
सुदूरपश्चिम : नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकलाई चाँडै टुङ्ग्याएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
कांग्रेस प्रदेश सभा संसदीय नेता कमलबहादुर शाहले समिति सभापति धर्मराज पाठकसँग आज छलफल गरी लामो समयदेखि विचाराधीन रहेका विधेयकमाथिको छलफल प्रक्रिया टुङ्ग्याएर तत्काल प्रदेशसभामा पेस गर्नुपर्नेमा जोड दिएका हुन् ।
निवर्तमान मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले प्रदेशसभा सचिवालयमा दर्ता गरी समितिमा छलफलमा रहेका विधेयकबारे चासो राख्दै सभापतिको ध्यानाकर्षण गराइएको बताए ।
उनी नेतृत्वको सरकारले २०८१ साल चैत ३ गते ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र २०८२ जेठ २१ मा ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।