विनोद अधिकारी/मध्यान्ह
चितवन, १९ माघ । भरतपुर १९ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्बन्धी गलत प्रचार भइरहेको धुर्मस सुन्तली फाउन्डेसनले जनाएको छ । कोरोना महामारी र त्यसले पारेको आर्थिक प्रभावको कारण रंगशाला निर्माणमा कठिनाइ भए पनि सामाजिक सञ्जालमा भ्रम फैलाउने र उत्तेजित बनाउने सामग्री सम्प्रेषण भएकोमा फाउन्डेसनले दुःख व्यक्त गरेको छ ।
रंगशाला निर्माणको नेतृत्व पाएको धुर्मुससुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेको भन्दै रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । २०७५ माघ १६ गते रंगशाला निर्माण कार्य शुरु भएको थियो । रंगशालाको अहिले ३ सुरक्षाकर्मी र ३ जना कर्मचारीहरुले रेखदेख गर्दै आएका छन् । लामो समय निर्माण कार्य स्थगित हुँदा रंगशाला निर्माणस्थलमा बनाइएका केही संरचनाहरु बिग्रिसकेको छ भने केहि बिग्रने तरखरमा पुगेको छ ।
फाउन्डेसनका अनुसार अहिलेसम्म रंगशालाको ३५ प्रतिशत निर्माण काम सम्पन्न भएको छ । बाँकी संरचनाको पुनः निर्माण गरेर महानगरले परियोजना अघि बढाउनेमा फाउन्डेसनका प्रतिनिधि टेकेन्द्रजंग शाही आशावादी छन् । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएकोमा शाहीले दुख व्यक्त गरे । ‘महालेखाले अध्ययन गरेपछि फाउन्डेसनले पत्रकार सम्मेलन गरी सम्पूर्ण हिसाब बुझाउनेछौं, बाहिर हल्ला गरेको भन्दा भित्री कुरो फरक छ’ शाहीले मध्यान्हसँग भने ।
उनकाअनुसार रंगशालामा एकैपटक ३० हजार दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तर प्यारापिटमा उठाइएका २ सय ८६ वटा पिलर र प्यारापिटका फलाम खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।
रंगशाला निर्माणको शुरुवाती समयमा स्थानीय र खेलप्रेमीको चहलपहल भए पनि अहिले निर्माण कार्य स्थगित हुँदा सबै चिन्तित भएका छन् । भरतपुर महानगरपालिका रंगशालाको बाँकी निर्माण कार्यलाई निरन्तरता दिन सकरात्मक भए पनि फाउन्डेसनले देखाएको १८ करोड ऋण अहिले मूख्य समस्या भएको महानगर स्रोतले जनाएको छ । त्यसैले ऋण कसरी तिर्ने भन्ने बारे टुङ्गो लगाएपछि मात्र रंगशाला निर्माणले तीव्रता पाउने महानगर स्रोतको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies