२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

Nada
२०८३ कार्तिक ९ गते १४:२२
Shares
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

बौद्ध भिक्षुणी डोल्मालाई नागरिकता किर्ते गरेको तथा सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरुको आरोप छ । डोल्माको नियुक्ति खारेज गरी उनको नागरिकता तथा सम्पत्ति शुद्धीकरणको मुद्दालाई यथाशीघ्र टुंगोमा पुर्‍याउनुपर्ने उनीहरुको माग छ ।

विरोध प्रदर्शनमा सहभागी हरिजन विकले आफूहरु कुनै जाता वा धर्मको विरोधी नभएको स्पष्ट पारे । उनले सरकारले प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्त गरिरहेको भन्दै आपत्ति जनाए । नागरिकता नै विवादमा रहेको व्यक्तिलाई कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै उनले डोल्माको नियुक्ति खारेज गर्न समेत माग गरे ।

अर्का प्रदर्शनकारी विष्णु गुरुङले लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको झमेला आउनु नै तामाङ समुदायका लागि स्वीकार्य नभएको बताए । तामाङ समुदायको प्रतिनिधित्व गर्नका लागि तामाङ नै हुनुपर्छ भन्ने आफूहरुको माग रहेको उनको भनाइ छ । उनले भोलिका दिनमा डोल्मालाई समेत समस्या नहोस् र कोषको समेत हित होस् भनेर नै आफूहरु आन्दोलनमा आएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

ताजा खबर

सम्बन्धित खबर