
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढेको आरोप लगाएका छन् । नागरिकका अधिकार सीमित गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले मुलुकमा निरङ्कुश शासनशैली हाबी हुन सक्ने चिन्ता व्यक्त गरेका हुन् ।
आइतबार काठमाडौँको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा गम्भीर हुन आग्रह गरे ।
उनले प्रधानमन्त्रीका सल्लाहकारहरूले आफूविरुद्धका प्रमाण मेटाउने र आफूलाई अनुकूल हुने सामग्री मात्रै सार्वजनिक गर्ने गरेको आरोपसमेत लगाए । यद्यपि, उनले लगाएको उक्त आरोपको स्वतन्त्र पुष्टि भएको छैन ।
वर्तमान राजनीतिक व्यवस्था स्थापनामा योगदान नगरेका व्यक्तिहरूले जनताबाट दुई तिहाइ जनमत प्राप्त गरेको उल्लेख गर्दै पौडेलले त्यसको प्रयोग नागरिक अधिकार संकुचित गर्न नभई लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन हुनुपर्ने धारणा राखे ।
जनताले दिएको मतलाई शासन सञ्चालनको जिम्मेवारीका रूपमा लिनुपर्ने भन्दै उनले सरकारलाई जनमतको दुरुपयोग नगर्न सुझाव दिए । लोकतान्त्रिक व्यवस्थामा नागरिकको स्वतन्त्रता र विधिको शासनको सम्मान अनिवार्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा महामन्त्री पौडेलले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका विषयमा पनि धारणा राखे। पार्टीको बृहत् एकता कायम गर्न आफूले अधिकतम प्रयास गरिरहेको बताउँदै उनले विवाद समाधानका लागि विधान, विधि र प्रक्रियाको पालना गर्नुपर्नेमा जोड दिए ।
विधिको शासन भएको मुलुकमा एउटै राजनीतिक दलका दुई सभापति, दुई झन्डा र दुई निर्वाचन चिह्न हुन नसक्ने उनको भनाइ थियो । पार्टीको अर्को पक्षबाट भइरहेका गतिविधि विधिसम्मत नभएको आरोप लगाउँदै उनले संस्थागत निर्णय र वैधानिक प्रक्रियालाई आधार बनाएर विवाद टुङ्ग्याउनुपर्ने बताए ।
कांग्रेसभित्रको एकता कायम राख्न व्यक्तिगत वा समूहगत स्वार्थभन्दा पार्टीको संस्थागत हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले विधि र प्रक्रियाको सम्मानबाटै आन्तरिक समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।