
काठमाडौँ : नेपाली कांग्रेसभित्र समानान्तर सांगठनिक गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले शनिबार डडेल्धुरामा जिल्ला अधिवेशन सुरु गरेको छ ।
पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्लामा आयोजित अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम छ ।
समूहले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय तथा आठौँ जिल्ला अधिवेशन आयोजना गरेको हो । अधिवेशनअघि डडेल्धुरा बसपार्कदेखि निर्माण व्यवसायी संघको सभाहलसम्म बाजागाजासहित र्याली निकालिएको थियो ।
कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा सहभागी भएपछि देउवा समूहले उपसभापति डिल्लीराज जोशीलाई जिल्ला अधिवेशन संयोजनको जिम्मेवारी दिएको थियो ।
अधिवेशनबाट जोशी जिल्ला सभापति चयन हुन सक्ने चर्चा भए पनि नेतृत्व चयनको औपचारिक परिणाम सार्वजनिक भइसकेको छैन ।
देउवा समूहले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पालगायत जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । समूहले असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गरी जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्म पुग्ने कार्यतालिका अघि बढाएको छ ।
समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप प्रयोग गर्ने व्यवस्था मिलाइएको समूहको भनाइ छ ।
विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमिति र देउवा समूहबीच पार्टीको नेतृत्व तथा सांगठनिक प्रक्रियालाई लिएर मतभिन्नता कायम छ । कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका सांगठनिक गतिविधि अलगअलग रूपमा अघि बढिरहेका छन् ।