२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

निर्मला कुर्मीप्रति राज्य अनुदार

ADV
भावना पाठक
२०८१ भदौ २२ गते ०६:४५
निर्मला कुर्मीप्रति राज्य अनुदार

काठमाडौं : निर्मला कुर्मीलाई न्याय माग्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने आठ जना पक्राउ परेका छन् । 

शुक्रबार माइतीघर मण्डलाबाट मार्च गर्दै जिल्ला अदालतबाट सिंहदबार क्षेत्र प्रवेश गर्न खोजेका रुबी खानसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुर्मीको हत्या भएको पीडितहरूले आरोप लगाउँदै आएका छन् । अभियन्ताहरूले कुर्मीको हत्या भएको र हत्याका मुख्य आरोपी बादशाह कुर्मी रहेको आरोप लगाउने गरेका छन् । उनै बादशाहलाई प्रदेशमन्त्री बनाएको विरोधमा तिजको दिनमा माइतीघर मण्डलाबाट मार्च गर्दै जिल्ला अदालतबाट सिंहदबार क्षेत्र प्रवेश गर्न खोज्दा उनीहरू पक्राउ परेका हुन् । 

कुर्मीको मुद्दा अदालत पठाउन पटक–पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले यसअघि पनि पटक–पटक आन्दोलन गरेका छन् । 

यसअघि युथ एडभोकेसी नेपालको आयोजनामा ९ वटा बृहत् नागरिक समूहले सरकारविरुद्ध माइतीघर मण्डलादेखि बालुवाटारसम्म पैदल मार्च गरेका थिए ।

बाँकेको नेपालगञ्ज–१७ की निर्मलाका श्रीमान्को २०६२ मा मृत्यु भएको थियो । 

श्रीमान्को मृत्युको चार वर्षपछि २०६६ मंसिरमा कुर्मीका दुई छोराको १० दिनको अन्तरालमा रहस्यमय तवरमा मृत्यु भएको थियो । 

श्रीमान् र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपूर्जा र निर्मलाको नागरिकता लिएको आरोप पीडित पक्षको छ । 
त्यसपछि २०७५ सालमा निर्मला बेपत्ता भएकी थिइन् । 

त्यसबेला अपहरण पछि कुर्मीको हत्या गरेको पीडित पक्षको भनाइ रहेको छ । पीडितहरूले हत्यामा संलग्न रहेको आरोप लगाएका बादशाह नेपाली कांग्रेसका नेतासमेत हुन् । बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ ।

अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने मागसहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए । तर, यो विषय अझै निष्कर्षमा पुग्न सकेको छैन । ०७५ सालमा बेपत्ता भएकी बाँकेकी निर्मला कुर्मीको अझै पत्ता लाग्न सकेको छैन । पीडितहरूले विगत ६ वर्षदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । तर पनि राज्य अनुदार हुँदा यो विषय अनुसन्धानमा अघि बढ्न सकेको छैन । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise