
बारा : बाराको फेटा स्वास्थ्य चौकीमा भएको घटनापछि मुख्य भवनभित्र थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीलाई सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार झन्डै दुई घण्टासम्म स्वास्थ्य चौकीको मुख्य भवनभित्र घेरिएका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बिहान घटना भएपछि स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका इन्स्पेक्टरसहित निजामती कर्मचारीहरू तनावपूर्ण अवस्थाका कारण बाहिर निस्कन सकेका थिएनन् ।
शनिबार बिहान फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उनको विपक्षी समूहबीच विवाद भएको थियो ।
विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । सोही क्रममा स्थानीय युवक आदित्य पासवानलाई गोली लागेको थियो ।
घटनापछि स्वास्थ्य चौकी परिसरमा तनाव उत्पन्न भएको थियो । त्यसक्रममा भवनभित्र रहेका सरकारी कर्मचारीहरू झन्डै दुई घण्टासम्म घेराबन्दीमा परेका थिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान साढे १० बजेदेखि थुनिएका उनीहरूलाई करिब दुई घण्टापछि सकुशल उद्धार गरिएको हो ।