वमा रंगिएको, खुसी भएको पल सम्झना आउँछ । तर आफ्नै बच्चा त्यसरी नै नझुम्मिँदा मन खिन्न हुन्छ । तर पनि, यो त बिदेसी भूमि हो नि त भन्ने सोच्दै पर्वलाई यथासम्भव विशेष बनाउन प्रयत्न हुन्छ । घरलाई दसैंयुक्त बनाउन उत्तिकै प्रयत्न गरिन्छ । जमरा राख्ने, घरलाई अलि चिटिक्क पार्ने, आफ्ना सन्तानलाई दसैं आयो नि भनेर उनीहरूको ध्यान खिच्ने प्रयास गर्नेजस्ता काम गरिन्छन् । व्यक्तिगत रूपमा मचाहिँ नौ दिनसम्म नवदुर्गाको पूजा गर्ने, चण्डी पाठ गर्ने गर्छु । घटस्थापनाको दिन मैले मेरा दुवै छोरालाई चण्डीको मुख्य स्तोत्रहरू पाठ गरुन्जेल नजिकै राखेर हात जोड्दै ध्यान मुद्रामा बस्न लगाउँछु । उनीहरू जसो–तसो २० मिनेटजति बसे । 

समग्रमा दसैं देवी ध्यान र साधनाको पर्व हो । अहिलेका बा–आमा पुस्ताले नै दसैंलाई ध्यान र देवी साधनाको पर्व हो भनेर बुझ्न छोडिसके । दसैंलाई केवल खाने, पिउने र बाहिरी मोजमस्ती गर्ने पर्वका रूपमा मात्र व्यवहृत गर्न थालिएको छ, जसले दसैंको महत्त्व र औचित्य नै धुमिल भएको छ । विदेशमा त कुरा छाडौं, यो समस्या नेपालमै अझै गम्भीर हुँदै गएको देखिन्छ ।

uae

सम्बन्धित खबर