२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

ममताको मृत्युप्रति नरेशको पछुतोः ‘मैले राम्रो व्यवहार गरिनँ’

मुद्दा निर्णायक चरणमा पुग्दा मनोवैज्ञानिकले अदालतमा भने– नरेशमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) का लक्षण छन्, तर उनको बयान सत्य हो कि होइन भन्ने परीक्षणले पुष्टि गर्दैन

Nada
२०८३ कार्तिक २३ गते २३:१४
Shares
ममताको मृत्युप्रति नरेशको पछुतोः ‘मैले राम्रो व्यवहार गरिनँ’

भर्जिनिया, ९ नोभेम्बर । नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा अमेरिकाको भर्जिनियामा चलिरहेको मुद्दाको १८औँ दिन सोमबार नरेश भट्ट फेरि अदालतमा साक्षीका रूपमा उपस्थित भए । उनले ममताप्रति आफूले गरेको व्यवहारप्रति पछुतो रहेको बताए । प्रतिरक्षा पक्षले उनको मानसिक अवस्थाबारे एक क्लिनिकल मनोवैज्ञानिकलाई पनि साक्षीका रूपमा प्रस्तुत गरेको छ ।

अमेरिकी सञ्चारमाध्यम डब्ल्यूजेएलए (७News) का अनुसार सोमबार बिहानको सुनुवाइमा भट्टले ममतासँगको सम्बन्ध र आफ्नो विगतको कामबारे बयान दिएका थिए । उनले ममताप्रति आफूले राम्रो व्यवहार नगरेको र उनलाई आवश्यक सहयोग गर्न नसकेको स्वीकार गरे ।

भट्टले ममताको मृत्युमा आफ्नो व्यवहार पनि एउटा कारण हुन सक्ने बताएका छन् । तर उनले ममताको मृत्यु आत्महत्याका कारण भएको आफ्नो दाबी दोहोर्‍याए । ममतामाथि आफूले शारीरिक दुर्व्यवहार नगरेको र उनका तस्बिरमा देखिएका चोटपटक आफूले नपुर्‍याएको पनि उनले जिकिर गरे ।

यसअघि अभियोजन पक्षले अदालतमा ममताका चोटपटक देखिने तस्बिर र भिडियो प्रस्तुत गरेको थियो । सोमबार भट्टले ती चोटपटक लागेको समय आफूलाई स्पष्ट सम्झना नभएको बताए । आफूले उनलाई अस्पताल लैजाने प्रस्ताव गरेको पनि उनको भनाइ थियो ।

भट्टमा पीटीएसडीका लक्षण रहेको मनोवैज्ञानिकको बयान

सोमबारको सुनुवाइमा प्रतिरक्षा पक्षले फोर्डह्याम विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक तथा क्लिनिकल मनोवैज्ञानिक ब्यारी रोजेनफेल्डलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो ।

रोजेनफेल्डले भट्टमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) का मापदण्डअनुसारका लक्षण रहेको अदालतमा बताएका छन् । उनले दुई दिनमा करिब आठ घण्टा भट्टसँग बिताएर मनोवैज्ञानिक परीक्षण गरेको जानकारी दिएका थिए ।

रोजेनफेल्डका अनुसार भट्टले नेपालमा रहँदा भोगेका केही कठिन र आघातपूर्ण अनुभव सुनाएका थिए । माओवादी विद्रोहीको नियन्त्रणमा रहेका बेला यौन दुर्व्यवहार भोगेको उनको दाबी पनि भट्टले सुनाएको मनोवैज्ञानिकले बताए ।

भट्टले लामो समयदेखि दुःस्वप्न आउने, विगतका घटनाले सताउने र अपराधबोध हुनेजस्ता समस्या बताएको रोजेनफेल्डको भनाइ थियो । परीक्षणले भट्टले आफ्ना लक्षण बढाइचढाइ गरेको संकेत नदेखाएको पनि उनले बताए ।

तर, मनोवैज्ञानिक परीक्षणले ममताको मृत्युबारे भट्टले दिएको बयान सत्य हो वा होइन भन्ने पुष्टि गर्न नसक्ने उनले स्पष्ट पारे ।

भट्टले सुनाएको घटनाक्रमका आधारमा ममतालाई अचेत अवस्थामा भेटेपछि उनी आत्तिएको र त्यसपछि लगातार गलत निर्णय गरेको रोजेनफेल्डले अदालतमा बताएका थिए ।

अफगान शरणार्थीसम्बन्धी कामले मानसिक स्वास्थ्यमा असर

सोमबार बिहानको बयानमा भट्टले अमेरिकी सेनाका सहयोगी अफगान नागरिकलाई अमेरिकामा पुनर्स्थापना गर्ने काममा आफू संलग्न रहेको बताएका थिए । अपरेसन फ्रिडम्स सेन्टिनेलअन्तर्गत गरेको उक्त कामलाई उनले आफ्नो जीवनको महत्त्वपूर्ण काममध्ये एक भनेका थिए ।

प्रतिरक्षा पक्षका वकिलले अफगान शरणार्थीलाई सहयोग गर्ने काम कठिन थियो कि थिएन भनेर सोध्दा उनले कठिन भएको बताएका थिए । उक्त कामले आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको पनि उनले स्वीकार गरे ।

अदालतमा भट्टले नेपालमा बाल्यकाल बिताएको घरको भिडियोसमेत देखाइएको थियो ।

मुद्दा निर्णायक चरणमा

ममताको हत्या गरेको अभियोग लागेका भट्टले यसअघि अदालतमा ममताको शव लुकाएको र त्यसलाई टुक्र्याएर फालेको स्वीकार गरेका थिए । तर हत्या गरेको आरोप अस्वीकार गर्दै ममताले आत्महत्या गरेको दाबी गरेका छन् । ममताको शव अहिलेसम्म फेला परेको छैन ।

अभियोजन पक्षले यसअघि ८० भन्दा बढी साक्षी प्रस्तुत गरेर आफ्नो पक्षको प्रमाण पेस गरिसकेको छ । प्रतिरक्षा पक्षले भट्टलाई साक्षीका रूपमा प्रस्तुत गरेपछि अहिले उनको बयान र मानसिक अवस्थासम्बन्धी प्रमाणमा सुनुवाइ केन्द्रित भएको छ ।

यसअघि प्रतिरक्षा पक्षले सोमबार आफ्नो साक्षी बयान टुंग्याउने र त्यसपछि अभियोजन पक्षले जवाफी साक्षी प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो । मंगलबार अन्तिम बहस हुन सक्ने र बिहीबारसम्म जुरीले फैसला दिन सक्ने अनुमान गरिएको छ । मुद्दाको मुख्य प्रश्न ममताको मृत्यु हत्या थियो वा आत्महत्या भन्ने नै हो । भट्टले शव लुकाएको स्वीकार गरे पनि हत्या अस्वीकार गरेका छन् । अब जुरीले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाण, भट्टको बयान र प्रतिरक्षा पक्षका विशेषज्ञको भनाइलाई कसरी मूल्यांकन गर्छ, त्यसले मुद्दाको परिणाम निर्धारण गर्नेछ । एजेन्सीहरूको सहयोगमा । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर