२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

तरुण दलको ७४ औँ स्थापना दिवस: सामाजिक सेवा र रूपान्तरणको संकल्प

Nada
२०८३ कार्तिक १० गते ११:५०
Shares
तरुण दलको ७४ औँ स्थापना दिवस: सामाजिक सेवा र रूपान्तरणको संकल्प

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसर पारेर देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ । 

संस्थाका अध्यक्ष मनिष कोइरालाले मंगलवार काठमाडौँको संकटा मन्दिर परिसरमा सरसफाइ अभियानको नेतृत्व गर्दै तरुण दललाई युवाहरूको आवाज र जनतासँग जोडिने संस्थाका रूपमा पुन: परिभाषित गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। मंगलवार देशभरका करिव ३५ जिल्लामा सक्रियताका साथ स्थापना दिवस मनाइएको छ । 

कार्यक्रमहरूमा रक्तदान, अस्पतालमा बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता र मन्दिर सरसफाइ जस्ता सामाजिक कार्यहरू समावेश छन् । विशेषगरी संस्कृति र परम्परासँग युवा पुस्तालाई जोड्ने उद्देश्यका साथ देशभर मन्दिर सरसफाइ अभियानलाई नियमित तालिकामा राखेर अघि बढ्ने निर्णय गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

बाँके, वीरगञ्ज र धादिङलगायतका जिल्लाहरूमा मन्दिर सरसफाइ अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ । अध्यक्ष कोइरालाले तरुण दलका बारेमा समाजमा रहेको बुझाइलाई चिर्दै यसलाई युवाहरूको सशक्त आवाज र सामाजिक रूपान्तरणको संवाहक बनाउने दाबी गरे । 

उनले भने, ‘नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा देशका ३० देखि ३५ जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । कतै रक्तदान, कतै जिल्ला अस्पतालमा फलफूल वितरण, कतै फुटबल प्रतियोगिता र कतै मन्दिर सरसफाइ अभियान सञ्चालन भइरहेका छन्। युवालाई संस्कृति र समाजसँग जोड्ने उद्देश्यले मन्दिर सरसफाइ अभियानलाई नियमित कार्यक्रमका रूपमा अघि बढाउने हाम्रो योजना छ । तरुण दललाई युवाको आवाज उठाउने, जनतासँग जोडिने र संस्कृतिको संरक्षण गर्ने संस्थाका रूपमा अगाडि बढाउँछौँ । बदलिँदो समयअनुसार कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका क्षेत्रमा पनि काम गर्ने योजना छ । यसै महिनाभित्र युवासँग प्रत्यक्ष जोडिने छवटा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छौँ । त्यसबारे प्रेस सम्मेलनमार्फत विस्तृत जानकारी गराउनेछौँ ।’

प्रविधिको विकासलाई आत्मसात् गर्दै आगामी दिनमा कृत्रिम बौद्धिकताको क्षेत्रमा समेत युवाहरूलाई जोड्ने योजना रहेको अध्यक्ष कोइरालाले बताए। आगामी एक महिनाभित्र तरुण दलले युवा लक्षित ६ वटा नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ । प्रेस सम्मेलनमार्फत छिट्टै नै ती कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गरिने उनले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर