
काठमाडौं : बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलकाअनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ ।
पोखरेलकाअनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ । यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तीव्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उनले बताइन् ।
वर्षाको सम्भवना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उनले बताइन् । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने उनले बताइन् ।
सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिइन् । त्यस्तै, पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई पनि शतर्कता अपनाउन उनले आग्रह गरिन् । यस्तै धान काट्ने समय भएकाले वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने उनको भनाइ छ । विभागले जारी गर्ने मौसमसम्बन्धी सुचना हेरेर मात्रै धान काट्न पनि उनले किसानहरुलाई आग्रह गरिन् ।
मनसुन सकिएपछि सुरु हुने पोस्ट–मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य भएको उनले स्पष्ट पारिन् । अक्टोबर र नोभेम्बर सामान्यतः नेपालमा मौसम सफा रहने समय भएपनि यही अवधिमा बंगालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सम्भावना रहने उनले बताइन् । समुन्द्रमा विकसित हुने सबै चक्रवात वा न्युन चापीय प्रणाली नेपालसम्म आइपुग्ने नभएपनि उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेका प्रणालीले वर्षा र हिमपात गराउन सक्ने उनको भनाइ छ । जलवायु परिवर्तनले नयाँ मौसमी घटना सिर्जना गर्नुभन्दा पनि यस्ता घटनाको आवृत्ति र तीव्रतामा प्रभाव पार्न सक्ने उनले बताइन् । यसको नियमित अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।
उनले मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचना तथा सामाजिक सञ्जालबाट जारी हुने अद्यावधिक हेर्न आग्रह गरिन् । हल्लाको पछाडि लागेर त्रासमा नबस्न र हेलचेक्र्याई पनि नगर्न उनको सुझाव छ । आधिकारिक सूचना र पूर्वानुमानका आधारमा आफ्नो गतिविधि तय गर्न उनले आग्रह गरिन् । उनले मौसमसम्बन्धी जानकारीका लागि सम्बन्धित सरकारी निकायसंग समन्वय गरिरहेको पनि जानकारी दिइन् ।