
ललितपुर : नेपाल संवत् ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले साताव्यापी विविध कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्षको स्वागतसँगै नेपालभाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धिचाल प्रतियोगितादेखि राष्ट्रव्यापी दौड र साइकल र्यालीसम्मका कार्यक्रम तय गरिएको हो ।
न्हूदँ समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको कार्यक्रमअनुसार कात्तिक १८ र १९ गते बुद्धिचाल प्रतियोगिता आयोजना गरिनेछ । यस्तै, कात्तिक २३ गते राष्ट्रव्यापी खुला १० किलोमिटर दौड र २४ गते ३० किलोमिटर साइकल र्याली सञ्चालन हुनेछ ।
नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी नयाँ संवत् सुरु गरेको ऐतिहासिक घटनाको स्मरणमा न्हूदँ समारोह आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । समारोहअन्तर्गत प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा न्हूदँ समारोह तथा भिंतुना सांस्कृतिक र्यालीसमेत आयोजना गरिनेछ । मंकाः खलःका सचिव सञ्जय राजोपाध्यायले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै कार्यक्रमबारे जानकारी दिएका हुन् ।
साताव्यापी कार्यक्रमअन्तर्गत परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य कार्यक्रम, क्यान्डल वाक, दीप प्रज्वलन, शुभकामना आदानप्रदान तथा सांगीतिक साँझलगायत गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ ।
नेपाल संवत् ११४७ को अवसरमा नेपालभाषाको पात्रो पनि प्रकाशन गरिने भएको छ । क्रोध शिरोमणि कालु कुमालेले सिर्जना गरेको ‘क्रोधकृति’लाई पात्रोको आवरणमा समेट्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
यसैगरी, नेपालभाषाको वर्णमाला र म्हःपूजाको तान्त्रिक विधिबारे जानकारी समेटिएको पुस्तिका पनि प्रकाशन गरिनेछ । यस्ता प्रकाशनले नयाँ पुस्तालाई नेपालभाषा, संस्कृति र परम्पराबारे जानकारी दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
नेपालभाषा मंकाः खलः यलका अध्यक्ष महेन्द्रलाल महर्जनले साताव्यापी कार्यक्रमको संयोजन खलःले गर्ने जानकारी दिए । उनका अनुसार कार्यक्रम सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नं. १६ को आर्थिक सहयोग तथा सहकार्य रहनेछ ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समारोहका सभाध्यक्ष भीमनारायण नकर्मी, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र डा. पुष्पराज राजकर्णीकारले सहभागीका जिज्ञासाको सहजीकरण गरेका थिए ।
पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर महर्जन, वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्य तथा सल्लाहकार किरण शाक्यको उपस्थिति थियो । कार्यक्रम सञ्चालन मंकाः खलःका सचिव राजु ताम्राकारले गरेका थिए ।
नेपाल संवत्को नयाँ वर्षलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै भाषा, कला, सम्पदा र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।