२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा मंसिर ८ देखि, २३ खेल सुर्खेतमा हुने

Nada
२०८३ कार्तिक २२ गते १६:०९
Shares
दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा मंसिर ८ देखि, २३ खेल सुर्खेतमा हुने

काठमाडौँ : कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । प्रतियोगिताको प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार औपचारिक उद्घाटनअघि नै ६ खेलका प्रतिस्पर्धा सुरु हुनेछन् ।

प्रारम्भिक चरणमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा सञ्चालन गर्ने तालिका रहेको छ ।

राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन गर्ने गरी खेलस्थल निर्धारण गरिएको छ । बाँकी नौ खेल कर्णालीका अन्य जिल्ला तथा लुम्बिनी प्रदेशका बर्दिया र बाँकेमा आयोजना गर्ने तयारी छ ।

सुर्खेतमा एथलेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन् ।

सुर्खेतबाहिर बर्दियामा टेनिस र खो-खो तथा सल्यानमा जुडो र कुस्तीका खेल सञ्चालन गर्ने तालिका छ । त्यस्तै, रुकुम पश्चिममा शारीरिक सुगठन, दैलेखमा आईटीएफ तेक्वान्दो र कालीकोटमा बुद्धिचालका प्रतिस्पर्धा हुनेछन् ।

पौडी र सुटिङका खेल भने बाँकेको नेपालगञ्जमा सञ्चालन गर्ने तय गरिएको छ । यसअनुसार प्रतियोगिताका केही खेल कर्णाली प्रदेशबाहिरसमेत आयोजना हुनेछन् ।

प्रतियोगिताको खेलस्थल वितरणअनुसार कर्णालीका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेलका प्रतिस्पर्धा राखिएका छैनन् । अधिकांश खेल सुर्खेतमा केन्द्रित हुँदा प्रदेशका अन्य जिल्लाको सहभागिता खेलाडी तथा प्रतिनिधिमण्डलमा सीमित हुने देखिएको छ ।

दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गर्ने कार्यक्रम छ । प्रतियोगिताको समापन मंसिर २७ गते हुनेछ ।

यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैर आवासीय नेपाली संघसहित ११ टोलीको सहभागिता रहने तय भएको छ ।

प्रतियोगिताको तयारीका क्रममा खेल पूर्वाधार, खेलाडीको आवास, यातायात तथा व्यवस्थापनका काम अघि बढाइएको आयोजकले जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समेत निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको बताएका छन् ।

laxmi recruitement

सम्बन्धित खबर