२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

संघीय संसद्‍मा ३६ विधेयक विचाराधीन, ७ नयाँ विधेयक दर्ता

Nada
२०८३ कार्तिक ९ गते १४:१८
Shares
संघीय संसद्‍मा ३६ विधेयक विचाराधीन, ७ नयाँ विधेयक दर्ता

काठमाडौं : संघीय संसदका दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

संसद् सचिवालयकाअनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकारमा समितिमा ३-३ वटा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा २-२ वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार राष्ट्रिय सभाका समितिमा भने कुनैपनि विधेयक विचाराधीन छैन । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको एउटा विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको उहाँले बताउनु भयो । प्रतिनिधि सभाका समितिमा विचाराधीन विधेयकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फर्छ्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक लगायत छन् ।

संसद्‍मा नयाँ विधेयक दर्ताको संख्या सात पुगेको छ । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेबाट लागू हुनेगरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए । संसद् अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए ।

संसद् अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा संचालन) (पहिलो संसोधन) विधेयक, भवन (दोस्रो संसोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन् । त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको एउटा विधेयक छ । डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए ।

उनकाअनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुई वटा विधेयक रहेका छन् । संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन सभामा पेस गरेर सभामा विचाराधीन छ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको भने समितिको प्रतिवेदन तयार भएर सचिवालयमा प्राप्त भएको उनले बताए । उनकाअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका विधेयकको संख्या १२ रहेको छ । यस्तै संसदबाट ६ वटा सन्धी तथा महासन्धि पेस भएर पारित भइसकेका छन् ।  

समितिमा विचराधिन विधेयकमाथी दसैंको बिदापछि अब छलफल गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । दसैं बिदा अगाडि समितिमा कतिपय विधेयकहरुको दफावार छलफल भइरहेको थियो भने केही विधेयकहरुको सैद्धान्तिक छलफल सुरु गरिएको थियो । बिदापछि समितिमा विधेयकलाई टुंगोमा पुर्‍याउनेगरी छलफल अगाडि बढाउने तयारी गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर